१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुनर्निर्माणको प्रतीक्षामा वाराणसीको पशुपतिनाथ क्षेत्र

भारतले ३४० करोडमा काशी विश्वनाथ मन्दिर करिडोर फराकिलो र आकर्षक बनाइसक्दा पनि त्यही रहेको नेपाली मन्दिर क्षेत्र जीर्ण
राजेश मिश्र

वाराणसी, उत्तरप्रदेश — उत्तरप्रदेशको वाराणसीस्थित काशी विश्वानाथ मन्दिर परिसर करिडोर छोटो समयमै निर्माण भइसक्दा पनि त्यहाँ रहेको पशुपतिनाथ मन्दिर, धर्मशाला तथा वृद्धाश्रमको काम भने अलपत्र परेको छ ।

पुनर्निर्माणको प्रतीक्षामा वाराणसीको पशुपतिनाथ क्षेत्र

नेपाल सरकार मातहत रहेको उक्त क्षेत्रमा भारत सरकारले हात हालेको छैन । त्यस क्षेत्रको पुनर्निर्माणको जिम्मा नेपालकै हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा गत चैतमा बेलो वृद्धाश्रम पुनर्निर्माणको शिलान्यास गरेका थिए । प्रधानमन्त्रीले नै शिलान्यास गरेपछि काम छिटो होला भन्ने धेरैलाई आशा थियो । तर, ६ महिना बितिसक्दा पनि कामको सुरसार छैन । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा प्रधानमन्त्री देउवाले वृद्धाश्रम निर्माणका लागि भूमि पूजनसमेत गरेपछि निर्माण कार्य छिटो होला भन्ने सोचेका वाराणसीका नेपाली सरकारी ढिलासुस्तीले निराश छन् ।

श्री साम्राज्येश्वर पशुपतिनाथ मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रस्ट) का महासचिव प्राध्यापक डा. गोपालप्रसाद अधिकारी वाराणसीमा रहेको नेपालको ऐतिहासिक सम्पत्ति संरक्षणको दायित्व नेपाल सरकारको रहेको बताउँछन् । ‘सञ्चालनमा रहेको वृद्धाश्रम जीर्ण भएर भत्किएपछि त्यही स्थानमा पुनर्निर्माणको प्रयास थालेका हौं, प्रधानमन्त्रीज्यूले भूमि पूजा पनि गर्नुभएको हो,’ उनले भने, ‘तर, निर्माणमा भइरहेको ढिलाइले जग हँसाई भइरहेको छ ।’ लावालस्करसहित आएका प्रधानमन्त्रीले शिलान्यास गरेको ६ महिनामा पनि काम सुरु नभएपछि भारतीय नागरिकले समेत प्रश्न उठाउन थालेका उनको भनाइ छ ।

‘निर्माणको काम सुरु गर्न दिल्लीस्थित दूतावास तथा काठमाडौंस्थित पुरातत्त्व विभाग, पर्यटन मन्त्रालयदेखि बालुवाटारसम्मलाई ताकेता गर्दै आएका छौं । तर पनि प्रगति भएको छैन,’ उनले भने ।

हिन्दुहरूको पवित्र धार्मिकस्थलमध्येको महत्त्वपूर्ण स्थल हो– वाराणसीको गंगा किनारमा रहेको काशी विश्वनाथको मन्दिर । भगवान् शिवका १२ ज्योतिर्लिंगमध्येको एउटा यहाँ रहेको मानिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा विश्वनाथ मन्दिर करिडोरको पुनर्निर्माण गरिएको हो । ३२ महिनामा ३ सय ४० करोड भारतीय रुपैयाँमा मन्दिरको करिडोरलाई विशेष बनाइएको छ । मोदीले गत डिसेम्बरमा यस क्षेत्रको उद्घाटन गरेका थिए ।

करिडोर फराकिलो बनाउन नजिकैका करिब ४ सय निजी घर र सयौं अन्य स–साना मन्दिरसमेत भत्काइएको छ । सरकारले निजी घरहरू खरिद गरेको थियो । त्यही क्रममा नेपाली पशुपतिनाथ मन्दिर भत्काइने चर्चा पनि चलेको थियो । तर, नेपालीहरूको विरोधपछि त्यसलाई जोगाइएको हो । तर, छेवैमा भइरहेको पुनर्निर्माण र त्यसमा प्रयोग भएका मेसिनहरूका कारण पशुपति मन्दिर परिसरका संरचनामा क्षति पुगिसकेको छ ।

पशुपतिनाथ मन्दिरका व्यवस्थापक रोहितकुमार ढकाल यस क्षेत्रको संरक्षण आवश्यक रहेको बताउँछन् । ‘वृद्धाश्रम क्षतिग्रस्त भएपछि यहाँ रहेका ३० जना वृद्धवृद्धालाई धर्मशालामा सारेका छौं,’ उनले भने, ‘धर्मशाला पनि कमजोर नै छ । यहाँ संस्कृत पढ्ने विद्यार्थी छन् ।’ वृद्धाश्रम भत्केर धर्मशालामा बस्दै आएकी गोरखा आरुघाटकी ७५ वर्षीया कृष्णादेवी लामिछानेले ठाउँ नपुगेर आफूहरूको बास अस्पतालको जस्तो हुन पुगेको बताउँछिन् । ‘नेपाल सरकारको ध्यान पुग्छ कि, अप्ठ्यारोमा नै मर्नुपर्ने हो, थाहा छैन,’ उनले दुखेसो पोखिन् ।

सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका प्राध्यापक हरिप्रसाद अधिकारी भारत सरकारले काशी विश्वनाथ मन्दिरको सम्पूर्ण क्षेत्रलाई विशेष आकर्षणसहित पुनर्निर्माण गरेको अवस्थामा त्यही परिसरमा रहेको नेपाली मन्दिर र अन्य भवन पुरानै हालतमा रहनु लज्जाको विषय भएको बताउँछन् । उनी पशुपतिनाथ मन्दिर ट्रस्टका उपाध्यक्ष पनि हुन् ।


काशी विश्वनाथ परिसरमा नेपालको भूमि रहेको र यहाँको पशुपतिनाथ नेपालकै मन्दिरका रूपमा प्रख्यात रहेकाले त्यस क्षेत्रलाई भारतले पनि जोगाइदिएको उनको भनाइ छ । ‘पशुपतिनाथ मन्दिरको क्षेत्र जति बलियो र आकर्षक रूपमा पुनर्निर्माण हुन्छ भविष्यका पुस्ताका लागि नेपाल र भारतको धार्मिक–सांस्कृतिक र सामाजिक सम्बन्ध त्यसैअनुसार बुझ्नलाई मद्दत पुग्छ,’ उनले भने ।

हिन्दुहरूको पवित्रस्थल काशी विश्वनाथमा पृथ्वीनारायण शाहदेखि नै राजाहरूको आउजाउ रहेको श्री रामानुज दर्शन महाविद्यालयका प्राचार्यसमेत रहेका प्राध्यापक अधिकारीले बताए । नेपालका राजाले काशीका नरेशसँग यस क्षेत्रमा ८ कट्ठा जग्गा खरिद गरेका थिए । विसं. १८०० को आसपासमा तात्कालीन राजा रणबहादुर शाहले संन्यास लिएपछि यहीं बसेका थिए । उनका तीन जना श्रीमती साम्राज्येश्वरी, राजराजेश्वरी र ललितागौरीका नाममा यहाँ स्थलहरूको निर्माण गरिएको हो ।

साम्राजेश्वर पशुपतिनाथ मन्दिर, गंगा किनारको ललिता घाट र राजराजेश्वरीका नाममा देवीको मन्दिर स्थापित छ । गंगाको किनारमा अवस्थित यो क्षेत्र खुम्चिँदै गएर अहिले २ कट्ठा आसपासमा सीमित छ । रणबहादुरका नाति राजेन्द्र शाहले साढे तीन सय वर्षअघि पशुपतिनाथ मन्दिरको निर्माण गराएको बताइन्छ । आधुनिककालमा राजाहरूको आउजाउ घट्दै गएपछि यस क्षेत्रको संरक्षण हुन सकेन । एक जना भारतीय पण्डाले पुस्तौंपुस्तासम्म यस क्षेत्रमाथि आफ्नो नियन्त्रण राखेका थिए ।

२०४६ सालमा बहुदल आएपछि वाराणसीमा रहेका नेपालीहरूको प्रयासमा यस क्षेत्रलाई पुनः नेपाल सरकारको नियन्त्रणमा ल्याइएको थियो । त्यसका लागि कब्जा जमाएर बसेका पण्डालाई कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला नेपाल सरकारले एक लाख रुपैयाँ दिएको थियो । सन् २००० बाट मन्दिरसँगैको एउटा घर १२ लाखमा खरिद गरेर वृद्धाश्रम चलाइएको प्राध्यापक अधिकारी बताउँछन् ।

विशुद्ध नेपाली शैलीको वृद्धाश्रम बनाउने डिजाइनसमेत गराइसकिएको र त्यसका लागि १० करोड भारु लाग्ने अनुमान गरिएको अधिकारीले सुनाए । ‘अहिलेकै अवस्थामा राखिरहने हो भने नेपालको बदनामी हुन्छ, आफ्नो सम्पत्तिको संरक्षण नेपालले नै गर्नुपर्छ,’ उनले भने । मन्दिर परिसरको पुनर्निर्माणले इतिहासको संरक्षण मात्रै नभई नेपाललाई चिनाउन मद्दत पुग्ने अधिकारीले बताए ।

प्रकाशित : भाद्र १९, २०७९ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?