३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

युक्रेनले गुमेको भूमि फिर्ता ल्याउन सक्ला ?

पूर्वी क्षेत्रमा रूसी सेनामाथि कडा प्रत्याक्रमण गर्दै युक्रेनी फौज
३ हजार वर्गकिलोमिटर भूभाग पुनः नियन्त्रणमा ल्याएको युक्रेनी राष्ट्रपतिको दाबी
एजेन्सीहरू

किभ/मस्को — रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई सय दिन नाघिसकेको छ । यस अवधिमा दुवैतर्फ गरी हजारौंको संख्यामा सेना र युक्रेनी सर्वसाधारणको मृत्यु भइसकेको छ । लाखौं युक्रेनी सर्वसाधारण विस्थापित तथा घरबारविहीन भएका छन् ।

युक्रेनले गुमेको भूमि फिर्ता ल्याउन सक्ला ?

युद्धका क्रममा युक्रेनले निकै ठूलो भूभाग गुमाइसकेको छ । तर पछिल्लो समय युक्रेनले रुसद्वारा अतिक्रमित भूभाग फिर्ता ल्याउन थालेको जनाइएको छ । हिउँद लाग्नुअघि नै युक्रेनी फौजले रुसी सेनालाई कमजोर पार्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले करिब ६ महिनामा लामो युद्धका क्रममा रुसले नियन्त्रणमा लिएकोमध्ये करिब ३ हजार वर्गकिलोमिटर भूभाग आफ्नो देशको सेनाले फिर्ता ल्याएको दाबी गरेका छन् । तर यसको स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

युक्रेनी सेनाले पछिल्लो २४ घण्टामा उत्तर–पूर्वी क्षेत्रका २० वटा गाउँमाथि पुनः नियन्त्रणका कायम गरेको जनाएको छ । युक्रेनी सेनाको सफलताले रुसको समग्र कारबाहीको योजनामा फेरबदल ल्याउन सक्ने बेलायती रक्षा मन्त्रालयका अधिकारीको भनाइ छ । राष्ट्रपति जेलेन्स्कीले गत बिहीबार, शनिबार र आइतबार ३ हजार वर्गकिलोमिटर भूभागमाथि पुःन नियन्त्रण कायम गरेको दाबी गरेका हुन् । युक्रेनले पछिल्लो केही साताहरूमा नियन्त्रणमा लिएका क्षेत्रमा पत्रकारलाई जान रोक लगाइएको बीबीसीले उल्लेख गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका केही दृश्यहरूमा यसअघि रुसी सेनाको कब्जामा रहेका स्थानमा युक्रेनी सेनाको उपस्थिति देखिएको छ ।

रुसी राष्ट्रपति कार्यालयका प्रवक्ताले भने पहिले नै निर्धारण गरिएको लक्ष्य प्राप्त नभएसम्म युक्रेन युद्ध नरोकिने बताएका छन् । पछिल्लो समय युक्रेनले पुनः नियन्त्रणमा लिएका क्षेत्रमा आक्रमण जारी रहेको रुसी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युक्रेनी सेना गत शुक्रबार बालाक्लिया सहर प्रवेश गरेको थियो । तर रुसले भने दोनेत्स्कको सैन्य मोर्चा थप मजबुद बनाउन आफ्ना सैनिकहरू उक्त सहरबाट फिर्ता भएका हुन् । रुसी फौजका लागि सामान आपूर्ति गर्न निकै महत्त्वपूर्ण मानिएका दुई सहर इज्युम र कुपिआन्स्क शनिबार पुनः युक्रेनी सेनाको नियन्त्रणमा आएका हुन् ।

इज्युम सहर गत मार्चमा रुसी सेनाले कब्जा गरेको थियो । त्यसयता त्यहाँका स्थानीय करिब एक सातामा सहर फर्कन सक्ने मेयर भलेरी मार्चेन्कोले भनाइ छ । ठूलो भौतिक क्षति तथा ऊर्जा र पानीको अभाव भए पनि अधिकांश मानिस आफ्नो स्थानमा फर्कन चाहेको उनले बताए ।

डोन्बास क्षेत्रको स्लोभियान्स्क र क्रामातोर्स्कको प्रवेशद्वार भएकाले इज्युममा सम्भवतः रुसी सेनाको सर्वाधिक ठूलो केन्द्र रहेका बताइएको छ । भूराजनीतिक रूपले महत्त्वपूर्ण भएका कारण रुसले स्लोभियान्स्क र क्रामातोर्स्कमाथि नियन्त्रण कायम गर्न चाहन्छ । सैन्य सहयोगका लागि पश्चिमा साझेदार देशसँग आग्रह गरिरहेको बेला भएको पछिल्लो उपलब्धिले युक्रेनी सेनासँग रुसले नियन्त्रणमा लिएका भूभाग फिर्ता लिन सक्ने क्षमता भएको ठानिएको छ । युक्रेनले एक साताअघि देशको पूर्वी भेगमा रुसी फौजविरुद्ध प्रत्याक्रमण सुरु गरेको हो । तर दक्षिणी सहर खेर्सननजिकै प्रत्याक्रमण हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय ध्यान त्यतातिर केन्द्रित रहेको थियो । रुसले अनुभवी सैन्य समूहलाई सहर प्रतिरक्षाका लागि त्यसतर्फ पठाएको जनाइएको छ ।

एक युक्रेनी अधिकारीले भने दक्षिणी क्षेत्रमा पनि सफलता हात परिरहेको दाबी गरेका छन् । युक्रेनी सेनाको दक्षिणी कमान्डका प्रवक्ता नातालिया गुमेन्युकले ‘आफूहरूले निकै ठूलो भूभागमा रुसी फौजविरुद्ध प्रत्याक्रमण गर्दै अघि बढेको’ बताएका छन् । पछिल्ला केही दिनमा युक्रेनी सेनाले केही भूभाग रुसबाट फिर्ता ल्याउन सफल भए पनि युक्रेनको करिब २० प्रतिशत भूभाग रुसको नियन्त्रणमा छ । तर उक्त भूभाग आफ्नो नियन्त्रणमा ल्याउन भने युक्रेनका लागि असम्भव नै देखिन्छ ।

यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनी प्रत्याक्रमणविरुद्ध पूर्वी युक्रेनमा विद्युत् कटौती गरेर ‘मानिसहरूलाई उज्यालो र न्यानोबाट वञ्चित’ गरेको बताएका छन् । विद्युत् पूर्ण रूपमा काटिनुले खर्किभ र दोनेत्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ । खर्किभका मेयर इहोर तेरेखोभका अनुसार रुसले नागरिक पूर्वाधारमा आक्रमण गरेका कारण सहरका अधिकांश क्षेत्रमा बिजुली र पानी आपूर्ति बन्द भएको छ ।

युक्रेनी सेनाको पछिल्लो सफलताविरुद्ध रुसी फौजले एक दुखद र निन्दनीय प्रयास गरेको उनको भनाइ छ । मेयर तेरेखोभ र त्यस क्षेत्रका गभर्नरले स्थानीयलाई शान्त र संयमित रहन आग्रह गर्दै आपत्कालीन सेवाका अधिकारीले विद्युत् आपूर्ति सहज पार्ने र आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको जनाएका छन् । सुमी क्षेत्रका गभर्नरले कम्तीमा एक सय ३० भन्दा बढी बस्तीमा विद्युत् अवरुद्ध रहेको बताएका छन् । विद्युत् कटौतीपछि राष्ट्रपति जेलेन्स्कीले ‘रुसले नागरिक पूर्वाधारलाई लक्षित गरेर आतंकवादी कार्य गरेको आरोप लगाएका छन् । ‘अन्धकार, चिसो, भोक र तिर्खा हाम्रा लागि तिमीहरूसँगको मित्रता जतिको भयानक र घातक छैन,’ उनले भनेका छन् ।

प्रकाशित : भाद्र २८, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?