२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

‘रुसविरुद्धका प्रतिबन्धले युरोपेली जनजीवन मारमा’

रूसलाई एक्ल्याउन खोज्ने प्रयास कुनै पनि हालतमा सम्भव नहुने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ
एजेन्सीहरू

मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धको निन्दा गर्दै त्यसले युरोपलाई मारमा पारेको बताएका छन् । आफ्नो देशविरुद्धका प्रतिबन्ध ‘जोखिममा पार्ने ज्वरो’ भएको उनको भनाइ छ ।

‘रुसविरुद्धका प्रतिबन्धले युरोपेली जनजीवन मारमा’

रुसको भ्लादिभोस्तोकमा आयोजित पूर्वी आर्थिक मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै पुटिनले रुस पश्चिमाहरूको आर्थिक प्रहारसँग जुधिरहेको बताए । तर प्रतिबन्धका नाममा युरोपेलीको गुणस्तरीय जीवनयापनको अवस्थाको अन्त्य भएको र गरिब देशहरूले खानेकुरामा पहुँच गुमाएको रुसी राष्ट्रपतिको भनाइ छ ।

पुटिनको चेतावनीका बाबजुद युरोपेली संघको कार्यकारी नियकाले भने रुसी इन्धन आयातमा सीमा तोक्ने प्रस्ताव गरेको छ । ‘पुटिनले क्रुर युद्धका लागि लगानी जुटाउने भएकाले हामीले रुसको राजश्व घटाउनै पर्छ,’ युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लिएनले भनेकी छन् ।

युक्रेनको अन्नका विषयमा युरोपेली मुलुकले गरिब देशहरूलाई छल गरेको पुटिनको दाबी छ । रुसी फौजले कैयौं महिनासम्म युक्रेनको समुद्री बन्दरगाहलाई नाकाबन्दी गरेका थिए । तर अगस्ट सुरुमा निर्यात थालिएपछि खाद्यान्न बोकेका दुईवटा मात्र पानीजहाज अफ्रिकातर्फ गएका जनाइएको थियो । त्यसबारे प्रतिक्रिया दिँदै पुटिनले भने, ‘तर वास्तविकता त्यस्तो होइन ।’ यसबारेको सम्झौताका विषयमा आफू पुनः छलफल गर्न खोजेको पुटिनले बताए । तर युक्रेनले उक्त दाबी आधारहीन भएको जनाएको छ । युक्रेने उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) संलग्न हुने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा रुसले आक्रमण सुरु गरेको हो । त्यसयता रुसले करिब २० प्रतिशत युक्रेनी भूभाग कब्जा गरिसकेको छ । पछिल्लो समय रुस युक्रेनी राजधानी किभ र उत्तरी क्षेत्रबाट पछि हटेको जनाइएको छ । दक्षिण र पूर्वमा युक्रेनी फौजले रुसी सेनालाई भगाउन भीषण आक्रमणहरू गरेका जनाइएको छ ।

रुसले आक्रमण सुरु गरेसँगै पश्चिमा देशहरूले रुसी राजनीतिज्ञ, नागरिक, व्यवसायी र राज्यद्वारा सञ्चालित कम्पनीहरूमाथि प्रतिबन्ध लगाएका थिए । रुसले प्राविधिक कारण देखाउँदै जर्मनीसँग जोडिएको मुख्य नर्डस्ट्रिम–१ पाइपलाइन बन्द गरिदिएपछि युरोपेली संघले रुसी ग्यास र तेलको निर्भरता कम गर्ने उपाय खोजिरहेको छ । पाइपलाई बन्द भएसँगै जसका कारण ऊर्जाको मूल्य अकासिएको छ ।

ऊर्जा संकट अन्त्य गर्न वैकल्पिक उपायको खोजी गर्न युरोपेली संघका मन्त्रीहरूले शुक्रबार छलफल गर्दै छन् । रुसी ग्यासको मूल्यमा सीमा तोक्ने प्रस्ताव मूर्खतापूर्ण भएको भन्दै पुटिनले कडा आलोचना गरेका बीबीसीले जनाएको छ । पश्चिमा देशले अन्य देशमाथि आफ्नो व्यवहार लाद्न खोजेको पुटिनको आरोप छ ।

रुसमाथिको प्रतिबन्धको असर युरोपले पनि खेपिरहेको पुटिनको भनाइ छ । यद्यपि, त्यसको असर रुसमा पनि परेको छ । पछिल्लो समय रुसमा महँगी बढेको छ भने विभिन्न कम्पनीले आफूलाई अत्यावश्यक पार्टपुर्जा आयात गर्न नपाएका जनाइएको छ । कार्यक्रममा सम्बोधन गर्दै पुटिनले मानिसहरूको आँखै अगाडि अमेरिकी डलर, पाउन्ड र युरोप्रतिको विश्वास खस्किरहेको बताएका छन् । रुसले केही नगुमाएको र नगुमाउनेमा आफू ढुक्क रहेको पुटिनको भनाइ छ । ‘कसैले रुसलाई जति एक्ल्याउन खोजे पनि त्यो सम्भव छैन,’ पुटिनले भने ।

तर रुसले आफ्नो ऊर्जा स्रोतका आधारमा युरोपलाई धम्क्याइरहेको युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाको दाबी छ । ‘पुटिनले युरोपका हरेक घरको स्थिरता र स्वास्थ्य बिगार्ने प्रयास गरिरहेका छन्,’ उनले भने । कार्यक्रममा चिनियाँ नेता ली झान्सुले पनि सहभागिता जनाएका बताइएको छ । राष्ट्रपति पुटिनले अर्को साता उज्वेकिस्तानमा चिनियाँ समकक्षी सी चिनफिङसँग भेटवार्ता गर्ने जनाइएको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता दुई नेताबीचको यो पहिलो भेट हुनेछ ।

प्रकाशित : भाद्र २३, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?