लुफ्थान्सा एयरका पाइलटहरूद्वारा हडताल, ८ सय उडान प्रभावित

ददि सापकोटा

पेरिस — जर्मन ध्वजावाहक लुफ्थान्सा एयरका पाइलटहरूले थप तलब सुविधाको माग गर्दै हडताल गर्दा शुक्रबार करिब ८ सय उडान रद्द भएका छन् । माफ्ना माग पूरा नभए हडताल सप्ताहान्तभर जारी रहने पाइलटलटहरूले चेतावनी दिएका छन् ।

लुफ्थान्सा एयरका पाइलटहरूद्वारा हडताल, ८ सय उडान प्रभावित

आफूहरूको तलब कम भएकाले बढाउन माग गर्दा कम्पनीले नबढाएपछि हडताल गर्न बाध्य भएको जर्मन पाइलटहरूको एसोसिएसनको भनाइ छ । पाइलट युनियन भेरिनिगुङ ककपिट (भीसी) ले कम्पनीसँगको सहमतिका लागि वार्ता गरेको तर सहमति नभएपछि बिहीबार राति हडतालको आह्वान गरेको हो ।

शुक्रबारको हडताल यात्रुवाहक एयरलाइन्सका पाइलटहरूले मात्रै नभएर लुफ्थान्सा एयरको कार्गो डिभिजनका पाइलटहरूले समेत गरेका हुन् ।

पाइलटहरूले बिहीबार मध्यरात लगत्तै चौबिसै घण्टा बन्द गर्नेगरि योजनाबद्ध हडताल सुरु गरेका हुन्। गर्मी यामको छुट्टी सक्किनै लागेका बेला विमान हडताल भएकाले जर्मनीभित्र मात्रै नभएर युरोपका विभिन्न सहरमा छुट्टी मनाउन गएका हजारौं यात्रुलाई समेत मर्का परेको अधिकारीहरूले बताएका छन् ।

क्याबिन क्रु र अन्य कर्मचारीको पटक पटकको हडताल र कर्मचारी अभावले लुफ्थान्सा लगायत आधा दर्जनभन्दा बढी एयरलाइन्सलाई यस गर्मीमा हजारौं उडानहरू रद्द गर्न बाध्य पारेको छ।

गत महिना पनि जर्मन एयरलाइन्स लुफ्थान्साले ग्राउन्ड स्टाफसँग तलब सम्झौता गरेको थियो । त्यसबेला पाइलटहरूको तलब भने बढाइएको थिएन ।

तर कर्मचारी अभावको कारण देखाउँदै लुफ्थान्सा एयरले २६ मार्च २०२३ देखि तालिकामा राखिसकेका केही उडानहरू रद्द गर्ने जनाएको छ ।

जर्मन पाइलट युनियन भेरिनिगुङ ककपिट (विकी) का अनुसार पाइलट र कम्पनीबीच तलब बढाउने विषयमा पटक पटक वार्ता भए पनि असफल भएको छ ।

यस्तै भीसीले यो वर्ष ५ दशमलव ५ प्रतिशत तलब वृद्धि गर्नुपर्ने र त्यसपछि ५ हजारभन्दा बढी पाइलटलाई मुद्रास्फीति अनुसार स्वतस्फूर्त रुपमा क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।

बुधबार, लुफ्थान्साको सहायक कम्पनी युरोविङ्सका पाइलटहरूले हडताल गर्ने पक्षमा मतदान गरेका थिए । उनीहरूले हडताल गरे पनि कम्पनीको ब्यवस्थापकीय पक्षसित तलब वृद्धिका लागि वार्ता जारि राख्ने बताएका छन् ।

कम पारिश्रमिक, चर्को महँगी र कर्मचारी अभावले कामको अवस्था कठिन भएको लगायत विषयमा ब्रिटिस एयर, एयर फ्रान्स, इजिजेट, रायन एयर लगायत युरोपेली कम्पनीका एयरपोर्ट कर्मचारीहरूले हडताल जारी राखेका छन् ।

लुफ्थान्साले पाइलटहरूको हडतालको प्रभावलाई न्यूनीकरण गर्ने र तलब वार्ताको क्रममा आफ्नो प्रस्तावको बचाउ गर्न खोजेको छ ।

लुफ्थान्साको कार्यकारी समितिका सदस्य मिशेल निग्गेमानले कम्पनीले वार्ताको क्रममा सन्तुलित प्रस्ताव राखेको र पाइलटहरूको हडतालले हजारौं यात्रुहरूलाई असुविधा हुने प्रतिक्रिया दिएका छन् ।

लुफ्थान्साले १८-महिनाको अवधिमा दुई चरणमा गरेर प्रति महिना न्यूनतम तलबमा कुल ९ सय यूरो थपको प्रस्ताव गरिसकेको छ । साथै हरेक उडानका लागि ककपिट कर्मचारीहरूको न्यूनतम संख्या तोक्ने सम्झौता पनि गरेको थियो ।

कम्पनीले पछिल्लो १८ महिनाको तलबको आधारमा पाइलटहरूको करियरको सुरुमै १५ प्रतिशत र अनुभवी कप्तानका लागि ५ प्रतिशत वृद्धि हुने बताएको छ।

एयरलाइन्सले विसीको मागहरूले ककपिटमा स्टाफको लागत ४० प्रतिशतले बढाउने हुँदा यो वृद्धिलाई अव्यावहारिक भनेको छ । पाइलटहरूले कोरोनाभाइरस महामारीको प्रभावलाई ध्यान नराखि आफ्नो फाइदा मात्रै हेरेको गुनासो पनि कम्पनीको छ ।

प्रकाशित : भाद्र १७, २०७९ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?