कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय शोकमा बेलायत

महारानीको सम्मानमा बकिङ्घम प्यालेस, बिन्जर क्यासल, बालमोरल क्यासल, सान्ड्रिघमअघि उपस्थित भई हजारौंद्वारा पुष्पगुच्छा अर्पण तथा मैनबत्ती प्रज्ज्वलन
महारानी एलिजावेथको तस्बिर अंकित मुद्रा, नोट, सरकारी छाप, पोस्टबक्स, राहदानीलगायतको कानुनी वैधता कायमै रहने
‘महारानीको निधन बेलायतका लागि मात्र नभई, संसारकै लागि अपुरणीय क्षति हो’
नवीन पोखरेल

लन्डन — बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनले बेलायत राष्ट्रिय शोकमा डुबेको छ । बेलायती नागरिकहरु महारानीको कार्यालय रहेको बकिङ्घम प्यालेस, निवास बिन्जर क्यासल, बालमोरल क्यासल, सान्ड्रिघमलगायत अघि भेला भई उनको सम्मानस्वरुप पुष्पगुच्छा अर्पण गर्नुका साथै तथा मैनबत्ती प्रज्ज्वलन गरिरहेका छन् ।

राष्ट्रिय शोकमा बेलायत

महारानीको निधनले विश्व राजनीतिमा अपूरणीय क्षति भएको भन्दै विश्वभरका नेता तथा सर्वसाधारणले दु:ख व्यक्त गरेका छन् ।

९६ वर्षीय महारानी एलिजावेथको स्कटल्यान्डस्थित बाल्मोरल दरबारमा बिहीबार निधन भएको थियो । २ दिन पहिले मात्र महारानीले बाल्मोरल दरबारमा लिज ट्रसलाई बेलायती प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । सन् १९५२ मा पिता जर्ज छैटौंको निधनपछि एलिजावेथले राजगद्दी सम्हालेकी थिइन् । ७० वर्षसम्म एकछत्र गद्दीमा रहेकी उनी बेलायतको इतिहासमै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहहने राष्ट्राध्यक्ष हुन् । उनी बेलायतलगायत १४ वटा मुलुकको राष्ट्र प्रमुख थिइन् ।

बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य सुवेदीले महारानी एलिजावेथको निधनलाई ‘एक युगको अन्त्य’ को रुपमा अथ्र्याएका छन् । ‘हामी जीवनको अधिकांश समय महारानी छन् भनेर हुर्किएका हौं । उनको निधनले सारै दु:खी भएका छौं,’ उनले कान्तिपुरसँग भने । आफूले महारानीबाटै लन्डन विश्वविद्यालय सोआसमा क्राउन रिप्रेजेन्टेटिभ, नेपाली नागरिकका रुपमा पहिलो ओबीई र क्यूसी गरी तीन वटा नियुक्ति पाएको स्मरण गर्दै उनले महारानीको जीवनबाट सबैले सिक्नुपर्ने पाठ धेरै भएको बताए । ‘बेलायतमा राजनीतिक स्थायित्व प्रदान गर्न महारानीको ठूलो योगदान थियो । उनको निधन बेलायतका लागि मात्र नभई, संसारकै लागि अपुरणीय क्षति हो,’ उनले भने ।

४३ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका वरिष्ठ चिकित्सक राघवप्रसाद धिताल (ओबीई) ले पनि महारानीको निधनबाट आफू अत्यन्तै दु:खी भएको बताए । ‘उहाँ मुलुक र मुलुकवासीका बारेमा सोच्ने, एकदमै राष्ट्रवादी र कमनवेल्थलाई कसरी फाइदा हुन्छ भनेर कदम चाल्ने एक गैर राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो,’ डा. धितालले भने । बेलायतमा राजसंस्था निकै जनप्रियसमेत रहेको उनको बुझाइ छ ।

ब्राइटनस्थित युनिभर्सिटी अफ ससेक्समा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा स्नातकोत्तर गरिरहेकी सरिता सुवेदीले बकिङ्घम प्यालेसमा दिवंगत महारानीप्रति श्रद्धाञ्जलि अर्पण गर्न आएका सर्वसाधारणको भीड छिचोलि नसक्नु भएको बताइन् । ‘यसले बेलायतमा राजसंस्था र महारानीको लोकप्रियता कति रहेछ भन्ने स्पष्ट हुन्छ,’ उनले भनिन् ।

दिवंगत महारानीको सम्मानमा शुक्रबार इंग्ल्यान्डको विन्डसर कास्टलअघि गुलाबको फूल अर्पण गर्दै एक बालिका । तस्बिर : एपी

चार्ल्स तृतीय बने नयाँ राजा

७० वर्षसम्म शासन चलाएकी आमा एलिजावेथको निधनसँगै अब उक्त जिम्मेवारी छोरा चार्ल्स को काँधमा आएको छ । ‘प्रिन्स चार्ल्स ’ का रुपमा रहेका उनलाई अब ‘महाराजा चार्ल्स तृतिय’ को नामले पुकारिनेछ । संवैधानिक राजाको रुपमा उनको भूमिका सीमित हुनेछ तर राष्ट्राध्यक्ष तथा राष्ट्र मण्डलको नेताको रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछन् ।

निधनका समय आमासँगै रहेका राजा चार्ल्स तृतीय शुक्रबार स्कटल्यान्डबाट फर्किएका छन् । राजाको कार्यालय बकिङघम प्यालेस आइपुग्दा उनलाई त्यहाँ उपस्थित सयौं सर्वसाधारण र शुभेच्छुकलले समवेदना व्यक्त गरेका थिए । उनले सबैमाझ हात हल्लाउँदै र पुष्पगुच्छा स्विकार्दै अभिवादन गरेका थिए । उनले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

राजा चुनिएसँगै चार्ल्स सामु महत्वपूर्ण जिम्मेवारी मात्र होइन, चुनौतीसमेत छन् । ‘महारानी एलिजाबेथले राज्यारोहण गर्ने बेलाको बेलायत र चार्ल्स ले राज्यारोहण गर्ने बेलाको बेलायतमा धेरै नै फरक आइसकेको छ,’ बीबीसीसँग कुरा गर्दै प्राध्यापक भर्नन बोगदानरले भनेका छन्, ‘अहिले ब्रिटेन बहुजातीय र बहुधार्मिक मुलुक बनिसकेको छ । नयाँ राजाले सबै धर्म र सम्प्रदायका मानिसहरुसँग सम्पर्क बढाउने छन् भन्ने आशा छ ।’

यसअघि चार्ल्स सँगै प्रिन्सेस ट्रस्टमा काम गरेका सर लोयड डर्फम्यान भने राजा भइसकेपछि पनि चार्ल्स ले जलवायु परिवर्तन तथा प्रांगारिक खेतीजस्ता उनको मन छोएका विषयहरु तुरुन्तै छाड्न नसक्ने आकलन गर्छन् । ‘उहाँ निकै ज्ञानी र सबैमाझ प्रभाव छोड्ने खालको हुनुहुन्छ । त्यसैले राजा बन्नासाथै उहाँले यी विषय छोड्नु होला जस्तो मलाई लाग्दैन,’ उनले भने ।

लन्डनको बकिङ्घम प्यालेसअघि शुक्रबार बेलायती नागरिक तथा शुभेच्छुकको पुष्पगुच्छा र सम्मान ग्रहण गर्दै नयाँ राजा चार्ल्स तृतीय । तस्बिर : एपी

बेलायती मुद्रा र राहदानीको भविष्य के ?

महारानी एलिजावेथको निधनसँगै उनको तस्बिर अंकित मुद्रा, छाप, नोट र राहदानीको भविष्य के होला ? नयाँ राजाका रूपमा चार्ल्स चुनिएसँगै के ती सबै वस्तुले कानुनी वैधता गुमाउनेछन् ? हरेक बेलायतीका लागि वर्षौंदेखि अभिन्न अंगजस्तै बनेका उल्लेखित विभिन्न वस्तु तथा माध्यममा अंकित महारानीको तस्बिर वा पोट्रेटलाई लिएर अब आमजनधारणा कस्तो बन्ला भन्ने पनि आमचासो छ । तर, महारानीको तस्बिर अंकित मुद्रा तत्कालै हट्ने भने छैन ।

बेलायती मुद्रा प्रकाशन गर्दै आएको कम्पनी द रोयल मिन्टले नयाँ राजा चुनिएसँगै उनको तस्बिर अंकित मुद्रा कस्तो हुने र कहिलेदेखि प्रकाशन गर्नेबारे अहिल्यै केही खुलाइसकेको छैन । कम्पनीका अनुसार महारानीको तस्बिर अंकित करिब २९ अर्ब थान मुद्रा बजारमा छन् । ती मुद्रा वर्षौंसम्म बजारमा रहिरहने र नयाँ मुद्रा बजारमा निष्काशन हुन थालेपछि क्रमश: विस्थापित हुँदै जाने बताइएको छ ।

राजगद्दी सम्हालेको ७० वर्ष लामो अवधिमा एलिजावेथका फरक–फरक तस्बिर अंकित गरी ५ पटक मुद्रा छापिएको छ । पछिल्लो पटक उनी ८८ वर्षको हुँदा सन् २०१५ मा नयाँ स्वरूपको मुद्रा बजारमा ल्याइएको थियो । नोटमा भने सन् १९६० बाट मात्रै उनको तस्बिर अंकित हुन थालेको हो । पहिलो पटक स्कटिस र नर्दन आइरिस बैंकले एक पाउन्डको नोटमा उनको तस्बिर राखेको थियो । अहिले ८० अर्ब पाउन्ड बराबरका करिब ४ अर्ब ५० करोड थान नोट बजारमा छन् । यी सबै नोट र मुद्राले अहिले नै कानुनी वैधता नगुमाउने द बैंक अफ इंग्ल्यान्डले जनाएको छ । यदि परिवर्तन या नयाँ नोटसँग साट्नुपर्ने भएमा बैंकले सूचना जारी गर्नेछ ।

बेलायतका नयाँ राजा बनेका चार्ल्स तृतीयको ७० औं जन्मदिनका अवसरमा सन् २०१८ मा प्रकाशित विशेष मुद्रा । तस्बिर सौजन्य : द रोयल मिन्ट

रोयल मिन्ट कम्पनीले सन् २०१८ मा चाल्सको ७० औं जन्मदिनका अवसरमा विशेष मुद्रा प्रकाशन गरेको थियो । धेरैले नयाँ मुद्रा सोही स्वरूपकै हुने आकलन गरिरहेका छन् । उक्त मुद्रामा दायाँतर्फ हेरेको चाल्सको तस्बिर अंकित थियो । तर, नयाँ राजाको तस्बिर मुद्रामा अंकित गर्दा त्यसको स्वरूप परम्पराअनुसार नै निर्धारण गर्ने प्रचलन छ । बेलायत सरकारले मुद्रा निष्काशनसम्बन्धी निर्णय गरेपछि मात्रै दक्षिण वेल्सको लान्ट्रिसान्टस्थित रोयल मिन्टको कारखानामा चाल्सको तस्बिर अंकित मुद्राको छपाइ हुनेछ ।

नयाँ राजा चयन भएसँगै सरकारी छाप र पोस्ट बक्सको स्वरूपसमेत परिवर्तन हुनेछ । तर, कहिलेदेखि भन्ने निक्र्योल भइसकेको छैन । बेलायतको सरकारी हुलाकी सेवा दिने निकाय रोयल मेलले पछिल्लो पटक सन् १९६७ मा एलिजावेथको तस्बिर अंकित छाप प्रकाशन गरेको थियो । जुन चिठीपत्र र पार्सलमा अहिलेसम्म पनि प्रयोग हुँदै आएको छ । केही समययता उक्त छापको प्रकाशन बन्द गरेको रोयल मेलले उक्त डिजाइनलाई परिवर्तन गर्ने प्रक्रिया अघि बढाएकै बेला एलिजावेथको निधन भएपछि उक्त प्रक्रिया केही समयका लागि स्थगन हुने भएको छ ।

सरकारी छाप र पोस्ट बक्सका अलावा हाल जारी हुँदै आइरहेको ‘हर म्याजेस्टी’ अंकित सबै बेलायती राहदानीको समेत वैधता तत्काल सकिने छैन । अब जारी हुने नयाँ राहदानीमा भने ‘हिज म्याजेस्टी’ उल्लेख हुने जनाइएको छ । इंग्ल्यान्ड र वेल्सका प्रहरीको हेल्मेट प्लेटमा अब एलिजावेथको सट्टा चाल्सको तस्बिर अंकित हुनेछ ।

हाल बेलायतको राष्ट्रगानमा ‘ईश्वरले महारानीको रक्षा गर्नेछन्’ उल्लेख छ । चार्ल्स ले आधिकारिक रूपमा राजगद्दी सम्हालेपछि सेन्ट जोसेफ प्यालेसको बालकोनीबाट नयाँ राष्ट्रगान सार्वजनिक गर्नेछन् । जसमा ‘ईश्वरले राजाको रक्षा गर्नेछन्’ उल्लेख हुनेछ । पछिल्लो पटक सन् १९५२ सम्म मात्रै राष्ट्रगानमा उक्त वाक्य समेटिएको थियो ।

प्रकाशित : भाद्र २४, २०७९ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?