कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रधानमन्त्रीको दौडमा ट्रस अगाडि

पार्टी सदस्यहरुमाझ गरिएको सर्वेक्षणमा ४७ वर्षीया विदेशमन्त्री लिज ट्रसले स्पष्ट जित हासिल गर्ने देखिएको छ
नवीन पोखरेल

लन्डन — बेलायतले झन्डै २ महिनापछि आज नयाँ प्रधानमन्त्री पाउँदै छ । सत्तारूढ कन्जरभेटिभ पार्टीको नेता छान्नका लागि सुरु मतदान प्रक्रिया गत शुक्रबार बन्द भएको हो । त्यसको औपचारिक घोषणासँगै प्रधानमन्त्री को हुने भन्ने निश्चित हुनेछ ।

प्रधानमन्त्रीको दौडमा ट्रस अगाडि

संसद्मा बहुमत सदस्य रहेको कन्जरभेटिभ दलको नेता नै बेलायतको प्रधानमन्त्री हुन्छन् । दुई प्रतिस्पर्धी पूर्वअर्थमन्त्री ऋषि सुनाक र विदेशमन्त्री लिज ट्रसमध्ये एकजना पार्टी नेता चुनिएसँगै प्रधानमन्त्रीका रूपमा टेन डाउनिङ स्ट्रिट प्रवेश गर्नेछन् । टोरी सदस्यहरूको सर्वेक्षणमा ४७ वर्षीया विदेशमन्त्री ट्रसले स्पष्ट जित हासिल गर्ने देखिएको छ ।

पार्टीका ३ सय ५८ सांसदमध्ये ४२ वर्षीय सुनाकले १ सय ३७ मत पाएर पहिलो स्थान बनाएका थिए भने ट्रसले १ सय १३ मत पाएकी थिइन् । सदस्यहरूमाझ भने सुनाकभन्दा ट्रसले मन जितेको सर्वेक्षण बेलायती अखबारहरूले लेखेका छन् ।

ट्रसले आफू शक्तिमा आए आपत्कालीन बजेटमार्फत अर्बौं पाउन्ड कर कटौती गर्ने वाचा गरेकी छन् । निवर्तमान अर्थमन्त्री सुनाकले ऊर्जा बिलमा एक वर्षका लागि भ्याट कटौती गर्ने तर स्थायी कर कटौती भने मुद्रास्फीति तल नझरेसम्म कुर्नुपर्ने बताएका छन् ।

बेलायती महारानीले मंगलबार औपचारिक रूपमा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने कार्यक्रम छ । ९६ वर्षीया महारानी एलिजाबेथ अहिले समरमा बालमोरल क्यासल स्कटल्यान्डमा रहेकाले नयाँ प्रधानमन्त्रीले बकिङहम दरबारको साटो त्यता गएर नियुक्ति लिने जनाइएको छ ।

कामचलाउ प्रधानमन्त्री बोरिस जोन्सनले महारानीसमक्ष राजीनामा पेस गर्न स्कटल्यान्ड जानुअघि मंगलबार बिहान सम्बोधन गर्ने अनुमान गरिएको रोयटर्सले जनाएको छ । त्यसपछि सुनाक वा ट्रसमध्ये एकले महारानीलाई भेटेर नयाँ सरकार गठनका लागि आग्रह गर्नेछन् । महारानी एलिजाबेथको राजगद्दीको ७० वर्षे इतिहासमा १४ जना प्रधानमन्त्री फेरिइसकेका छन् । सन् २०१९ को आमनिर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका जोन्सन नयाँ प्रधानमन्त्री घोषणासँगै बाहिरिनेछन् ।

जुलाई मध्यतिर प्रधानमन्त्री जोन्सनका कोभिड नियम उल्लंघनलगायत विभिन्न विवाद बाहिरिएपछि क्याबिनेट मन्त्रीहरूले विद्रोह गरेपछि राजीनामा घोषणा गर्न बाध्य भएका थिए । जोन्सन सन् २०१९ को जुलाई २४ मा प्रधानमन्त्री निर्वाचित भएका थिए । उनी २०१६ को जुलाई १३ देखि २०१८ को जुलाई ९ सम्म विदेशमन्त्री बनेका थिए । सन् २०१५ मेमा अक्सब्रिज एन्ड साउथ रइसलिप क्षेत्रबाट सांसद निर्वाचित जोन्सन त्यसअघि जुन २००१ देखि जुन २००८ सम्म हेन्लीबाट सांसद बनेका थिए । उनी लन्डनका पूर्वमेयर पनि हुन् ।

जोन्सनको राजीनामा घोषणापछि नयाँ नेताका लागि प्रक्रिया सुरु भएको थियो । सुरुमा ८ जना उम्मेदवार मैदानमा उत्रिए पनि अन्तिम चरणमा दुई जना बाँकी छन् । जुलाई २८ देखि अगस्ट ३१ सम्म दुई प्रतिस्पर्धीले विभिन्न सहरमा गएर पार्टी सदस्यमाझ प्रधानमन्त्रीका लागि आफू योग्य रहेको विश्वास दिलाउने प्रयत्न गरेका थिए ।

कन्जरभेटिभ पार्टीले मतदानका लागि योग्य सदस्यको संख्याबारे भने केही उल्लेख गरेको छैन । तर बेलायती अखबारहरूले त्यस्ता सदस्यको संख्या कम्तीमा एक लाख ६० हजार रहेको जनाउँदै आएका छन् । नयाँ प्रधानमन्त्रीका सामु अनेक चुनौती देखिएका छन् ।

मुद्रास्फीति १३.३ प्रतिशतमा पुग्ने र आर्थिक मन्दी हुने केन्द्रीय बैंकको प्रक्षेपण छ । बेलायतको मुद्रास्फीति ४० वर्षयताकै उच्च १०.१ प्रतिशत पुगेको छ । खाद्यान्न तथा ऊर्जाको चरम मूल्यवृद्धिले जनता आजित छन्  । बेलायतमा अर्को वर्षको सुरुमा वार्षिक औसत घरको ऊर्जा बिल एक हजार ९ सय ७१ पाउन्डबाट बढेर ४ हजार २ सय ६६ पाउन्ड पुग्ने भविष्यवाणी गरिएको छ । यस्तो अवस्थाबीच नयाँ बन्ने प्रधानमन्त्रीले आफ्नो कार्यकाल सफल बनाउन निकै कठिन देखिन्छ ।

प्रकाशित : भाद्र २०, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?