कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चार्ल्स तृतीय बेलायतका नयाँ राजा

निःस्वार्थ रूपमा देश र जनताको सेवा गरेकी एलिजाबेथ द्वितीयको कसैसँग तुलना हुन नसक्ने चार्ल्सको भनाइ
नवीन पोखरेल

लन्डन — चार्ल्स तृतीय बेलायतको राजा घोषित भएका छन् । चार्ल्सलाई शनिबार लन्डनको सेन्ट जेम्स दरबारमा ‘एक्सेसन काउन्सिल’ सदस्यहरूमाझ औपचारिक रूपमा राजा घोषित गरिएको हो ।

चार्ल्स तृतीय बेलायतका नयाँ राजा

महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा युवराज चार्ल्सलाई एक्सेसन काउन्सिल सदस्यहरूले एकै मतले नयाँ राजा घोषित गरेका हुन् ।

एक्सेसन काउन्सिलमा बेलायतका ६ जना पूर्वप्रधानमन्त्री, न्यायाधीश तथा वरिष्ठ सरकारी अधिकारी छन् ।

चार्ल्स राष्ट्रमण्डलका प्रमुख, धर्मका रक्षक र ब्रिटेनको नयाँ राजा भएको घोषित भएसँगै प्रिभी काउन्सिलका क्लर्क रिचार्ड टिलब्रुकले ‘ईश्वरले राजाको रक्षा गरून्’ भनेर उद्घोष गरेका थिए । घोषणा त्यसलगत्तै समारोहमा उपस्थित सबैले उक्त वाक्यांश दोहोराएका थिए । उक्त घोषणा फ्रेयरी कोर्टमाथि रहेको एउटा बार्दलीबाट पनि पढेर सुनाइएको थियो ।

७३ वर्षीय चार्ल्स संसारकै सबैभन्दा बढी उमेरका राजासमेत हुन् । चार्ल्सले राजाका रूपमा जिम्मेवारी ग्रहण गर्दै शपथसमेत लिएका छन् । राजा घोषित भएलगत्तै छोटो मन्तव्य दिँदै उनले आमाको उदाहरण पछ्याउने प्रतिबद्धता गरेका छन् ।

राजा चार्ल्सले आमाको निधनमा संसारभरिबाट आफू र आफ्नो परिवारप्रति समवेदना प्राप्त भइरहेकोमा आभार व्यक्त गरेका बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । लन्डनस्थित सेन्ट जेम्स प्यालेसको स्टेट अपार्टमेन्टमा बोल्दै चार्ल्सले ‘आफ्नी आमाले निःस्वार्थ रूपमा देश र जनताको’ सेवा गरेको बताए । ‘अवधि, प्रतिबद्धता र समर्पणको हिसाबले उहाँको शासनसँग अरु कसैको तुलना हुन सक्दैन,’ उनले भने ।

बेलायतकै इतिहासमा एक्सेसन काउन्सिलका सदस्यहरूको बैठक टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको यो पहिलो पटक हो । आइतबार वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्डमा पनि विशेष समारोह आयोजना गरी उनलाई राजा घोषणा गरिनेछ । चार्ल्स राजा बनेसँगै उनकी पत्नी ७५ वर्षीया क्यामिला रानी बनेकी छन् । चार्ल्सपुत्र प्रिन्स विलियम अब उनका पहिलो उत्तराधिकारी बनेका छन् ।

संवैधानिक राजाको रूपमा रहने चार्ल्सले राष्ट्राध्यक्ष तथा राष्ट्रमण्डलको नेताका महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने जनाइएको छ । यद्यपि, पछिल्लो समय बेलायती समाज परिवर्तन भएकाले उनले विभिन्न जात जाति वा सम्प्रदायको समान प्रतिनिधित्व गर्नुपर्ने देखिन्छ । ‘एलिजाबेथ द्वितीयले राज्यारोहण गर्ने बेलाको बेलायत र चार्ल्स तेस्रोले राज्यारोहण गर्ने बेलाको बेलायतमा धेरै नै फरक आइसकेको छ,’ बीबीसीसँग कुरा गर्दै प्राध्यापक भर्नन बोगदानरले भनेका छन् । ‘बेलायत अहिले बहुजातीय र बहुधार्मिक मुलुक बनिसकेको छ र नयाँ राजाले सबै धर्म र सम्प्रदायका मानिसहरूसँग सम्पर्क बढाउँछन् भन्ने आशा छ ।’

चार्ल्ससँगै प्रिन्सेस ट्रस्टमा काम गरेका सर लोयड डर्फम्यानले भने राजा भए पनि चार्ल्स तेस्रोले जलवायु परिवर्तन तथा प्रांगारिक खेतीसम्बन्धी काम तुरुन्तै छाड्न नसक्ने ठान्छन् । ‘उहाँ निकै ज्ञानी र प्रभावकारी हुनुहुन्छ । त्यसैले राजा बन्नासाथ उहाँले यी विषय छोड्नु होलाजस्तो मलाई लाग्दैन,’ उनले भने ।

महारानी एलिजाबेथ द्वितीयको निधनले ब्रिटेनसहित विश्व स्तब्ध छ । विश्वभरका नेताहरुले दुःख व्यक्त गरिरहँदा बेलायती नागरिक झन् बढी मर्माहत छन् । यतिखेर बेलायत राष्ट्रिय शोकमा डुबेको छ ।

सर्वसाधारण नागरिकहरु महारानीको मुख्य कार्यालय बकिङघम प्यालेस, निवास बिन्जर क्यासल, बाल्मोरल क्यासल, सान्ड्रिघमलगायत स्थानमा भेला भएर पुष्पगुच्छा तथा मैनबत्ती प्रज्ज्वलन गरिरहेका छन् ।

बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य सुवेदीले रानीको देहान्तले एक युगको अन्त्य भएको जनाए । ‘हामी जीवनको अधिकांश भाग रानी छन् भनेर हुर्किएका हौं । उनको निधनले सारै दुःखी बनाएको छ,’ उनले भने ।

आफूले रानीबाट लन्डन विश्वविद्यालय सोआसमा क्राउन रिप्रेजेन्टेटिभ, नेपाली नागरिकका रूपमा पहिलो ओबीई र क्यूसी गरी तीनवटा नियुक्ति पाएको स्मरण गर्दै सुवेदीले भने, ‘बेलायतमा राजनीतिक स्थायित्व प्रदान गर्न रानीको ठूलो योगदान थियो, उनको देहान्त बेलायतका लागि मात्र नभई संसारकै लागि अपुरणीय क्षति हो ।’

विगत ४३ वर्ष देखि बेलायतमा बसोबास गर्दै आएका वरिष्ठ चिकित्सक राघवप्रसाद धिताल (ओबीई) ले पनि महारानीको निधनबाट आफू अत्यन्तै दुःखी भएको बताए । ‘महारानी देशका लागि सोच्ने, एकदमै राष्ट्रवादी र आफ्नो मुलुक तथा कमनवेल्थलाई कसरी फाइदा हुन्छ भनेर सोच्ने एक गैरराजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो,’ धितालले भने । बेलायतमा राजसंस्था निकै लोकप्रिय र अधिकांश जनताले पनि स्वीकार गरेको उनको बुझाइ छ ।

ब्राइटनस्थित युनिभर्सिटी अफ ससेक्समा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा मास्टर्स गर्न चिभिनिङ स्कलरमा आएकी सरिता सुवेदीले बकिङघम प्यालेसमा श्रद्धाञ्जली अर्पण गर्न आएका सर्वसाधारणको भीड छिचोलिनसक्नु भएको बताइन् । ‘यसले बेलायतमा राजसंस्था र स्वर्गीय रानीको लोकप्रियता कति रहेछ स्पस्ट हुन्छ,’ उनले भनिन् ।

प्रकाशित : भाद्र २५, २०७९ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?