कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

एजेन्सी

सोल — उत्तर कोरियाले सामुद्रिक क्षेत्रमा बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार उत्तर कोरियाले गत जुलाई सुरुपछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । 

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

‘उत्तर कोरियाले आज बिहानै दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ,’ दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

गत जुलाई १० मा कैयौं क्षेप्यास्त्रहरू प्रहार गरेको ऊत्तर कोरियाले जनवरीमा त्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो । ‘उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रको क्षमतालगायत विषयमा अमेरिका र दक्षिण कोरियाली सैनिक निकायले विश्लेषण गरिरहेका छन्,’ रक्षा मन्त्रालयका ती अधिकारीले भनेका छन् ।

अमेरिका र दक्षिण कोरियाले चारदिने प्रारम्भिक संयुक्त सैन्य अभ्यास सुरु गर्नु एक दिनअघि उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हो । यो अभ्यास अगस्ट २२ देखि सेप्टेम्बर १ सम्म हुने ‘उल्ची फ्रिडम सिल्ड’ को तयारी भएको जनाइएको छ । उत्तर कोरियाले आफूमाथिको अतिक्रमणको तयारीका लागि दुई देशले संयुक्त रूपमा सैन्य अभ्यास गर्दै आएको बताउने गरेको छ । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–इओलले कार्यभार सम्हालेको बुधबार सय दिन पुगेको छ । युनले उत्तर कोरियाले परमाणु हतियार त्यागेको खण्डमा दक्षिण कोरियाले चरणबद्ध रूपमा आर्थिक सहयोग उपलब्ध गराउने बताउँदै आएका छन् ।

‘दक्षिण र उत्तर कोरियाबीच हुने संवाद तथा सम्झौताहरू राजनीतिक शक्तिका लागि नभई कोरियाली द्वीपमा दिगो शान्ति स्थापनाका लागि हुनुपर्छ,’ युनले पत्रकार सम्मेलनका क्रममा भनेका छन्, ‘उत्तर कोरियाले एकै चरणमा तत्काल परमाणु हतियार त्याग्नुपर्छ भन्ने छैन ।’ कोरोना भाइरसको महामारीका कारण लामो समय शान्त रहेको उत्तर कोरियाले जनवरी महिनादेखि क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको हो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई क्षेप्यास्त्र तथा परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले त्यसको बेवास्ता गर्दै क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिएको हो । त्यसैगरी, अमेरिका र युरोपेली संघले पनि उत्तर कोरियामाथि नाकाबन्दी लगाउँदै आएका छन् ।

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण तीव्र पारेपछि दक्षिण कोरिया, जापान र अमेरिकाले त्यसको निन्दा गर्दै आएका छन् । उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणले क्षेत्रीय शान्ति र सुरक्षा खतरामा पारेको जापानको भनाइ छ । खासगरी कोरियाली प्रायद्वीपमा अमेरिका र दक्षिण कोरियाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यासको कडा विरोध जनाउन उत्तरले क्षेप्यास्त्र परीक्षणको गति बढाउने गरेको छ । त्यसका साथै आफ्ना क्षेप्यास्त्रको क्षमता विकसित गर्न तथा तयारी अवस्थामा राख्न उत्तरले त्यस्ता परीक्षण गर्ने गरेको जानकारहरू बताउँछन् ।

त्यसका साथै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले अन्तर्राष्ट्रिय समुदायलाई देश आर्थिक रूपमा अप्ठ्यारो अवस्थामा नरहेको र प्रतिरक्षा नीति प्राथमिकतामा रहेको सन्देश दिन पनि बेलाबखतमा क्षेप्यास्त्र प्रहार गर्ने गरेको कतिपयको दाबी छ ।

उत्तर कोरियाले सन् २०१७ मा ह्वासोङ–१५ क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्रले प्रशान्त महासागरको गुआम रहेको अमेरिकी सैन्य अखडामा प्रहार गर्न सक्छ । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएसँगै दुई देशबीचको परमाणु वार्ता अवरुद्ध छ । उत्तरले जनवरी सुरुमा क्षेप्यास्त्र परीक्षण गरेपछि बाइडेन प्रशासनले केही प्रतिबन्धहरू लागू गरेको थियो ।

प्रकाशित : भाद्र २, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?