२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

युरोपमा गर्मीले खानाको गुणस्तर बिग्रियो

ददि सापकोटा

पेरिस — चरम गर्मीको लहरले फ्रान्स, पोर्चुगल, स्पेन, इटालीलगायतका युरोपेली देशमा अन्न र खानाको गुणस्तर बिग्रिएको अधिकारीहरूले बताएका छन् ।

युरोपमा गर्मीले खानाको गुणस्तर बिग्रियो

खासगरी फ्रान्सको विश्व प्रसिद्ध चिज, वाइन र स्याम्पेन, स्पेनिस जामन, इटालीको मोजरेल्ला, पोर्चुगलको जैतुन र पोर्तो वाइन जस्ता युरोपका क्षेत्रीय विशेषतासहितको उत्पादन खतरामा परेको जनाइएको हो ।

स्पेनका कृषि, ग्रामीण विकास र जनसंख्या क्षेत्रीय मन्त्री बेगोना गार्सिया बर्नालले गर्मीसँगैको तीव्र खडेरीले युरोपका सबै प्रकारका बालीनालीमा क्षति पुगेको बताएका छन् । उनले अनाज, मह, चिज र वाइन उत्पादकहरूले माग धान्न र गुणस्तर सुनिश्चित गर्न संघर्ष गरिरहेको उल्लेख गरे । ईयूको छापअन्तर्गत सुरक्षित रहेकाले ती उत्पादनले गुणस्तर प्रमाणित गर्छन् । तर यो गर्मीयामको खडेरीले त्यसमा ह्रास ल्याएको क्षेत्रीय मन्त्री बर्नालले बताएका हुन् ।

‘एक्स्ट्रेमाडुरा स्पेनको सबैभन्दा गरिब क्षेत्र हो, तर यसले विश्व–प्रसिद्ध जामुन इबुरियाको ह्याम उत्पादन गर्छ । तर गर्मीका कारण ह्याम उत्पादन मारमा परिरहेको छ । फ्रान्सको चिज र इटालीको मोजरेल्ला विश्वमै प्रसिद्ध छ । तर यो वर्षको खडेरीले तोकिएअनुसारको उत्पादन र तिनको गुणस्तर राख्न मुस्किल परेको छ,’ पत्रकार सम्मेलनमा मन्त्री बर्नालले भने ।

कालो इबेरियन सुँगुरबाट बन्ने विश्व प्रसिद्ध ह्याम उत्पादन गर्न कटुस र सिन्दूर (एकोर्न र ओक) का दाना खुवाउनुपर्छ । तर गर्मीका कारण दाना उत्पादनमा बाधा पुगेका कारण किसानहरूले गुणस्तरीय सामान उत्पादन गर्न संघर्ष गरिरहेका स्पेनको कृषक संघले जनाएको छ ।

फ्रान्समा अंगुर फल्ने बेलामा पानी नपुगेको, रोग लागेको र उच्च खडेरीले पर्याप्त उत्पादन हुन नसकेका कारण वाइन र स्याम्पेनको उत्पादन घटेको कृषकहरूको भनाइ छ । क्षेत्रीय रूपमा संरक्षित स्थिति भएका अन्य क्षेत्रले पनि युरोपभर समान समस्याको सामना गरिरहेका छन् । समान रूपमा उत्पादनहरू सुनिश्चित गर्न सुपरमार्केटमा मूल्यहरू बढाउनुपर्ने, उत्पादन प्रक्रियाका लागि बढी लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

त्यसो त, गर्मीको लहरले क्षेत्रीय रूपमा संरक्षित उत्पादनलाई मात्र असर गरेको छैन । जेआरसी मार्स बुलेटिनका अनुसार युरोपमा बाली अनुगमन सर्वेक्षण, अगस्टको यसको रेकर्डले तातो र सुक्खा मौसमले युरोपभरि नै उत्पादनमा उल्लेखनीय प्रभाव परेको छ । उदाहरणका लागि मकै ८.६ प्रतिशत, सूर्यमुखी उत्पादन ५.५ र भटमास ९.६ प्रतिशतले घटेको छ ।

फ्रान्सको कृषि महासंघले उत्पादन घाटाको क्षतिपूर्ति गर्न अर्बौं युरो आवश्यक पर्ने उल्लेख गरेको छ ।

पशुपालकहरूको समूहले एक विज्ञप्ति जारी गर्दै चरम मौसमको अवधिबाट राहत पाउन २ देखि ४ अर्ब युरो आवश्यक पर्ने अनुमान गर्दै सहयोगका लागि फ्रान्स सरकारलाई अपिल गरेको छ । फ्रान्समा खडेरी र गर्मीको लहरले घाँसे मैदान सुक्खा भएको, मकैको उत्पादनमा उल्लेखनीय क्षति पुगेको, गाईबाख्रा र भेडा फार्मका जनावरका लागि खानाको प्रमुख स्रोत अपर्याप्त भएको भन्दै सहयोग मागेका हुन् ।

जाडोका लागि सोचिएको घाँस र दानाको भण्डार अहिले नै चौपायाहरूलाई खुवाउनु परेका कारण जाडोयाममा संकट हुने कृषि फेडेरेसन फ्रान्सले जनाएको छ । कृषि क्षेत्रका प्रतिनिधिहरूले राज्यद्वारा किसानलाई आर्थिक सहयोग गर्न आह्वान गरेका छन् ।

प्रकाशित : आश्विन ३, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?