कतारले किन गर्‍यो श्रमिकलाई देशनिकाला ?- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारले किन गर्‍यो श्रमिकलाई देशनिकाला ?

ज्याला नपाएपछि विरोधमा उत्रेका नेपाल, भारत, बंगलादेश, फिलिपिन्स र इजिप्टका कामदार घर फर्काइए
एजेन्सीहरू

दोहा — कतारले ज्याला नपाएकोमा विरोधमा उत्रेका आप्रवासी कामदारलाई देशनिकाला गर्न सुरु गरेको छ । मंगलबार कम्तीमा ६० जना कामदारलाई देशनिकाला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । देशनिकाला गरिएकामध्ये अधिकांश कामदार नेपाली छन् ।
ज्याला नपाएका श्रमिकहरूले दस दिनअघि निर्माण कम्पनी अल बन्दारी इन्टरनेसनल ग्रुपको दोहास्थित कार्यालयअगाडि विरोधर्‍याली गरेका थिए । तीमध्ये कतिपयले ७ महिनादेखि ज्याला नपाएको भन्दै आक्रोशित भएका थिए ।

तीमध्ये कतिपय कामदारलाई पक्राउ गरिएको थियो भने केहीलाई देशनिकाला गरिएको हो । आगामी नोभेम्बर महिनामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतार कामदारप्रति झन् आक्रामक बन्दै गएको भन्दै मानवअधिकारवादी संस्थाहरूले आपत्ति जनाएका छन् ।

मानवअधिकारवादी संस्था इक्विडेमले नेपाल, भारत, बंगलादेश, फिलिपिन्स र इजिप्टका श्रमिकलाई देशनिकाला गरिएको जनाएका छन् । ती श्रमिकहरूले ‘सुरक्षा कानुन तोडेको’ कतार सरकारको दाबी छ ।

कतारले सन् २०१० मा विश्वकप फुटबल आयोजना गर्ने अधिकार पाएपछि रंगशालालगायत पूर्वाधार निर्माणको काम तीव्र पारेको थियो । त्यसका लागि ठूलो संख्यामा विदेशी श्रमिक भित्र्याएको कतारले उनीहरूमाथि ‘अमानवीय’ व्यवहार गरेको भन्दै आलोचनन हुँदै आएको थियो ।

अल बन्दारी इन्टरनेसनल ग्रुप निर्माण तथा इन्जिनियरिङ क्षेत्रको प्रमुख कम्पनी हो । तर अगस्ट १४ मा गरिएको विरोधका क्रममा पक्राउ परेका वा मंगलबार देशनिकाला गरिएका कामदारहरू विश्वकप आयोजना हुने रंगशाला वा अन्य संरचना निर्माणमा संलग्न भए/नभएको भने प्रस्ट छैन ।

कतारी सरकारले दोहामा गरिएको विरोधमा संलग्न केही कामदारलाई ‘जनसुरक्षा कानुन तोडेको’ आरोपमा पक्राउ गरिएको स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । तीमध्ये विरोध प्रदर्शनलाई निरन्तरता दिन चाहने केही कामदारलाई देशनिकाला गरिने बताइएको हो । तर केही कामदारले कतार छाडिसकेका अधिकारवादी संस्थाहरूले बताएका छन् ।

कतार सरकारले भने मर्कामा परेका कामदारलाई तलब, भत्ता तथा पाउनुपर्ने अन्य सुविधा उपलब्ध गराइने जनाएको छ । यसअघि नै कामदारले दिएको उजुरीपछि अल बन्दारी इन्टरनेसनल ग्रुपमाथि अनुसन्धान भइरहेको कतार सरकारको दाबी छ । तलबभत्ता दिन उक्त कम्पनीलाई दिइएको समयसीमा नाघिसकेकाले कारबाही हुने सरकारको भनाइ छ ।

इक्विडेम संस्थाका प्रमुख मुस्तफा कादरीले विरोधमा उत्रिएका श्रमिकहरू नेपाल, भारत बंगलादेश, फिलिपिन्स र इजिप्टका रहेका पुष्टि गर्दै तीमध्ये कतिपय सम्पर्कमा रहेको जनाए । ‘उनीहरूले कुनै राजनीति गरेका थिएनन् । आफ्नो श्रमको ज्याला मागिरहेका थिए,’ उनले भने ।

यसअघि चर्को गर्मीका कारण कतारमा ज्यान गुमाउने श्रमिकको संख्या कतारले कम देखाएको भन्दै आलोचना भएको थियो । विश्व फुटबलको प्रशासक निकाय फिफालाई यसै वर्षको सुरुमा मानवअधिकार हनन बेहोरेका आप्रवासी श्रमिकहरूको क्षतिपूर्तिका निम्ति कम्तीमा ४४ करोड डलर बराबरको कोष स्थापना गर्न आह्वान गरिएको थियो ।

विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन फिफा र कतारमाथि दबाब जारी छ । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले पीडित आप्रवासी श्रमिकलाई यथाशीघ्र क्षतिपूर्ति दिने संयन्त्र बनाउन आग्रह गर्दै आएको छ ।

तर अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीको दबाबका बाबजुद विश्वकप फुटबल सुरु हुन ३ महिना बाँकी रहेका बेला श्रमिकको आधारभूत अधिकार भने अनिश्चित छ । सन् २०१० यता कतारमा १ हजार ८ सय ८४ श्रमिकको मृत्यु भइसकेको छ ।

प्रकाशित : भाद्र ९, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

रुसले जापोरिजा परमाणु केन्द्र निरीक्षण गर्न दिने

परमाणु केन्द्रबाट फौज हटाउनुपर्ने माग भने रुसद्वारा अस्वीकार
एजेन्सीहरू

मस्को — रुसले युक्रेनको जापोरिजा परमाणु केन्द्र निरीक्षणका लागि अनुमति दिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु केन्द्र निरीक्षण गर्न संयुक्त राष्ट्रसंघीय अधिकारीलाई अनुमति दिइने बताएका हुन् ।

पुटिनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँगको कुराकानीपछि रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले परमाणु केन्द्र निरीक्षणका लागि अनुमति दिने जनाएको हो । रुसले मार्च महिनाको सुरुदेखि परमाणु केन्द्र रहेको क्षेत्रमाथि नियन्त्रण कायम गरेको हो ।

केही दिनयता परमाणु केन्द्रनजिकै भीषण गोली हानाहान भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस क्रममा रुसी फौजले गरेको बमबारीका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ । परमाणु केन्द्रमा भने युक्रेनी प्राविधिकले रुसीहरूको निर्देशनमा काम गरिरहेका छन् ।

पुटिन र माक्रोंबीचको कुराकानीपछि जारी विज्ञप्तिमा क्रेमलिनले ‘परमाणु केन्द्रमा पहुँचका लागि राष्ट्रसंघीय अधिकारीलाई आवश्यक सहायता प्रदान गर्न पुटिन सहमत भएका’ जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) का विज्ञ पठाएर त्यहाँको अवस्थाबारे वास्तविक मूल्यांकन गरिने क्रेमलिनले जनाएको छ ।

निरीक्षणकर्तालाई प्रवेश अनुमति दिने बताए पनि त्यस क्षेत्रबाट फौज हटाउनुपर्ने माग भने रुसी अधिकारीले अस्वीकार गरेका छन् । रुसी विदेश मन्त्रालयको सूचना तथा प्रेस विभागले त्यस्तो कार्यले परमाणु केन्द्रको सुरक्षामा जोखिम थपिने जनाएको छ । आईएईएका महानिर्देशकले परमाणु केन्द्रमा अनुगमन गर्न दिने पुटिनको निर्णयको स्वागत गर्दै त्यहाँ जाने टोलीको नेतृत्व आफैंले गर्न खोजेको बताएका छन् । ‘अस्थिर र नाजुक अवस्थामा रहेको विश्वको ठूलोमध्येको परमाणु ऊर्जा केन्द्र थप जोखिममा पर्न सक्ने कदम रोकिनु आफैंमा निकै महत्त्वपूर्ण कुरा हो,’ रफायल ग्रोसीले भने ।

परमाणु केन्द्र परिसरलाई रुसी फौजले सैन्य आधारका रूपमा प्रयोग गरिरहेको युक्रेनी अधिकारीको दाबी छ । त्यहाँ रुसी फौजका सैन्य उपकरण, हतियार र करिब ५ सय सैनिक तैनाथ रहेका युक्रेनले जनाएको छ । त्यहाँ रहेको रुसी फौजले नजिकैका नगरमा आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरूको दाबी छ ।

यसअघि संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले परमाणु केन्द्रको अवस्थाबारे आफू निकै चिन्तित रहेको बताएका थिए । उनले जापोरिजा वरपरका स्थानमा सैन्य गतिविधि अन्त्य गरी अनुगमनकर्तालाई प्रवेश दिनका लागि रुससँग आग्रह गरेका थिए । राष्ट्रसंघीय महासचिव गुटेरेस र टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानसँगको बैठकमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले परमाणु केन्द्रमा रुसले नियतवश आक्रमण गरेको दाबी गरेका थिए ।

यसैबीच, रुसले राष्ट्रसंघीय सुरक्षा परिषद्लाई एक पत्र लैख्दै जापोरिजा परमाणु केन्द्रमा युक्रेनले उक्साहटपूर्ण व्यवहार गरेको उल्लेख गरेको बीबीसीले जनाएको छ । राष्ट्रसंघस्थित रुसी नियोगले परमाणु केन्द्रबाट रेडिएसन चुहावट भएको विषयलाई आफूहरूले सामान्य दुर्घटना ठानेको भए पनि युक्रेनले रुसमाथि परमाणु आतंकवादको आरोप लगाउने चेतावनी दिएको पत्रमा उल्लेख छ । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । आक्रमण सुरु भएको ५ महिना नाघिसकेको भए पनि तत्काल युद्ध रोकिने सम्भावना देखिएको छैन । रुसी आक्रमण सुरु भएयता कम्तीमा ५ हजार युक्रेनी सर्वसाधारणको ज्यान गइसकेको छ । ५ हजारभन्दा बढी घाइते भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

त्यस्तै, युद्धका कारण दुवै पक्षका हजारौं सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । ६९ लाख युक्रेनी विस्थापित भइसकेका छन् । तीमध्ये ५८ लाखले शरणार्थीका लागि विभिन्न देशमा आवेदन दिएका छन् । २१ लाख स्वदेश फर्किसकेका राष्ट्रसंघीय शरणार्थी निकायले जनाएको छ ।

प्रकाशित : भाद्र ५, २०७९ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×