जापानमा शक्तिशाली आँधीले लाखौं प्रभावित- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा शक्तिशाली आँधीले लाखौं प्रभावित

४ जनाको मृत्यु, कम्तीमा ११४ जना घाइते । टोकियोमा यातायात सेवा अवरूद्ध ।
एजेन्सी

टोकियो — जापानमा शक्तिशाली समुद्री आँधीसँगैको बाढीपहिरोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । ‘नान्मादोल’ आँधीका कारण एक सय जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । उद्धारकर्ताहरूले थप बाढीपहिरो आउन सक्ने चेतावनी दिएका छन् । 

आइतबार बिहान जापानको दक्षिणी टापु क्युसुमा समुद्री आँधी नान्मादोल प्रवेश गरेपछि तीव्र गतिमा अघि बढिरहेको छ । आँधीका कारण मंगलबार साँझसम्ममा क्युसुमा ४ जनाले ज्यान गुमाएका र ११४ जना घाइते भएका अधिकारीहरूले पुष्टि गरेका छन् । आँधीका कारण भएको अन्य क्षतिबारे तथ्यांक संकलन भइरहेको जनाइएको छ ।

यसअघि जापान सरकारले नान्मादोल प्रकोपबाट जोगिन कम्तीमा ९० लाख मानिसलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको थियो । आँधीका कारण क्युसु क्षेत्रका १ लाख ४० हजार घरमा विद्युत् आपूर्ति अझै बन्द रहेको छ ।

आँधीका कारण २३४ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेपछि जनजीवन तहसनहस भएको छ । हावाहुरीका कारण हजारौं घरहरूमा क्षति पुगेको छ र यातायात सञ्जाल अवरुद्ध भएको बीबीसीले उल्लेख गरेको छ । नान्मादोल आँधीलाई चौथो वा पाँचौं वर्गको जत्तिकै शक्तिशाली मानिएको छ । आँधीका कारण आगामी २४ घण्टामा ४ सय मिलिमिटर पानी पर्ने पूर्वानुमान गरिएको छ ।

आँधीका कारण राजधानी टोकियोमा पनि ठूलो वर्षा गराएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । टोकियोको टोजाई भूमिगत लाइन बाढीका कारण बन्द भएको छ भने बुलेट रेल सेवा, फेरी र सयौं उडान रद्द भएको जनाइएको छ । कतिपय कार्यालय, पसल तथा व्यवसाय पनि खुल्न सकेका छैनन् । सञ्चारमाध्यमहरूमा सार्वजनिक भिडियोमा भवनका छानाहरू उडेका र अन्य संरचनाहरू भत्किएको देखिन्छ ।

समुद्री आँधीले वितण्डा मच्चाएसँगै जापानी प्रधानमन्त्री फुमिओ किसिदाले आफ्नो विदेश भ्रमण पछिका लागि सारेको जनाएका छन् । उनी संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्नका लागि अमेरिकाको न्युयोर्क जाने तयारीमा थिए ।

विज्ञहरूले नान्मादोल आँधी शुक्रबार पूर्वी क्षेत्रतर्फ जाने र जापानको मुख्य टापु होन्सु हुँदै बुधबार पुनः समुद्री क्षेत्रमा पस्ने पूर्वानुमान गरेका छन् ।

जलवायु परिवर्तनका कारण प्रशान्त महासागर र क्यारेबियन सागरको सतह तातो हुने भएकाले समुद्री आँधीको संख्या बढ्ने तथा ती आँधी शक्तिशाली हुने वैज्ञानिकहरूको भनाइ छ ।

प्रकाशित : आश्विन ५, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली र सुदूरपश्चिमको समानुपातिकको मतपत्र संशोधन

कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ बाँकी हुनुका साथै आयोगमा दर्ता भएका दलभन्दा कम दलले समानुपातिक बन्द सूची बुझाएकाले मतपत्र संशोधन
कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिक तर्फको मतपत्र संशोधन गरेको छ । दुई प्रदेशमा समानुपातिक तर्फ बन्दसूची बुझाउने पार्टीको चिह्न मात्रै मतपत्र छपाइ गर्न लागेको हो ।



आयोगमा यसअघि सुदूरपश्चिममा ५० दल र कर्णाली प्रदेशमा ४९ दलले समानुातिकमा सहभागि हुने निवेदन दिएका थिए । आइतबार र सोमबार आयोगमा बन्दसूची बुझाउँदा सुदूरपश्चिममा समानुपातिकको २१ सीटमा ३४ दलले मात्रै बन्द सूची बुझाएका छन् । त्यस्तै कर्णाली ४९ दलले समानुपातिकमा भाग लिने भन्दै निवेदन दिएकोमा २८ दलले मात्रै बन्दसूची बुझाएका छन् ।

दर्ताको आधारमा समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरिसकेको थियो । सोमबारसम्म कर्णाली र सुदूरपश्चिमको मात्रै मतपत्र छपाइ गर्न बाँकी रहेकाले आयोगले दुबै प्रदेशमा बन्दसूची बुझाउने दलको मात्रै चिह्न राखेर मतपत्र छपाइ गर्ने भएको छ । प्रत्यक्ष तर्फको मतपत्र भने सबै प्रदेशमा उम्मेदवार रहेको चिह्नको मात्रै मतपत्र छाप्ने भएको छ ।

निर्वाचन आयोगले तोकेको समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचनका लागि ४८ दलले बन्दसूची दर्ता गराएका छन् । बन्दसूचीमा सहभागी हुने भन्दै यसअघि निवेदन दिएका ६८ दलमध्ये ४८ ले मात्रै बन्दसूची दर्ता गरेका हुन् । प्रतिनिधिसभामा १ सय १० सीट समानुपातिकबाट निर्वाचित हुन्छन् ।

प्रदेश १ मा ५५ दलले भाग लिने भनिएकोमा ३६ वटा दलले मात्रै बन्दसूची बुझाएका छन् । मधेश प्रदेशमा ५९ दलले समानुपातिकमा भाग लिन निवेदन दिएकोमा ३६ दलले बन्दसूची बुझाएका छन् । वाग्मतीमा ५८ दलले निवेदन दिएकोमा ४० दलले बन्दसूची बुझाएका छन् ।

गण्डकीमा ५२ दलले समानुपातिकमा सहभागी हुने भनिए पनि ३१ दलले, लुम्बिनीमा ५४ दलले निवेदन दिएकोमा ३२ दलले मात्रै बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगले दलले निवेदन दिएको आधारमा चिह्न राखेर मतपत्र छपाइ गरिसकेको छ । राजनीतिक दलले आयोगमा गरेको प्रतिबद्धता र निवेदनको आधारमा मतपत्र छपाइ गर्दा धेरै चिह्न भएको मतपत्र छापिएको छ । दर्ता भएर बन्द सूची नबुझाउने दललाई आयोगले स्पष्टिकरण सोध्ने भएको छ ।

प्रकाशित : आश्विन ५, २०७९ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×