बर्सेनि १३ करोड टन खाद्यान्न खेर फाल्छ युरोप- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्सेनि १३ करोड टन खाद्यान्न खेर फाल्छ युरोप

ददि सापकोटा

पेरिस — युरोपेली संघ (ईयू) अन्तर्गतका राष्ट्रहरूले हरेक वर्ष १३ करोड टनभन्दा बढी खाना बर्बाद गर्ने गरेको तथ्य एक अध्ययनले देखाएको छ । सूर्यमुखी तेल, गहुँ र जौका लागि युक्रेनमा निर्भर रहेको युरोपले त्यहाँबाट निर्यात गरिएकोमध्ये आधा गहुँ खेर फाल्ने गरेको रिपोर्टमा उल्लेख छ ।

फिडब्याक ईयूले गरेको अध्ययनअनुसार खेतमा बाली लगाउँदा र उठाउँदा पनि खाद्यान्न बर्बाद गर्ने गरिन्छ । फार्ममा हुने बर्बादी रोक्न सकेको खण्डमा मात्रै पनि खाद्यान्नको बढ्दो लागत कम गर्न सकिन्ने सम्भावना छ ।

‘खाना बर्बाद गरेर फोहोरका रूपमा मिल्काउनु भनेको मानिसहरूका लागि थप खर्च बढाउनु हो । यो करिब १ अर्ब ४३ अर्ब बराबरको छ । खाद्यान्नको मूल्य बढेको समयमा खाद्य फोहोरले व्यवसाय र उपभोक्तालाई थप खर्च गराउँछ,’ फिडब्याक ईयूका वरिष्ठ नीति र अभियान प्रबन्धक मार्टिन बोम्यानले भनेका छन् । उनले जलवायु संकटबाट बच्न यो साँच्चै महत्त्वपूर्ण रहेको र ईयूको कम्तीमा ६ प्रतिशत उत्सर्जन खाद्य फोहोरबाट आउने बताएका छन् ।

‘र हामीलाई थाहा छ, जलवायु परिवर्तन पनि संकटको एक कारण हो,’ उनको भनाइ छ । रिपोर्टअनुसार ईयूमा मात्रै खेर जाने गहुँको मात्रा युक्रेनबाट निर्यात हुने परिमाणको करिब आधा र ईयूको अन्य अन्न निर्यातको एक चौथाइ बराबर हो । ‘उच्च खाद्यान्न मूल्यहरू र जीवनयापनको लागतको संकटको समयमा ईयूले सम्भावित रूपमा आयात गर्नेभन्दा बढी खाद्यान्न खेर गइरहेको छ जुन एक ठूलो घोटाला, काण्डजस्तै हो,’ मेचिलसेनले भनेका छन् । ईयूसँग अब जलवायु परिवर्तनसँग लड्न र खाद्य सुरक्षा सुधार गर्न २०३० सम्ममा आफ्नो खाद्यान्नको फोहोरलाई खेतबाट थालसम्म पुग्दा आधा घटाउन कानुनी रूपमा बाध्यकारी लक्ष्यहरू लागू गराउने ठूलो अवसर छ ।’

संयुक्त राष्ट्र खाद्य र कृषि संगठन (एफएओ) का अनुसार युक्रेन–रुस युद्धका कारण गत महिना विश्वव्यापी खाद्यान्न मूल्यहरू एक वर्षअघिको तुलनामा ८ प्रतिशतले बढेको थियो । गहुँ, मकै र भटमासको मूल्यले यस वर्ष २००८ को विश्व वित्तीय संकटका बेलाभन्दा पनि बढी उचाइ लिएको छ ।

ईयू खाद्य उत्पादनको अनुमानित २० प्रतिशत प्रत्येक वर्ष बर्बाद हुने गरेको छ । त्यसरी मिल्काइने खाद्यको लागत ईयू व्यवसायी र घरपरिवारहरूलाई प्रतिवर्ष १ खर्ब ४३ अर्ब लाग्ने गरेको छ । रिपोर्टले आगामी वर्ष मकै र गहुँको मूल्य क्रमश: ४.६ प्रतिशत र ७.२ प्रतिशतले बढ्ने अनुमान गरेको छ । ईयू राष्ट्रहरुमा सबैभन्दा बढी प्रयोग हुने खाद्यान्नमा गहुँ र मकै पर्छ ।

प्रकाशित : आश्विन ६, २०७९ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्

युरोपमा गर्मीले खानाको गुणस्तर बिग्रियो

ददि सापकोटा

पेरिस — चरम गर्मीको लहरले फ्रान्स, पोर्चुगल, स्पेन, इटालीलगायतका युरोपेली देशमा अन्न र खानाको गुणस्तर बिग्रिएको अधिकारीहरूले बताएका छन् ।

खासगरी फ्रान्सको विश्व प्रसिद्ध चिज, वाइन र स्याम्पेन, स्पेनिस जामन, इटालीको मोजरेल्ला, पोर्चुगलको जैतुन र पोर्तो वाइन जस्ता युरोपका क्षेत्रीय विशेषतासहितको उत्पादन खतरामा परेको जनाइएको हो ।

स्पेनका कृषि, ग्रामीण विकास र जनसंख्या क्षेत्रीय मन्त्री बेगोना गार्सिया बर्नालले गर्मीसँगैको तीव्र खडेरीले युरोपका सबै प्रकारका बालीनालीमा क्षति पुगेको बताएका छन् । उनले अनाज, मह, चिज र वाइन उत्पादकहरूले माग धान्न र गुणस्तर सुनिश्चित गर्न संघर्ष गरिरहेको उल्लेख गरे । ईयूको छापअन्तर्गत सुरक्षित रहेकाले ती उत्पादनले गुणस्तर प्रमाणित गर्छन् । तर यो गर्मीयामको खडेरीले त्यसमा ह्रास ल्याएको क्षेत्रीय मन्त्री बर्नालले बताएका हुन् ।

‘एक्स्ट्रेमाडुरा स्पेनको सबैभन्दा गरिब क्षेत्र हो, तर यसले विश्व–प्रसिद्ध जामुन इबुरियाको ह्याम उत्पादन गर्छ । तर गर्मीका कारण ह्याम उत्पादन मारमा परिरहेको छ । फ्रान्सको चिज र इटालीको मोजरेल्ला विश्वमै प्रसिद्ध छ । तर यो वर्षको खडेरीले तोकिएअनुसारको उत्पादन र तिनको गुणस्तर राख्न मुस्किल परेको छ,’ पत्रकार सम्मेलनमा मन्त्री बर्नालले भने ।

कालो इबेरियन सुँगुरबाट बन्ने विश्व प्रसिद्ध ह्याम उत्पादन गर्न कटुस र सिन्दूर (एकोर्न र ओक) का दाना खुवाउनुपर्छ । तर गर्मीका कारण दाना उत्पादनमा बाधा पुगेका कारण किसानहरूले गुणस्तरीय सामान उत्पादन गर्न संघर्ष गरिरहेका स्पेनको कृषक संघले जनाएको छ ।

फ्रान्समा अंगुर फल्ने बेलामा पानी नपुगेको, रोग लागेको र उच्च खडेरीले पर्याप्त उत्पादन हुन नसकेका कारण वाइन र स्याम्पेनको उत्पादन घटेको कृषकहरूको भनाइ छ । क्षेत्रीय रूपमा संरक्षित स्थिति भएका अन्य क्षेत्रले पनि युरोपभर समान समस्याको सामना गरिरहेका छन् । समान रूपमा उत्पादनहरू सुनिश्चित गर्न सुपरमार्केटमा मूल्यहरू बढाउनुपर्ने, उत्पादन प्रक्रियाका लागि बढी लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

त्यसो त, गर्मीको लहरले क्षेत्रीय रूपमा संरक्षित उत्पादनलाई मात्र असर गरेको छैन । जेआरसी मार्स बुलेटिनका अनुसार युरोपमा बाली अनुगमन सर्वेक्षण, अगस्टको यसको रेकर्डले तातो र सुक्खा मौसमले युरोपभरि नै उत्पादनमा उल्लेखनीय प्रभाव परेको छ । उदाहरणका लागि मकै ८.६ प्रतिशत, सूर्यमुखी उत्पादन ५.५ र भटमास ९.६ प्रतिशतले घटेको छ ।

फ्रान्सको कृषि महासंघले उत्पादन घाटाको क्षतिपूर्ति गर्न अर्बौं युरो आवश्यक पर्ने उल्लेख गरेको छ ।

पशुपालकहरूको समूहले एक विज्ञप्ति जारी गर्दै चरम मौसमको अवधिबाट राहत पाउन २ देखि ४ अर्ब युरो आवश्यक पर्ने अनुमान गर्दै सहयोगका लागि फ्रान्स सरकारलाई अपिल गरेको छ । फ्रान्समा खडेरी र गर्मीको लहरले घाँसे मैदान सुक्खा भएको, मकैको उत्पादनमा उल्लेखनीय क्षति पुगेको, गाईबाख्रा र भेडा फार्मका जनावरका लागि खानाको प्रमुख स्रोत अपर्याप्त भएको भन्दै सहयोग मागेका हुन् ।

जाडोका लागि सोचिएको घाँस र दानाको भण्डार अहिले नै चौपायाहरूलाई खुवाउनु परेका कारण जाडोयाममा संकट हुने कृषि फेडेरेसन फ्रान्सले जनाएको छ । कृषि क्षेत्रका प्रतिनिधिहरूले राज्यद्वारा किसानलाई आर्थिक सहयोग गर्न आह्वान गरेका छन् ।

प्रकाशित : आश्विन ३, २०७९ १०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×