अन्तर्राष्ट्रिय सहयोग खोज्दै पाकिस्तान- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय सहयोग खोज्दै पाकिस्तान

एजेन्सीहरू

इस्लामाबाद — लगातारको वर्षापछि आएको बाढीपहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । पाकिस्तानमा गत जुनयता आएको बाढीपहिरोका कारण १ हजार ३३ जनाको मृत्यु भइसकेको छ ।

तीमध्ये १ सय १९ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीले जनाएका छन् । बाढीका कारण दसौं हजार विस्थापित भएका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्सलगायत देशहरूले पाकिस्तानका लागि सहयोग उपलब्ध गराएका बीबीसीले जनाएको छ । तर मन्त्रालयका अधिकारी दसौं हजार विस्थापित भएको सल्मान सुफीले अझ धेरै स्रोतको आवश्यकता रहेको बताएका छन् ।

सरकारले सम्भव भएसम्म बाढी प्रभावितलाई सहयोग गरिरहेको उनको दाबी छ । ‘पाकिस्तानले पछिल्लो समय आर्थिक समस्याको सामना गरिरहेको छ । आर्थिक समस्या समाधान गर्ने प्रयास भइरहेका बेला बर्खायामको विपद्ले थप संकट थपिएको छ,’ बीबीसीसँग कुरा गर्दै उनले भने । देशको उत्तर–पश्चिम प्रान्त खैबर पख्तुन्ख्वामा नदीका तटबन्धहरू भत्किएपछि शक्तिशाली बाढी आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जसका कारण हजारौं मानिस घर छाडेर भाग्न बाध्य भएका छन् ।

‘वर्षौंदेखिको कडा मिहिनेतले बनाएको घर आँखैअगाडि डुब्यो,’ २३ वर्षीय जुनैद खानले भने, ‘हामीले सडक किनारामा बसेर हाम्रो सपनाको घर डुबेको हेर्न बाध्य भयौं ।’ त्यसैगरी, दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौं मानिस विस्थापित भएका जनाइएको छ । अधिकारीहरूले अन्य विकास परियोजनाको बजेट रकमान्तर गरी बाढी प्रभावितलाई राहतको व्यवस्था गरिएको जनाएका छन् । सिन्ध प्रान्तमा सबैजसो गाउँका स्थानीय बाढीका कारण विस्थापित भएका छन् । बाढीले कारण भएको पूर्ण क्षतिबारे तथ्यांक संकलन भइरहेको जनाइएको छ । पाकिस्तानमा बाढी नौलो नभए पनि यसपटकको वर्षा र त्यसको असर फरक भएको बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले देशको करिब १५ प्रतिशत (३ करोड ३० लाख) जनसंख्या बाढीबाट प्रभावित भएको जनाएका छन् । यस वर्षको बाढी हालसम्मकै खराब भएको उनको भनाइ छ । पछिल्लो

समय देखिएको बाढीको क्षति अस्वाभाविक भएको र त्यसका लागि जलवायु परिवर्तन मुख्य कारक रहेको विज्ञहरू बताउँछन् ।

पाकिस्तानमा सन् २०१० को बाढीपहिरोका कारण २ हजार जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यतिबेला २० प्रतिशतभन्दा बढी पाकिस्तानी भूभाग जलमग्न भएको थियो ।

प्रकाशित : भाद्र १३, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्

कतारले किन गर्‍यो श्रमिकलाई देशनिकाला ?

ज्याला नपाएपछि विरोधमा उत्रेका नेपाल, भारत, बंगलादेश, फिलिपिन्स र इजिप्टका कामदार घर फर्काइए
एजेन्सीहरू

दोहा — कतारले ज्याला नपाएकोमा विरोधमा उत्रेका आप्रवासी कामदारलाई देशनिकाला गर्न सुरु गरेको छ । मंगलबार कम्तीमा ६० जना कामदारलाई देशनिकाला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । देशनिकाला गरिएकामध्ये अधिकांश कामदार नेपाली छन् ।ज्याला नपाएका श्रमिकहरूले दस दिनअघि निर्माण कम्पनी अल बन्दारी इन्टरनेसनल ग्रुपको दोहास्थित कार्यालयअगाडि विरोधर्‍याली गरेका थिए । तीमध्ये कतिपयले ७ महिनादेखि ज्याला नपाएको भन्दै आक्रोशित भएका थिए ।

तीमध्ये कतिपय कामदारलाई पक्राउ गरिएको थियो भने केहीलाई देशनिकाला गरिएको हो । आगामी नोभेम्बर महिनामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतार कामदारप्रति झन् आक्रामक बन्दै गएको भन्दै मानवअधिकारवादी संस्थाहरूले आपत्ति जनाएका छन् ।

मानवअधिकारवादी संस्था इक्विडेमले नेपाल, भारत, बंगलादेश, फिलिपिन्स र इजिप्टका श्रमिकलाई देशनिकाला गरिएको जनाएका छन् । ती श्रमिकहरूले ‘सुरक्षा कानुन तोडेको’ कतार सरकारको दाबी छ ।

कतारले सन् २०१० मा विश्वकप फुटबल आयोजना गर्ने अधिकार पाएपछि रंगशालालगायत पूर्वाधार निर्माणको काम तीव्र पारेको थियो । त्यसका लागि ठूलो संख्यामा विदेशी श्रमिक भित्र्याएको कतारले उनीहरूमाथि ‘अमानवीय’ व्यवहार गरेको भन्दै आलोचनन हुँदै आएको थियो ।

अल बन्दारी इन्टरनेसनल ग्रुप निर्माण तथा इन्जिनियरिङ क्षेत्रको प्रमुख कम्पनी हो । तर अगस्ट १४ मा गरिएको विरोधका क्रममा पक्राउ परेका वा मंगलबार देशनिकाला गरिएका कामदारहरू विश्वकप आयोजना हुने रंगशाला वा अन्य संरचना निर्माणमा संलग्न भए/नभएको भने प्रस्ट छैन ।

कतारी सरकारले दोहामा गरिएको विरोधमा संलग्न केही कामदारलाई ‘जनसुरक्षा कानुन तोडेको’ आरोपमा पक्राउ गरिएको स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । तीमध्ये विरोध प्रदर्शनलाई निरन्तरता दिन चाहने केही कामदारलाई देशनिकाला गरिने बताइएको हो । तर केही कामदारले कतार छाडिसकेका अधिकारवादी संस्थाहरूले बताएका छन् ।

कतार सरकारले भने मर्कामा परेका कामदारलाई तलब, भत्ता तथा पाउनुपर्ने अन्य सुविधा उपलब्ध गराइने जनाएको छ । यसअघि नै कामदारले दिएको उजुरीपछि अल बन्दारी इन्टरनेसनल ग्रुपमाथि अनुसन्धान भइरहेको कतार सरकारको दाबी छ । तलबभत्ता दिन उक्त कम्पनीलाई दिइएको समयसीमा नाघिसकेकाले कारबाही हुने सरकारको भनाइ छ ।

इक्विडेम संस्थाका प्रमुख मुस्तफा कादरीले विरोधमा उत्रिएका श्रमिकहरू नेपाल, भारत बंगलादेश, फिलिपिन्स र इजिप्टका रहेका पुष्टि गर्दै तीमध्ये कतिपय सम्पर्कमा रहेको जनाए । ‘उनीहरूले कुनै राजनीति गरेका थिएनन् । आफ्नो श्रमको ज्याला मागिरहेका थिए,’ उनले भने ।

यसअघि चर्को गर्मीका कारण कतारमा ज्यान गुमाउने श्रमिकको संख्या कतारले कम देखाएको भन्दै आलोचना भएको थियो । विश्व फुटबलको प्रशासक निकाय फिफालाई यसै वर्षको सुरुमा मानवअधिकार हनन बेहोरेका आप्रवासी श्रमिकहरूको क्षतिपूर्तिका निम्ति कम्तीमा ४४ करोड डलर बराबरको कोष स्थापना गर्न आह्वान गरिएको थियो ।

विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन फिफा र कतारमाथि दबाब जारी छ । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले पीडित आप्रवासी श्रमिकलाई यथाशीघ्र क्षतिपूर्ति दिने संयन्त्र बनाउन आग्रह गर्दै आएको छ ।

तर अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीको दबाबका बाबजुद विश्वकप फुटबल सुरु हुन ३ महिना बाँकी रहेका बेला श्रमिकको आधारभूत अधिकार भने अनिश्चित छ । सन् २०१० यता कतारमा १ हजार ८ सय ८४ श्रमिकको मृत्यु भइसकेको छ ।

प्रकाशित : भाद्र ९, २०७९ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×