कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा विनाशकारी बाढीपछि फैलियो डेंगु

सिन्ध प्रान्तमा मात्र ३ हजार ८ सय ३० जनामा डेंगु संक्रमण, बिरामीको चाप थेगिनसक्नु भएको चिकित्सकहरुको भनाइ
एजेन्सीहरू

इस्लामाबाद/कराँची — विध्वंसकारी बाढीका कारण तहसनहस बनेको पाकिस्तानमा स्वास्थ्य संकट उत्पन्न भएको छ । स्वास्थ्य अधिकारीहरूले बाढीपछि देशव्यापी रूपमा डेंगुको प्रकोप बढेको जनाउँदै स्वास्थ्य संकट उत्पन्न हुने चेतावनी दिएका छन् ।

पाकिस्तानमा विनाशकारी बाढीपछि फैलियो डेंगु

देशका विभिन्न स्थानमा बाढीप्रभावितहरूको उद्धार र पुनःस्थापनाको प्रयास जारी रहेका बेला स्वास्थ्य विज्ञहरूले डेंगु, औलो र ग्यास्ट्रिकको संक्रमण निकै बढेको विवरणहरू सार्वजनिक गरेका छन् । बाढीका कारण विस्थापित भएकामध्ये अधिकांश जमेको पानीको वरपरका स्थानमा आश्रय लिइरहेका कारण पनि डेंगुको संक्रमण फैलिएको जनाइएको छ ।

पाकिस्तानका विभिन्न स्थानमा जुन मध्यदेखि सुरु भएको भीषण वर्षासँगैको बाढीका कारण करिब १ हजार ५ सय जनाको मृत्यु भइसकेको छ । करिब ३५ लाख मानिस प्रभावित भएका छन् ।

दक्षिणी प्रान्त सिन्धका स्वास्थ्य अधिकारीहरूले ३ हजार ८ सय ३० जनामा डेंगु संक्रमण देखिएको पुष्टि गरेका छन् । संक्रमितमध्ये ९ जनाको मृत्यु भएको जनाइएको छ । तर वास्तविक अवस्था योभन्दा भयावह रहेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

‘सिन्ध प्रान्तको अवस्था निकै खराब देखिएकाले हामी प्रान्तभरि नै स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै छौं । पछिल्लो समय देखिएका बिरामीमध्ये प्रायः डेंगु संक्रमित देखिएका छन् । औलोका बिरामीको संख्या पनि उच्च देखिएको छ,’ पाकिस्तान मेडिकल एसोसिएसनका महासचिव डा. अब्दुल गफुर सोरोले बीबीसीसँग भने, ‘डेंगुको संक्रमणको अवस्था सबै प्रान्तहरूमा उस्तै छ ।’

कराँचीको अघा खान अस्पतालमा डेंगुका सयौं बिरामीको उपचार गरिरहेका सोरोले स्वास्थ्य प्रयोगशाला अनुगमनका क्रममा करिब ८० प्रतिशत शंकास्पद संक्रमित भेटिएका जनाए । आगामी केही साताहरूमा अवस्था अझै खराब हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

पाकिस्तानमा भीषण वर्षासँगै बाढी आएको दुई महिनाभन्दा लामो समय भइसकेको छ । तर पनि हजारौं गाउँहरू अझै डुबानमा रहेका अधिकारीहरूको भनाइ छ । जसका कारण विस्थापित परिवारहरूको पुनःस्थापना गर्न समस्या देखिएको छ ।

त्यसका साथै बाढीपछि दुर्गम स्थानहरूमा पिउने पानीको अभाव छ । बाढीका कारण सडकहरू क्षतिग्रस्त भएकाले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यक केन्द्र वा अस्पताल पुग्न सक्ने अवस्था छ्रैन । कतिपय स्थानमा अस्थायी स्वास्थ्य शिविरहरू सञ्चालन गरिएका त छन्, तर जनसंख्याको अनुपातमा ती निकै कम छन् ।

प्रभावितहरूमध्ये अधिकांशले खर्चको अभावमा उपचारसमेत गर्न नपाएको गुनासो गरेका छन् । ग्यास्ट्रिकको संक्रमणका कारण निरन्तर बान्ता गरेपछि आफ्नी एक वर्षीया छोरीलाई सिन्ध प्रान्तको एक क्लिनिक पुर्‍याएकी मुना सज्जदले भनिन्, ‘मेरा दुई छोराछोरी बिरामी छन् । उनीहरूको हेरचाह र उपचार गर्न मसँग पैसा छैन,’ मुना भन्छिन्, ‘बाढीमा मैले सबै कुरा गुमाएँ । हामीसँग अब केही खानेकुरा पनि छैन ।’

जताततै बिरामीहरू छन् तर उनीहरूको उपचार र रेखदेख गर्न पर्याप्त जनशक्ति छैन । पछिल्लो समय झन् चाप बढिरहेको चिकित्सकहरूको भनाइ छ । ‘बिरामी थपिएका थपियै छन् । तर सबैलाई उपचार गर्ने हामीसँग क्षमता छैन,’ चिकित्सक खालिद खोसाले भने ।

आफूहरूले दैनिक सयौं बिरामी हेरिरहेको उनको भनाइ छ । ‘हाम्रो मात्र होइन, प्रान्तभरि नै यस्तै अवस्था यस्तै छ,’ उनले भने, ‘हामी मानवीय प्रकोप नजिक रहेकोमा चिन्ता बढेको छ । धेरै मानिसहरू डेंगु, औलो र पेटसम्बन्धी समस्याबाट ग्रसित छन् ।’

सिन्धका साथै बलुचिस्तान, गिलगिट, बाल्टिस्तान, खैबर पख्तुनख्वा र पन्जाव प्रान्त बाढीका कारण बढी प्रभावित भएका जनाइएको छ । बाढीको विनाशका कारण १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार दर्जनौं घाइते भएका छन् । दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा ३ र खैबर पख्तुन्ख्वा प्रान्तमा २ जनाको मृत्यु भएको हो ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले गत साता बाढीग्रस्त क्षेत्रहरूको भ्रमण गर्दै स्थिति निकै चिन्ताग्रस्त रहेको बताएका थिए । बाढीप्रभावित परिवारहरूलाई भेटेर उनले विश्व समुदायले पाकिस्तानलाई सहयोग गर्नुपर्ने बताएका थिए । पाकिस्तानजस्ता गरिब देशलाई पीडाबाट बाहिर निस्कन सहयोका लागि उनले धनी राष्ट्रहरूलाई आग्रह गरेका थिए ।

पाकिस्तानले भोगेको विध्वंसकारी बाढीको मुख्य कारण जलवायु परिवर्तन भएको उनको भनाइ छ । ‘यो परिणामका लागि पाकिस्तान मात्र जिम्मेवार छैन । यो हरित गृह ग्यासका कारण वायुमण्डल प्रदूषित गरेको नतिजा हो,’ उनले भने । विश्वका ठूला अर्थतन्त्र मुलुकहरू जी–२० ले ८० प्रतिशत हरित गृह ग्यास उत्सर्जन गर्छन् । त्यसमा पाकिस्तानको हिस्सा एक प्रतिशतभन्दा पनि कम छ ।

अधिकारीहरूले सिन्ध प्रान्तका बस्तीमा जमेको पानीको तह घटेर मानिसहरू पुनः बस्न मिल्ने हुन महिनौं लाग्ने बताएका छन् । तर कतिपय मानिसलाई भने पानीको तह घटे पनि सर्वस्व गुमाएका कारण आफ्नो स्थानमा फर्कन भने निकै कठिन देखिन्छ ।

प्रकाशित : भाद्र ३१, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?