बेलायतमा मुद्रास्फीति ४० वर्षयताकै उच्च

लण्डन — बेलायतमा मुद्रास्फीति ४० वर्षयताकै उच्च भएको छ । खासगरी, खाध्यान्न तथा ऊर्जाको बढ्दो मूल्यवृद्धिले  मुद्रास्फीति यति उच्च भएको हो । यसअघि सन् १९८२ फेब्रुअरीमा दोहोरो अंकले मूल्यवृद्धि भएको थियो ।

बेलायतमा मुद्रास्फीति ४० वर्षयताकै उच्च

बेलायतको सरकारी तथ्यांक कार्यालयले बुधबार प्रकाशित गरेको विवरणमा मुद्रास्फीति मापन गरिने ‘कन्जुमर प्राइस इन्डेक्स’ वार्षिक १० दशमलब १ प्रतिशतले बढेको उल्लेख छ ।

ऊर्जा, खाध्यान्न, मदिरा, चुरोट बाहेकको मापन गर्दा खास मुद्रास्फीति ६ दशमलब २ प्रतिशत छ । गत जुन-जुलाई बीचमा खाध्यान्नको बढ्दो मूल्यवृद्धिले गर्दा सबैभन्दा धेरै मुद्रास्फीति हुन योगदान पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न बैंक अफ इंग्ल्याण्डले ६ पटक ब्याजदर बढाइसकेको छ । बैंकले आउदो अक्टोबरमा मुद्रास्फीति १३ दशमलब ३ प्रतिशत पुग्ने र बेलायतमा आर्थिक मन्दी हुने प्रक्षेपण गरेको छ । मुद्रास्फीति यसअघि अनुमान गरिएभन्दा अझ धेरै १५ प्रतिशत पुग्ने आकलन पनि गरिएको छ ।

बेलायतमा अर्को वर्षको सुरुआतमा वार्षिक औसत घरको ऊर्जा बिल १९७१ पाउण्डबाट बढेर ४२६६ पाउण्ड हुने आकलन गरिएको छ । यसले जनजीविकामा ठूलो असर पर्नेछ ।

बेलायतमा यस वर्षको दोश्रो चौमासिकमा कुल तलब ३ प्रतिशतले घटेको पनि बेलायतको सरकारी तथ्यांक विभागले जनाएको छ । यति थोरै आम्दानी बेलायतको रेकर्डमा नै थिएन । यसले औसत बेलायती जनताको जीवनस्तर निकै खस्कने अनुमान गरिएको छ ।

अस्थिर राजनीतिबीच बेलायतमा बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न निर्णायक राजनीतिक नेतृत्वको अभाव रहेको विश्लेशकहरुले जनाएका छन् ।

मुद्रास्फीतिको खास अर्थ मूल्य जुन अनुपातमा बढ्छ त्यही अनुपातमा आम्दानी नबढ्नु हो, जसले मानिसहरुलाई थप गरिब बनाउँछ ।

माग र आपूर्तिबीच समन्वय गरी मुद्रास्फीति नियन्त्रण गर्नुपर्ने भएकाले यसका लागि समय लाग्ने बताउँछन् अर्थविद् विकलचन्द्र आचार्य । उनले जारी रुस यूक्रेन युद्द, कोभिडको असरले थलिएको अर्थतन्त्र, ब्रेक्जिटले पारेको प्रभाव, बैंक अफ इंग्ल्याण्डले ‘क्वान्टिटेभिभ इजिङमार्फत’ अर्थतन्त्रमा पम्प गरेको पैसा आदि अहिले मुद्रास्फीति उच्च हुनुको कारक रहेको पनि बताए ।

बेलायती इतिहासमा सन् १९६० को दशकदेखि बढेको मुद्रास्फीति नियन्त्रण गर्न करिब २० वर्ष लागेको थियो । बेलायतमा मुद्रास्फीति नियन्त्रण गर्ने जिम्मा बैंक अफ इंग्ल्याण्डको हो । यस बैंकले वार्षिक २ प्रतिशतको लक्ष्य राखेको छ तर बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न अरु ब्याजदर बढाउनु पर्नेछ ।

ब्याजदरले ऋणको ब्याज बढ्छ भने लगानीको मुनाफा बढी पाइने हुनाले अर्थतन्त्र उत्साहित गर्न सकिन्छ भन्ने मान्यता छ । ठूलो चुनौतीबीच बैंक अफ इंग्ल्याण्ड र राजनीतिक नेतृत्वले कस्तो नीति अंगीकार गर्छन् त्यो हेर्न बाँकी छ ।

बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डमा अन्तर्राष्ट्रिय व्यापारका सहप्राध्यापक डा. बुद्धि पाठकले भने, ‘बैंक अफ इंग्ल्याण्डले २५ प्रतिशत ग्यासको मूल्य वृद्धि हुँदा एक प्रतिशत मुद्रास्फीति बढ्ने र कुल ग्राहस्थ उत्पादन ०.६ प्रतिशत घट्ने बताएको छ । केही समयपछि उर्जा बील ८० प्रतिशत बढ्दा मुद्रास्फिति करिब ३ प्रतिशत बढ्ने देखिन्छ ।’

बेलायती पूर्व प्रधानमन्त्री गोर्डन ब्राउन नेतृत्वको एक समूहले गरेको अनुसन्धानले बेलायतको कम्तीमा एक करोड तीस लाख (१३ मिलियन) जनसंख्या उर्जा गरिवीको रेखामुनी रहेको देखाएको छ । यसको अर्थ त्यो जनसंख्या उर्जा बिल तिर्न सक्ने अवस्थामा छैन् ।

पूर्वप्रधानमन्त्री ब्राउनले कोब्रा बैठक बोलाइ तत्काल राहत प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका थिए । युरो जोन, अमेरिका, चीन, जापान जस्तै बेलायतमा पनि मुद्रास्फीति वृद्धि र आर्थिक मन्दी आउन थालेपनि यहाँ बेरोजगार दर भने नबढ्नु सकारात्मक पक्ष भएको डा. पाठकको बुझाइ छ ।

प्रकाशित : भाद्र १, २०७९ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?