ताइवानद्वारा सैन्य अभ्यास, चर्कंदै तनाव- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताइवानद्वारा सैन्य अभ्यास, चर्कंदै तनाव

सैन्य अभ्यासमा अत्याधुनिक लडाकु विमान सहभागी
ताइवानसँग व्यापार वार्ता हुने अमेरिकी घोषणा
एजेन्सीहरू

ताइपेई/वासिङ्टन — अमेरिकी प्रतिनिधिसभाकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि उक्त क्षेत्रमा तनाव जारी रहेकै बेला ताइवानले आफ्नो अत्याधुनिक लडाकु विमानसहित सैन्य अभ्यास गरेको छ । ताइवानी कदमपछि चीनसँगको सम्बन्धमा थप तनाव बढेको छ ।

चीनको बारम्बारको चेतावनीको बेवास्ता गर्दै अमेरिकी सभामुख पेलोसी आफ्नो एसिया भ्रमणका क्रममा अगस्ट पहिलो साता ताइवान उत्रेकी थिइन् । पेलोसीको भ्रमणको प्रतिक्रियास्वरूप चीनले ताइवान स्ट्रेटमा ‘लाइभ फायरिङ’ सहित अभ्यास गरेको हो । ताइवानले आफूमाथि आक्रमण गर्न चीनले सैन्य अभ्यास तीव्र पारेको बताएपछि अमेरिकाले चर्को आलोचना गरेको थियो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका ‘चिनियाँ सैनिक गतिविधिहरू गैरजिम्मेबार र ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम राख्ने लक्ष्यविपरीत रहेका’ जनाएको थियो । उच्च अमेरिकी अधिकारीका रूपमा २५ वर्षपछि ताइवान भ्रमण गरेकी पेलोसीले ताइवानी राष्ट्रपति साई इंग–वेनसँगको भेटमा ‘आफ्नो देशले ताइवानको साथ नछाड्ने र लोकतन्त्रको विश्वव्यापी प्रवर्द्धनका लागि अमेरिका दृढ रहेको’ प्रतिबद्धता जनाएकी थिइन् । ताइवानले पेलोसीलाई उच्च नागरिक सम्मान ‘अर्डर अफ पर्पसियस क्लाउड्स विथ स्पेसियल ग्रान्ड कोर्डन’ समेत प्रदान गरेको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पेलोसीको भ्रमणले ‘एक चीन’ नीति उल्लंघन गरेको आरोप लगाउँदै चीनको सार्वभौमसत्तामाथि अमेरिकाले आक्रमण गरेको आरोप लगाएका थिए । अमेरिकाले ताइवानसँग चीनको एकीकरण प्रक्रिया अवरुद्ध पार्ने, चीनको विकासको बाधक बन्ने, भूराजनीतिक अवस्थालाई तोडमोड गर्ने र सही–गलतबीचमा द्विविधा उत्पन्न गराउने काम गरेको उनको दाबी छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सभामुख पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा हिस्सा भएको बताएका छन् ।

ताइवान मामिलामा अमेरिका र चीन केही शान्त रहेका बेला ताइवानले पनि सैन्य अभ्यास सुरु गरेपछि त्यस क्षेत्रमा पुनः तनाव चर्कने निश्चित भएको छ । बुधबारको अभ्यासमा ताइवानी हवाई सेनाको ‘एफ–१६ भी’ अत्याधुनिक लडाकु विमान पनि सहभागी गराइएको छ । हुवालिएन काउन्टीमा गरिएको ‘युद्ध तयारी’ अभ्यासका क्रममा पानीजहाज र डुंगामा आक्रमण गर्न सकिने अमेरिकामा निर्मित ‘हार्पन एजीएम–८४’ क्षेप्यास्त्रसमेत प्रदर्शन गरिएको थियो ।

‘चिनियाँ कम्युनिस्ट फौज’ को पछिल्लो अभ्यासबाट देखिएको खतराका सन्दर्भमा राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न तथा जुनसुकै स्थानमा युद्धका लागि तयारी अवस्थामा रहन सैन्य अभ्यास गरिएको ताइवानी हवाई सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ताइवानी रक्षा मन्त्रालयका प्रवक्ता सुन लि–फाङले ताइवानले चीनका पछिल्लो सैन्य गतिविधि भर्त्सनायोग्य भए पनि ताइवानका लागि आफ्नो फौजको सीप र क्षमता थप मजबुत पार्न राम्रो अवसर मिलेको बताए । ‘ताइवानको प्रतिरक्षाका लागि हाम्रो फौज विश्वस्त र क्षमतावान छ,’ उनले भने । ताइवानी राष्ट्रपति साई इंग–वेनले भने आफूहरू चीनसँग तनाव बढाउन वा उत्तेजित पार्ने पक्षमा नरहेको बताएकी छन् ।

चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भएका हुन् । चीनले ताइवान आफ्नो भूभाग भएको बताउँदै कुनै न कुनै रूपमा मुख्य भूमिका रूपमा रहोस् भन्ने चाहन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई उपयुक्त समयमा चीनमा गाभ्ने बताउँदै आएका छन् । सीले ‘एक देश : दुई प्रणाली’ अन्तर्गत शान्तिपूर्ण रूपमा ताइवानसँग एकीकरण गर्न चाहेको बताउने गर्छन् । ताइवानले भने बेइजिङका ‘क्रियाकलाप घुसपैठ, उत्पीडन र उत्तेजक’ भएको जनाउँदै त्यस्ता कदम रोक्न आग्रह गर्दै आएको छ । आफ्नो छुट्टै संविधान रहेको ताइवानमा नेताहरू लोकतान्त्रिक प्रक्रियाबाट चुनिन्छन् । ताइवानलाई केही मुलुकले मात्रै स्वतन्त्र देशको मान्यता दिएका छन् । विश्वका धेरै मुलुकले चिनियाँ सरकारलाई नै मान्यता दिएका छन् । अमेरिका र ताइवानसँग आधिकारिक रूपमा सम्बन्ध स्थापित छैन । तर अमेरिकाले ताइवानले आफ्नो रक्षा गर्न पाउने विषयसँग सम्बन्धित कानुन बनाएको छ ।

यसैबीच, अमेरिकाले ताइवानसँग ‘व्यापार वार्ता’ गर्ने घोषणा गरेको छ । पेलोसीले ताइवान भ्रमण गरेको दुई सातापछि अमेरिकाले वार्ताको घोषणा गरेको हो । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले दुई देशबीचको पहिलो चरणको वार्ता सेप्टेम्बरमा हुने जनाएको छ ।

वार्तामा ‘व्यापार सहजीकरण, डिजिटल ट्रेड र अनियमितता विरुद्धका मापदण्ड’ का विषयमा छलफल गरी टुंगोमा पुग्ने जनाइएको छ । अमेरिका र ताइवानबीच व्यापार वार्ताको विषय गत जुनमा पहिलोपटक सार्वजनिक भएको थियो ।

दुवै देशका अधिकारीले ‘दुवै पक्ष वार्तामा बसेर टुंगोमा पुग्ने सहमति भएको’ जनाएका छन् । ‘२१ औं शताब्दीको अर्थतन्त्रलाई पारदर्शी, निष्पक्ष, समृद्ध र लचिलो बनाउनका लागि हामी महत्त्वाकांक्षी तालिका लागू योजनामा छौं,’ अमेरिकी व्यापार प्रतिनिधि सराह बियान्चीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिका र ताइवानबीच सन् २०२० मा १ खर्ब ६ अर्ब डलर बराबरको व्यापार भएको थियो । ग्लोबाल फायर पावरका अनुसार सैन्य शक्तिका आधारमा ताइवान विश्वमै २१ औं स्थानमा पर्छ । १ सय ४२ देशको सूचीमा चीन तेस्रोमा छ । २ करोड ३५ लाख जनसंख्या रहेको ताइवानमा सक्रिय सेनाको संख्या १ लाख ७० हजार छ ।

चीनमा सक्रिया सेना २० लाख छन् । झन्डै डेढ अर्ब जनसंख्या रहेको चीनमा ५ लाख १० हजार जगेडा सैनिक छन् । ताइवानमा जगेडा फौजको संख्या १५ लाख छ । चीनको यस वर्षको रक्षा बजेट करिब २ खर्ब ३० अर्ब अमेरिकी डलर छ भने ताइवानको रक्षा बजेट जम्मा १६ अर्ब ८० करोड छ । चीनसँग ५ हजार २ सय ५० सैन्य ट्यांक छन् भने ताइवानसँग १ हजार १ सय १० वटा मात्र छन् । त्यस्तै, चीनसँग ५ हजार ८ सय ५४ र ताइवानसँग १ हजार ६ सय ६७ वटा तोप छन् । ताइवानको तुलनामा चीनसँग झन्डै ४ गुणा बढी लडाकु विमान छन् । चीनसँग ३ हजार २ सय ८५ वटा लडाकु विमान छन् भने ताइवानसँग ७ सय ४१ वटा मात्रै छन् ।

प्रकाशित : भाद्र ३, २०७९ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

भारतको चासोबीच श्रीलंका पुग्यो ‘चीनको जासुसी पानीजहाज’ 

चिनियाँ व्यवस्थापनमा सञ्चालित हम्बनटोटा बन्दरगाह पुगेको ‘युआन वाङ–५’ ले भू–उपग्रह तथा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणलाई निगरानी गर्न सक्ने 
एजेन्सीहरू

(बेइजिङ/नयाँदिल्ली) — भारतीय चासोको बेवास्ता गर्दै चीनको एक पानीजहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेको छ । चिनियाँ जासुसी पानीजहाज ‘युआन वाङ–५’ श्रीलंकाली जलक्षेत्रमा रहेका बेला कुनै काम नगर्ने सर्तमा छ दिनका लागि रोक्न दिइएको बन्दरगाह अधिकारीहरूको भनाइ छ । चीनको पछिल्लो पुस्ताको जासुसी पानीजहाजमध्ये ‘युआन वाङ–५’ ले भू–उपग्रहको अवस्थाबारे अध्ययन गर्न सक्छ । 

रोयटर्स समाचार संस्थाले विज्ञहरूलाई उद्धृत गर्दै उक्त पानीजहाज क्षेप्यास्त्र र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणलाई पनि निगरानी गर्न सक्ने क्षमताको रहेको जनाएको छ । श्रीलंकाको विदेश मन्त्रालयका अनुसार उक्त पानीजहाज अगस्ट २२ सम्म हम्बनटोटा बन्दरगाहमा रहनेछ । उक्त बन्दरगाह चीनको व्यवस्थापनअन्तर्गत सञ्चालित छ ।

भारतले यसअघि उक्त पानीजहाज जासुसी गतिविधिमा प्रयोग हुन सक्ने भन्दै गम्भीर चासो व्यक्त गरेको थियो । भारतीय सञ्चारमाध्यमले ‘युआन वाङ–५’ लाई ‘विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिने जासुसी पानीजहाज’ का रूपमा व्याख्या गरेका छन् ।

पानीजहाजको विशेषताबारे जानकारी सम्प्रेषण गर्ने वेबसाइटहरूले ‘युआन वाङ–५’ लाई अध्ययन, अनुसन्धान र अनुगमनका लागि प्रयोग गर्न सकिने पानीजहाज भनेर उल्लेख गरेका छन् । हम्बनटोटा बन्दरगाहमा पुगेको पानीजहाजले त्यहाँ पुग्ने क्रममा भारतका सुरक्षा पूर्वाधारका विषयमा जासुसी गरेको वा करिब एक सातासम्म त्यहाँ रहँदा हुन सक्ने जासुसीका सम्भावनाबारे भारतीय सञ्चारमाध्यमले चासो व्यक्त गरेका छन् ।

श्रीलंकाले पानीजहाजलाई अगस्ट १६ देखि २२ सम्म बन्दरगाहमा रोकिन अनुमति दिएको जनाएको छ । ‘चिनियाँ पानीजहाज ‘युआन वाङ–५’ को विषयमा छिमेकी देशहरूको सुरक्षा र समन्वय प्रमुख प्राथमिकतामा रहेको छ,’ श्रीलंकाली विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रीलंका सरकार सम्बन्धित पक्ष र उनीहरूको स्वार्थको विषयप्रति गम्भीर रहेको मन्त्रालयले जनाएको छ । गत साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ‘खासगरी सीमा र क्षेत्रीय सुरक्षाका विषयमा भारतले उचित निर्णय लिने’ जनाएका थिए । ‘आफ्नो सुरक्षा र आर्थिक स्वार्थलाई सुरक्षित गर्नका लागि भारत सरकारले सबै विषयवस्तुलाई ध्यानपूर्वक हेरिरहेको छ,’ बाग्चीले भनेका थिए ।

भारतीय विदेश मन्त्रालयले गत जुलाईमा पनि पानीजहाजको योजनाबद्ध भ्रमणलाई निरीक्षण गरिरहेको उल्लेख गरेको थियो । भारतले उक्त पानीजहाजको यात्राबारे श्रीलंकासँग मौखिक रूपमै विरोध जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । त्यसको जवाफमा श्रीलंकाली विदेश मन्त्रालयले पानीजहाजले मागेको बन्दरगाहमा आश्रयका लागि चीनले गरेको अस्थायी रूपमा रोक्दै त्यसका लागि थप छलफल आवश्यक पर्ने जनाएको थियो ।

तर चीनले त्यसको प्रतिक्रियामा ‘केही देशहरूले कथित सुरक्षा चासो भनेर श्रीलंकालाई दबाब दिने काम गरेको’ भन्दै उक्त कदम औचित्यहीन रहेको जनाएको थियो । यद्यपि, चीनले भारत वा अन्य कुनै देशको नाम भने उल्लेख गरेको थिएन । त्यसको केही दिनमा श्रीलंकाले ‘युआन वाङ–५’ पानीजहाजलाई हम्बनटोटा बन्दरगाहमा केही दिनका लागि रहने अनुमति दिइएको जनाएको थियो । पछिल्लो समय गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा चीनको प्रभाव बढ्दो छ । चिनियाँ पानीजहाजका कारण भारतीय चासो पनि थपिएको छ । चीनले श्रीलंकालाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाअन्तर्गत एसियामा पूर्वाधार विकासका लागि अर्बौं डलर ऋण उपलब्ध गराएको छ । यद्यपि, तीमध्ये कतिपय आर्थिक सहायता श्रीलंकाका लागि फाइदाजनक नभएको विज्ञहरूको भनाइ छ ।

सन् २०१७ मा चाइना मर्चेन्ट्स पोर्ट होल्डिङ्सले धेरैजसो सेयर आफूले लिएर हम्बनटोटा बन्दरगाह ९९ वर्षका लागि भाडामा लिएको थियो । उक्त बन्दरगाह निर्माणको ऋण तिर्न कोलम्बोले पछिल्ला वर्षमा निकै ठूलो संघर्ष गरिरहेको छ । श्रीलंकामा पछिल्लो समय गम्भीर आर्थिक संकट निम्तनुको प्रमुख कारणमध्ये हम्बनटोटा बन्दरगाह पनि एक भएको जनाइएको छ ।

प्रकाशित : भाद्र १, २०७९ ०८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×