कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अस्ट्रेलियाले स्थायी आप्रवासी बढाउने

सीप तथा रोजगार सम्मेलन/विद्यार्थीलाई अझै एक वर्षसम्म पूरा समय काम गर्न दिइने
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले स्थायी आप्रवासीको संख्या २० प्रतिशतले बढाउने र विद्यार्थीलाई अझै एक वर्षसम्म पूरा समय काम गर्न दिने भएको छ । पछिल्लो समय देखिएको कामदार अभाव अन्त्य गर्नका लागि सरकारले पछिल्लो निर्णय गरेको हो ।

अस्ट्रेलियाले स्थायी आप्रवासी बढाउने

राजधानी क्यानबेरामा आयोजित राष्ट्रिय सीप तथा रोजगार सम्मेलनले पूर्ण रोजगारीको अवस्था कायम राख्दै उत्पादकत्व वृद्धि गर्ने, महिलाका लागि समान अवसर र तलबको व्यवस्था गर्ने, आप्रवासी संख्यालाई पुनर्मूल्यांकन गर्ने, मुद्रास्फीतिअनुसार ज्यालावृद्धि गर्नेलगायतका निर्णय गरेको हो । सम्मेलनपछि प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा विभिन्न ८ प्रमुख विषयमा सहमति भएको उल्लेख छ । सेवानिवृत कर्मचारीलाई काममा फर्काउने, स्थायी आप्रवासी संख्या आगामी वर्षका लागि ३५ हजारले बढाउने, एक अर्ब डलर बराबरको निःशुल्क शिक्षा उपलब्ध गराउनेलगायत निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

सम्मेलनमा उद्योगी व्यवसायी, कामदारलाई प्रतिनिधित्व गर्ने संस्था, सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारी अधिकारी सहभागी भएका थिए । अस्ट्रेलियामा गत मेमा भएको चुनावमा निर्वाचित भएको खण्डमा सीप तथा रोजगार सम्मेलन आयोजना गर्ने तत्कालीन विपक्षी दल लेबरले चुनावी एजेन्डा अघि सारेको थियो ।

पछिल्लो समय अस्ट्रेलियमा बेरोजगार दर करिब ३.५ प्रतिशत छ । स्वास्थ्य, शिक्षालगायत विभिन्न व्यवसायमा कामदारको चर्को अभाव देखिएसँगै सम्मेलनको आवश्यकतासमेत महसुस गरिएको थियो । कोरोना महामारीलगत्तै सीमा बन्द गरिएका कारण आप्रवासी आउन नपाएका कारण बढेको कामदार अभाव अझै उस्तै छ । त्यसका साथै महिलाका लागि पनि पुरुषसरह समान तलब र अवसर उपलब्ध गराउनुपर्ने, दैनिक जीवनयापनको खर्च बढे पनि त्योअनुसारको तलब वृद्धि हुनुपर्ने आवाजसमेत उठिरहेको छ । सम्मेलनले त्यस्ता मागलाई केही हदसम्म सम्बोधन गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अस्ट्रेलियामा देखिएको कामदार समस्या समाधान गर्न प्रत्येक वर्ष १ लाख ६० हजार आप्रवासीलाई स्थायी बासिन्दाको अनुमति दिँदै आएको छ । तर यस वर्षका लागि यो संख्या १ लाख ९५ हजार बनाइएको छ । सेवानिवृत्त कर्मचारीले काममा फर्किन चाहेमा उनीहरूले पाउने पेन्सन कट्टा नहुने गरी थप ४ हजार डलरसम्मको कामका लागि अवसर प्रदान गरिने भएको छ ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ४ लाख ६५ हजारलाई व्यावसायिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था (टेफ) मा निःशुल्क शिक्षा लिनका लागि एक अर्ब डलर बराबरको शैक्षिक कार्यक्रमको घोषणा गरिएको छ । सम्मेलनपछि अस्ट्रेलियास्थित ट्रेजरी विभागले सार्वजनिक गरेको पूर्ण विवरणमा भिसा प्रक्रियामा भइरहेको ढिलाइ कम गर्न ३ करोड ६० लाख डलरको थप रकम व्यवस्था गरिएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अस्ट्रेलियाली अर्थतन्त्र बलियो पार्न सम्मेलनले उल्लेखनीय भूमिका खेलेको दाबी गरेका छन् । सम्मेलनले अस्ट्रेलियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विज्ञहरूको भनाइ छ ।

प्रकाशित : भाद्र २०, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?