हिमपहिरोमा परी बेपत्ता भएको ३८ वर्षपछि भारतीय सैनिकको शव फेला- विश्व - कान्तिपुर समाचार

हिमपहिरोमा परी बेपत्ता भएको ३८ वर्षपछि भारतीय सैनिकको शव फेला

कान्तिपुर संवाददाता

काठमाडौँ — हिमपहिरोमा परी बेपत्ता भएका भारतीय सैनिक चन्द्रशेखर हर्बोलाको शव ३८ वर्षपछि फेला परेको छ । भारत-पाकिस्तानको सीमामा पर्ने सियाचन हिमनदीमा सन् १९८४ मा गएको हिमपहिरोमा परी हर्बोलासहित २० सैनिक हराएका थिए ।

हिमपहिरो गएको पाँच वर्षपछि १५ जनाको शव फेला परे पनि बाँकी ५ जनाको शव भने फेला परेको थिएन । सीमा सुरक्षार्थ तैनाथ रहेका बेला आएको हिमपहिरोमा परी उनीहरूको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको युद्धभूमिका रुपमा सियाचेनलाई लिइन्छ । उक्त स्थानमा भारत र पाकिस्तान दुवै देशले आ-आफ्ना सैनिकहरू तैनाथ गर्ने गरेका छन् । यसअघि विभिन्न समयमा आएको हिमपहिरोमा परी अरु धेरै सैनिकको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ ।

भारतीय सेनाको टोलीले हर्बोलासँगै अर्का एक सैनिकको पनि शव फेला पारेको तर उक्त शवको पहिचान हुन नसकेको समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

हार्बोल्लाको परिवार उत्तराखण्डको हिमाली क्षेत्र हलद्वानीमा बस्दै आएको छ । उनी बस्दै आएको गाउँमा उच्च मिलिटरी सम्मानसहित अन्तिम संस्कारका लागि तयारी गरिएको बताइएको छ । सियाचनमा यसरी बेपत्ता शव वर्षौंपछि भेटिएको यो नै पहिलो पटक भने होइन ।

यसअघि पनि सुरक्षार्थ खटिएका बेला सियचन हिमतालमा बेपत्ता भएका टुकराम भी पाटिलको शव २१ वर्षपछि सन् २०१४ मा भेटिएको थियो । त्यस्तै सन् २०१२ मा सियाचेन नजिकै गएको हिमपहिरोमा परी करिब १२९ पाकिस्तानी सैनिकको मृत्यु भएको थियो भने सन् २०१६ मा आएको हिमपहिरोमा परी १० जना भारतीय सैनिकको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । सन् २०१९ मा पनि यस्तै दुर्घटनाका कारण ४ सैनिक मृत फेला परेका थिए ।

यस्तो जोखिमी क्षेत्रमा दुवै देशका सेनालाई नराख्नेबारे पटकपटक बैठक बसे पनि अहिलेसम्मका सबै बैठक निष्कर्षविहीन टुंगिएका छन् । सन् १९८४ यो क्षेत्र कसको हुने भन्नेबारे भारत र पाकिस्तानबीच लडाइँ समेत भएको थियो ।

प्रकाशित : श्रावण ३१, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्

सत्ता गठबन्धनले भन्यो : संक्रमणकालीन न्यायसम्बन्धी समस्या सधैंलाई अन्त्य गर्छौं

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी समस्या सधैँलाई अन्त्य गर्ने गरी कानुन बनाउने सहमति जुटाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी समस्याहरूको सधैँलाई अन्त्य हुने गरी कानुन संशोधन गर्ने सहमति गरेका हुन् ।

बैठकमा भएको सहमतिबारे सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकका सम्बन्धमा बृहत् रूपमा छलफल भएको छ ।यसबीचमा सरकारले सरोकारवाला, मानवअधिकारकर्मी, सम्बन्धित व्यक्ति र संघसंस्थाहरूसँग समेत परामर्श गरिसकेको छ । शान्ति तथा मेलमिलापलाई टुंग्याउने गरी विधेयकलाई अघि बढाउने गठबन्धनमा सहमति भएको छ ।’

उनले सरकारले संक्रमणकालिन न्यायसम्बन्धी विषयलाई सधैंका लागि टुंग्याउने गरी कानुन बनाएर अघि बढ्न चाहेको बताए ।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्‍मा पेस गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । पीडितहरूले पीडकलाई उन्मुक्ति दिने गरी कानुन ल्याउन लागेको भन्दै सडकमै प्रदर्शन गरेका थिए । सञ्चारमन्त्री कार्कीले यसबीचमा आन्दोलनरत द्वन्द्वपीडित, नागरिक समाजका अगुवा र मानवअधिकारवादीहरूसँग छलफल गरी विधेयकलाई अघि बढाउन तयारी गरेको बताए ।

प्रकाशित : श्रावण ३१, २०७९ १३:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×