कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

खडेरीसँगै युरोपमा खाद्यान्न संकटको जोखिम

समग्र अन्न उब्जनी ३० प्रतिशतले घट्ने
खाद्यान्न खरिदका लागि मासिक २४३ युरो बढी खर्च हुने
ददि सापकोटा

पेरिस — जुन महिनादेखिको निरन्तर खडेरीका कारण यस वर्ष युरोपेली मुलुकमा खाद्यान्न संकट उत्पन्न हुने भएको छ ।

खडेरीसँगै युरोपमा खाद्यान्न संकटको जोखिम

जलवायु परिवर्तनका कारण उत्पन्न खडेरीले जुनदेखि युरोपका अधिकांश भाग गर्मीको चपेटमा परेसँगै ‘ब्रेड बास्केट’ राष्ट्रहरूमा स्थिर बाली उत्पादनमा कमी आउने युरोपेली संस्थाहरूले बताएका छन् । खाद्यान्न उत्पादन घट्दा युरोपेली मुलुकभर दैनिक जीवनको खर्च बढ्न गई संकटलाई गहिरिने देखिएको हो ।

युरोपव्यापी तातो लहरका कारण युरोपेली संघ (ईयू) ले मकै, सूर्यमुखी र सोयाबिनको उत्पादनमा ८ देखि ९ प्रतिशत र समग्र अन्न उब्जनीमा ३० प्रतिशत उत्पादन घट्ने जनाएको छ ।

मकै, सूर्यमुखी तेल र सोयाबिन युरोपमा अत्यधिक प्रयोग हुने उत्पादन हुन् । युक्रेन यी वस्तुको एक महत्त्वपूर्ण उत्पादक हो ।

पछिल्लो समय युक्रेनसँग युद्ध चर्केसँगै रुसले यी वस्तुको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । जसका कारण अहिले नै सय प्रतिशतभन्दा बढीले मूल्यवृद्धि भइसकेको छ ।

स्पेन, दक्षिणी फ्रान्स, मध्य र उत्तरी इटाली, मध्य जर्मनी, उत्तरी रोमानिया, स्पेन, ग्रिस र पूर्वी हंगेरीलगायत युरोपको ठूलो भागमा चर्को खडेरीका कारण उत्पादन निकै घटेको छ । ईयूको संयुक्त अनुसन्धान केन्द्रले यसै साता सार्वजनिक गरेको तथ्यांकअनुसार महत्त्वपूर्ण बालीहरूका लागि फूल फुल्ने चरण गर्मीको तनावबाट गुज्रिएको र फूलहरू खडेरीले खाएको छ । पानीका जलाशयहरू न्यून स्तरमा पुगेकाले सिँचाइको माग पूरा गर्न अपर्याप्त छन् ।

सन् १९९१ र २०२२ बीच जुलाई महिनामा हुने औसत वर्षा ८४ प्रतिशतले कम हुँदा फ्रान्सले सन् १९६१ यताकै चर्को खडेरीको सामना गरिरहेको छ । जसका कारण खाद्यान्न उत्पादन व्यापक रूपमा घट्ने फ्रान्सको जलवायु विभाग मेतेओ फ्रंसले जनाएको छ । खाद्यान्नको बढ्दो माग, जलवायु संकटको प्रभाव, युक्रेन युद्ध, कोरोना महामारीलगायत कारण खाद्यान्नको मूल्य विश्वव्यापी रूपमा बढेको र अझै बढ्ने मेतेओ फ्रंसले जनाएको छ ।

इटाली, स्विटजरल्यान्ड, फ्रान्स, जर्मनी, स्पेन, इटाली, पोर्चुगललगायत किसानहरूले सुकेको घाँसे मैदानका कारण चौपायाको आहाराको अभाव भएको बताएका छन् । त्यसले पशुपालनलाई असर गर्ने हुँदा मासु र दूधजन्य उत्पादन घट्ने देखिएको छ ।

फ्रान्सका वातावरणमन्त्री क्रिस्टोफ बेचुले जुलाईको वर्षाले आवश्यकताको १२ प्रतिशत मात्र प्रतिनिधित्व गरेकोले मकै, गहुँ र फलफूलको उत्पादन घट्ने बताए । फ्रान्स गहुँको चौथो र मकैको पाँचौं निर्यातकर्ता हो ।

युरो–मेडिटेरेनियन सेन्टर अन क्लाइमेट चेन्जका वातावरणीय अर्थशास्त्री सौरो दासगुप्ताको भनाइ उल्लेख गर्दै फ्रंस २४ ले भनेको छ, ‘गर्मीका लहरहरूले खडेरीलाई शीर्ष स्थानमा पुर्‍याउँदा बालीहरू छिटो ओइलाउनेछन् र खाद्यान्न उत्पादन कम हुने छ ।’

सुक्खा र गर्मीको लहरले मानिसहरूको जीविकोपार्जनमा असर पार्ने र खाना किन्न सक्ने क्षमता कम हुने उनको भनाइ छ । इटालीको कृषि संघ कोल्डिरेट्टीले इटालीमा मध्य जुलाईमा परेको चर्को खडेरीका कारण राष्ट्रिय मौसमी बाली उत्पादनमा ३० देखि ४० प्रतिशतले कमी आउने जनाएको छ ।

त्यस्तै, बेलायतको जलवायु विभागले दक्षिणी र पूर्वी इंग्ल्यान्डका अधिकांश भाग जुलाईमा निकै सुक्खा भएकाले सिमी र जामुन जस्ता धेरै बालीको नोक्सान भइसकेको बताएको छ । इन्धन र खाद्यान्नको मूल्य बढेसँगै बेलायतको मुद्रास्फीति जुन महिनामा ४० वर्षकै उच्च स्थानमा पुगेको छ ।

स्पेन सरकारले जलाशयहरूमा मात्र ४० दशमलव ४ प्रतिशत क्षमता रहेको जनाएको छ । स्पेनले विश्वको लगभग आधा जैतुनको तेल आपूर्ति गर्दछ । तर खडेरीका कारण यस वर्ष स्पेनको जैतुन पछिल्लो ५ वर्षको औसतमा २० प्रतिशतभन्दा कम हुने जनाइएको छ ।

उत्पादनमा कमी हुँदा औसत युरोपेली उपभोक्ताले सन् २०२१ को तुलनामा खाद्य उत्पादनका लागि मासिक २ सय ४३ युरो बढी खर्च गर्नुपर्ने देखिएको छ ।

वातावरण, मत्स्यपालन र महासागरका लागि ईयू आयुक्त भर्जिनिजस सिन्केभिसियसले बुधबार ईयू राष्ट्रहरूलाई पानीको बर्बादी रोक्न पानीको पुनः प्रयोगका लागि जोड दिएका छन् । ‘हामीले पानीको बर्बादी रोक्न, परिवर्तनशील मौसमसित अनुकूल मिलाउन, हाम्रो कृषि आपूर्तिको सुरक्षा र दिगोपन सुनिश्चित गर्न यो फोहोर पानीको स्रोतलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक छ,’ उनले भनेका छन् ।

फ्रान्स र इंग्ल्यान्डका केही भागमा जुलाईमा अहिलेसम्मकै सबैभन्दा सुक्खा भएपछि युरोपेली आयोगले सदस्य राष्ट्रहरूलाई महाद्वीपका सुकेका खेतमा सिँचाइको रूपमा प्रशोधित सहरी फोहोर पानीलाई पुनः प्रयोग गर्न आग्रह गरिसकेको छ । लामो समयको खडेरीसँगै पछिल्लो समय युरोपका विभिन्न देशमा डढेलो फैलने क्रम पनि बढेको छ । फ्रान्सको जिरोन्डे क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा लिन विभिन्न युरोपेली देशले सहयोग गरिरहेका छन् ।

प्रकाशित : श्रावण ३१, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?