कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रिन्स चार्ल्स र फिलिपले सिकार खेल्दा झोला बोक्थे गोर्खा सैनिक गाहामगर

नवीन पोखरेल

लन्डन — बेलायती महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा गत बिहीबार निधन भएपछि बेलायतस्थित भूतपूर्व गोर्खाहरू पनि शोकमा छन् । श्रद्धाञ्जली अर्पण गर्न लन्डन बकिङहम प्यालेस अगाडि जानेको भीड जारी छ । 

प्रिन्स चार्ल्स र फिलिपले सिकार खेल्दा झोला बोक्थे गोर्खा सैनिक गाहामगर

ब्रीटीश आर्मीको फर्स्ट रोयल गोर्खा राइफल्स (वानआरजीआर) मा १३ वर्ष सेवा गरेर अवकास लिएका प्रेम गाहामगर स्वर्गीय महारानी एलिजावेथसहित राजपरिवार सदस्यहरूसँग निकट हुने मौका पाएका थिए ।

महारानीको निधनपछि आफू निकै स्तब्ध भएको उनले बताए । एनआरएनए यूके अध्यक्षसमेत रहेका गाहामगर मंगलबार बकिङहम प्यालेस गएर पुष्पगुच्छा अर्पण गर्ने र संस्थागत रुपमा १७ तारिख शोकसभा मनाउने निर्णय गरिएको बताउँछन् ।

सन् १९९७ डिसेम्बर ३ मा लन्डनस्थित गोर्खा सालिकको उद्घाटनमा स्वर्गीय महारानी एलिजावेथसँग भेट्ने मौका पाएको गाहामगरले स्मरण गरे ।

'गोर्खा मेजर उदयबहादुर गुरुङको नेतृत्वमा परेडमा थियौं हामी । म ब्रीटीश आर्मीमा भर्ती भएको एक वर्षमात्र भएको थियो । महारानीले तिमी कहाँबाट आयौ भन्दा मैले जोडसँग चिच्याएर (आर्मी स्टाइलमा) नेपालको पश्चिमी भागबाट आएको मौसुफ भनेको थिएँ', उनले सुनाए ।

सन् २००१ तिरको कुरा हो । महारानी दिवंगत भएको स्कटल्याण्ड बाल्मोरलमा प्रिन्स फिलिप र प्रिन्स चार्ल्स (वर्तमान राजा) समरमा स्पोर्ट्स हन्टिङ (वन कुखुरा, मृग आदि मार्ने) मा जाँदा आफू उनीहरूको सिकार खेल्ने सामग्रीसहित झोला बोकेर जंगलतिर हिँड्ने गरेको गाहामगरले बताए । साथमा ४०-५० वटा कुकुर पनि हुन्थे । 'मैले झोला बोकेको प्रतिदिन ५० पाउण्ड पाउँथें', उनले स्मरण गरे ।

सन् २००१ मेतिर स्कटिस युनिट रोयल हाइल्यान्डरमा काम गर्थे उनी । प्रत्येक २५ वर्षमा हुने हाइल्याण्डर परेडमा प्रिन्स चार्ल्स र फ्रिन्स फिलिपलाई भेट्न पाएका थिए गाहामगरले ।

'हाइल्याण्डर परेड सकिएपछि सर्वसाधारण, सैनिक र तिनका परिवारसँग प्रिन्सहरू उभिएरै बियर खाने, गफ गर्ने गर्नु हुन्थ्यो', उनले भने, 'स्वभाव डाउन टु अर्थ थियो उहाँहरूको ।'

सन् २००३ मा गाहामगरले स्याण्डहस्ट मिलिट्री पर्पोज गार्ड सर्भिस (एमपीजीएस) मा काम गर्ने मौका पाएका थिए । यो जिम्मेवारी गोर्खालीमा पहिलोपटक उनलाई मिलेको थियो ।

त्यहाँ झण्डै दुई वर्ष काम गरेका गाहामगरले कामको सिलसिलामा प्रिन्स विलियम (भावी राजा) लाई ७ पटक जति 'एस्कर्ट' गर्ने मौका पाएको सम्झन्छन् ।

'प्रिन्स विलियम पोलो खेल्न सामान बोकेर आउनु हुन्थ्यो । उहाँ सामान्य भक्सवागन (भिडब्लू) गाडी आफैं हाँकेर आउने । नेपालमा सामान्य मन्त्री हिँड्दा त कत्रो रवाफ हुन्छ तर प्रिन्स विलियम भने साधारण तरिकाले आउने गरेको मलाई याद छ', उनले सुनाए ।

रानीका श्रीमान स्वर्गीय फिलिपसँग पनि गाहामगरको बेग्लै सम्झना छ । हाइल्याण्डर परेड सकिएपछि फिलिपले उनलाई सोधे, 'उनी तिम्रो श्रीमती हुन् ?' गाहामगरले जवाफ दिए, 'हजुर हो अनि यो मेरो ठूलो छोरा । त्यही बेला फिलिपले छोरा अरुको पनि हुन सक्छ नि भन्ने भावमा 'आइ होप सो' भन्दै जोक गरेको गाहामगरले बताए ।

सरकारलाई हस्तक्षेप नगर्ने, बरु उत्प्रेरित र आवश्यक परे सल्लाह दिने भएकाले राजसंस्था सबैको लोकप्रिय बनेको उनको बुझाइ छ । यसैबीच, बेलायती महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि यही सेप्टेम्बर १९ तारिख सोमबार हुने भएको छ ।

गत बिहीबार स्कटल्याण्डको बाल्मोरल प्यालेसमा स्वर्गरोहण भएकी महारानीको अन्तिम संस्कार उक्त दिन लन्डनस्थित वेष्टमिन्स्टर आबीमा हुने बकिङहम प्यालेसले जनाएको छ । त्यस दिन सार्वजनिक विदा दिने घोषणा गरिएको छ ।

प्रकाशित : भाद्र २६, २०७९ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?