चौतर्फी दबाबपछि फिनल्याण्डकी प्रधानमन्त्रीले गराइन् लागूऔषध परिक्षण

काठमाडौँ — फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिन मदिराले मातेर पार्टीमा नाच्दै गरेको भिडियो सार्वजनिक भएपछि उनको लागूऔषध परिक्षण गरिएको छ । गत शुक्रबार सार्वजनिक भिडियोमा उनी साथीहरूसँग मातेर नाच्दै गरेको दृश्य देखिएको थियो ।

चौतर्फी दबाबपछि फिनल्याण्डकी प्रधानमन्त्रीले गराइन् लागूऔषध परिक्षण

त्यसलगत्तै फिनल्याण्डका नेताहरूले उनीमाथि छानबिन गर्नुपर्ने भन्दै दबाब दिएका थिए । सोही अनुरुप मरिनले लागूऔषध सेवन गरेको वा नगरेको पत्ता लगाउन शुक्रबार ड्रग्स परिक्षण गरिएको हो ।

प्रधानमन्त्री मरिनले भने आफूले मदिरा सेवन गरे पनि लागूऔषध सेवन नगरेको बताएकी छन् । यस क्रममा उनले आफ्नो पनि निजी जीवन हुने र त्यस अवधिमा साथीहरूसँग रमाउँदा कानुन उल्लंघन नहुने भन्दै स्पष्टिकरण दिएकी थिइन् ।

'मैले आज लागूऔषध परिक्षण गराएँ । एक साताभित्र यसको नतिजा आउनेछ । मैले जीवनभर लागूऔषध प्रयोग गरेको छैन,’ उनले पत्रकारहरूसँग भनिन् ।

प्रधानमन्त्री मरिनले प्रसिद्ध कलाकारहरूसँग पार्टीमा मदिरा सेवन गरी नाचिरहेको भिडियो सार्वजनिक भएसँगै विश्वभर सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्री मरिनले भने उक्त भिडियो सार्वजनिक गरिएकोमा दुखी बनेको प्रतिक्रिया दिएकी छन् ।

यद्यपि लागूऔषध परिक्षण गर्नका लागि उनलाई विपक्षी दलसहित चौतर्फी दबाब आएको थियो । मरिन सन् २०१९ मा प्रधानमन्त्री बन्दा संसारकै सबैभन्दा कम उमेरको सरकार प्रमुखको रुपमा चिनिएकी थिइन् । सोसल डेमोक्रेटिक पार्टीबाट प्रधानमन्त्री बन्दा उनको उमेर ३३ वर्ष मात्रै थियो ।

प्रकाशित : भाद्र ३, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?