भारतीय कमेडियन राजु श्रीवास्तवको निधन - विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको 'अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स'मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो । 'उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । त्यही क्रममा लड्नुभयो । उति नै बेला हृदयघात भयो अनि तुरुन्तै अस्पताल ल्यायौं,'श्रीवास्तवका एक आफन्तले भारतीय समाचार संस्था पीटीआईसँग भनेका छन् ।

स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन् २००५ को कमेडी सो 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज'को पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी 'बिग बोस'को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।

उनले 'मैने प्यार किया', 'बाजिगर', 'आम्दानी अठन्नी खर्च रुपैयाँ' र 'बम्बई टू गोवा'को रिमेकमा समेत अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म डेभलेभमेन्ट काउन्सिलका अध्यक्षसमेत भएका थिए ।

प्रकाशित : आश्विन ५, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्

संरक्षण भएनन् पुराना कुवा

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा–४ देब्रेबासकी कमला अधिकारीलाई कुवाबाट पानी बोकेको सम्झना ताजै छ । तर कैयौं पुस्ताले समेत पिउने पानीको गर्जो टारेका यी स्रोत पछिल्लो समय संरक्षणविहीन भएको पाउँदा दुःख लागेको सुनाउँछिन् ।

आसपासका तल्लो पधेँरा, जुके धारा, गणेश धारा, श्रमिक कुवाजस्ता पानीको स्रोत भएका त्यस्ता कुवा तथा जरुवा अचेल उपेक्षित छन् । सदरमुकाम क्षेत्रमा वितरित पानी दूषित रहेकाले फिल्टरपछि उमालेर मात्र प्रयोग गर्नुपर्ने बाध्यता छ । अर्कोतिर बस्ती माझैको गुणस्तरीय पानीका स्रोत जगेर्नामा चासो नगएको स्थानीय टेकप्रसाद निरौलाले बताए ।

‘विगतमा सिंगो गाउँका लागि खानेपानी आपूर्ति हुने कैयौं कुवा पँधेरा संरक्षण अभावमा सुक्दै गएको छ,’ उनले भने, ‘यतातिर ध्यान दिए नजिकका बस्तीकालाई राहत पुग्थ्यो ।’ धनकुटा–५ बिहीबारेको ऐतिहासिक महत्त्वको कुवामा पानीको पर्याप्त स्रोत रहेको स्थानीय राम श्रेष्ठले बताए । उनका अनुसार तल्लो तथा माथिल्लो कोप्चे क्षेत्रवासीले अधिक प्रयोग गर्ने उक्त कुवामा हिउँदको समयमा पनि पर्याप्त पानी आउँछ ।

पानीको मुहानमा लुगा धुने र अन्य कारणले फोहोर बढ्दै गएको स्थानीय खगेन्द्र खतिवडाले सुनाए । धनकुटा–४ सेउलेस्थित वाग्ले गाउँको करिब ३ फिट गहिरो र ४ फिट चौडा कुवाको पानी राणाकालमा तत्कालीन गौडाका बडाहाकिमदेखि पूर्वराजा वीरेन्द्र शाह पूर्वाञ्चल भ्रमणका क्रममा आउँदा खाएको स्थानीय देवकुमारी वाग्लेले बताइन् । वाग्ले गाउँका बीचमा भएकोले वाग्ले कुवाको नामबाट यो परिचित छ । यसको पानी केही वर्ष सुकेपछि पुनः रसाउने गरेको स्थानीय हिमादेवी भण्डारीले बताइन् । धनकुटा बजार तथा आसपासका बस्तीवासीको पानीको आवश्यकता पूरा गर्ने डाक्टर कुवा, टोड्के कुवा, छारागाउँ, माघा, बिहीबारे कुवालगायत सबैजसोको अवस्था बेहाल छ ।

स्थानीय तहले सडक तथा अन्य काममा चासो दिए पनि खानेपानीको स्रोत संरक्षणमा ध्यान नदिएको स्थानीय गृहणी सीता विश्वकर्माले गुनासो पोखिन् । नगरमा वितरण हुने पानीसमेत अनियमित हुने गरेकोले त्यसको विकल्पमा पानीको प्राकृतिक स्रोतलाई जोगाउनुपर्ने उनले बताइन् । राणाकाल अगावैदेखि हालसम्म पानीको स्रोत रहिरहेको डाक्टर कुवामा पानी जम्मा गर्ने ट्यांकीको सामान्य व्यवस्थासमेत छ । १९८६ सालमा स्थापित आयुर्वेद औषधालय परिसरमा रहेकोले यसको नाम डाक्टर कुवा रह्यो । यसको सिरान बजारलगायत आसपासका क्षेत्रवासीको खाँचो टारेको पानी भर्दै गरेकी सृजना श्रेष्ठले बताइन् । यहाँ बिहान झिमसिमेदेखि साँझ अबेरसम्म पानी लिनेको जमघट हुन्छ । ‘पुराना कुवाको ऐतिहासिक महत्त्वसमेत रहेकोले यसको संरक्षण गरिनुपर्छ,’ उनले भनिन्, ‘पानीको स्रोतको सरसफाइका लागि स्थानीयले समेत चासो दिँदै आएका छौं ।’

कतिपय कुवा रहेका स्थानमा पुराना इँटा, ढुंगा, शिलालेख र मूर्ति रहे पनि सीमित मात्र जोगिएका छन् । यसको समेत जोहो गर्न नसक्दा सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका वस्तु हराउने, चोरी हुने र मासिने गरेको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानीको स्रोत संरक्षणका लागि नगरपालिकाको योजना प्राथमिकतामा रहेको बताए ।

प्रकाशित : आश्विन ५, २०७९ ११:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×