१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चीनको बेइजिङमा 'राधा' फिल्म प्रदर्शन

दुई चिनियाँ चलचित्र नेपालमा छायांकन हुने, एउटा संयुक्त बन्ने ।
लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ चलचित्र निर्माताहरूले दुई वटा चिनियाँ चलचित्र नेपालमा गएर छायांकन गर्ने भएका छन् भने एउटा चलचित्र नेपालीसँगै मिलेर बनाउने भएका छन्।

चीनको बेइजिङमा 'राधा' फिल्म प्रदर्शन

‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२’ अन्तर्गत शुक्रबार बेइजिङमा आयोजित एक समारोहमा दुवै पक्षबीच सहमतिमा हस्ताक्षर भएको हो। चिनियाँ चलचित्र ‘डियर स्ट्रेन्जर’ र ‘लेट्स गो डान्सिङ इन नेपाल’ भन्ने चलचित्र नेपालमा छायांकन गरिने भएको हो। यसअघि चिनियाँ चलचित्र ‘तङ फङ लाई’ अर्थात् ‘अप टु विन्ड’ भन्ने चलचित्र नेपालमा छायांकन भएको थियो।

सहकार्य पत्रमा नेपालका तर्फबाट कार्यक्रमको समन्वय गरिरहेका डा.केशव बहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ युले हस्ताक्षर गरे।

यसैबीच चिनियाँ र नेपालीको संयुक्त चलचित्र भृकुटी निर्माण हुने भएको छ। नेपाल चीन ज्वाइन्ट भेन्चरमा यस्तो चलचित्र बनाउन लागिएको पहिलो पटक हो। यसअघि चिनियाँहरूले भारतीयसँगको सहकार्यमा बनाएको चलचित्र 'इन्टर द ड्र्यागन गर्ल' गत जुलाइदेखि चीनमा भित्रिएको छ। भृकुटी चलचित्र निर्माणका लागि ‘लेटर अफ इन्टेन्ट’ मा शुक्रबार नै हस्ताक्षर भएको हो।


बेइजिङमा नेपाली चलचित्र राधाको प्रथम प्रदर्शन

चीनको राजधानी बेइजिङमा पहिलो पटक नेपाली चलचित्र देखाइएको छ। नेपालमा शुक्रबार नै हलमा लागेको ‘द सिक्रेट अफ राधा’लाई बेइजिङमा पनि प्रदर्शन गरिएको हो। चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएसनको समन्वयमा बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल अर्गनाइजिङ कमिटीले सो चलचित्रको आधा भाग प्रदर्शन गरेको हो।

फेस्टिभल आयोजक कमिटिका सदस्य, हुनान रेडियो तथा टेलिभिजन ग्रुप, विभिन्न चिनियाँ संचारमाध्यमहरूको उपस्थितिमा नेपाली राजदूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुलीले नेपाल चीनबीच मित्रताको सुरूवात कलाबाटै भएको चर्चा गरे। उनले भने, ‘मञ्जुश्री, भृकुटी, अरनिको लगायत प्राचीन कलासाधकबाट नै नेपाल र चीनको मित्रताको जग बसालिएको छ। आधुनिककालमा पनि कलाद्वारा अझै फराकिलो मैत्री सम्बन्ध बनाउने बाटाहरू छन्।’

पराजुलीले सुवर्ण थापाको निर्देशनमा सृष्टि श्रेष्ठद्वारा अभिनित राधाको बेइजिङमा प्रदर्शनी भएबाट चलचित्र उद्योगबाट नेपाल चीन सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरे।

चलचित्र प्रदर्शनीपछि आयोजकले गरेको संक्षिप्त अन्तरक्रियामा नेपाली चलचित्रमा हुने तत्वहरू, नृत्य तथा नेपाली कला संस्कृतिबारे चिनियाँहरूले जिज्ञासा राखेका थिए।

आयोजक बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल अर्गनाइजिङ कमिटीले विश्वभरबाट डान्स भिडियोहरू संकलन गरिरहेको जनाएको छ। यसै सिलसिलामा चिनियाँ दर्शकले नेपाली चलचित्र हुने नृत्यपक्षमा ध्यान दिए। ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२’ अगस्त २८ सम्म चल्नेछ।

चलचित्र छायांकन तथा निर्माण सम्बन्धित सो समारोहमा अनलाइनबाट कलाकार आनी छोइङ डोल्मा र चलचित्र निर्देशक थापाले पनि फेस्टिभल र चिनियाँ दर्शकप्रति सद्भाव प्रकट गरेका थिए।

प्रकाशित : भाद्र १०, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?