संसद् भवनभित्रै यौन दुर्व्यवहार- विश्व - कान्तिपुर समाचार

संसद् भवनभित्रै यौन दुर्व्यवहार

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको संसद् भवनभित्र कर्मचारीमाथि प्रणालीगत धम्की, यौन दुर्व्यवहार तथा उत्पीडन हुने गरेको तथ्य सार्वजनिक भएको छ । केही दिनअघि सार्वजनिक गरिएको प्रतिवेदनअनुसार करिब आधा घटना सांसदबाटै हुने गरेको जनाइएको छ ।

राज्यको संसद्भित्रको कार्यक्षेत्रमा काम गर्ने संस्कृतिबारे गरिएको अनुसन्धानबाट आएको तथ्य निराशाजनक र अमानवीय भएको उल्लेख गरिएको छ । लैंगिक विभेद पूर्वआयुक्त एलिजाबेथ ब्रोडरिकले गरेको अनुसन्धानमा सहभागीमध्ये एक तिहाइले गएको ५ वर्षमा आफूमाथि यौन दुर्व्यवहार तथा उत्पीडन भएको बताएका छन् । रिपोर्ट सार्वजनिक भएसँगै संसद् भवनभित्रको कार्य संस्कारमा व्यापक परिवर्तन आवश्यक भएको विज्ञहरूले बताएका छन् । न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले धम्की, उत्पीडन तथा दुर्व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

आफ्नो कार्यस्थलमा हुने खराब संस्कृतिबारे सार्वजनिक प्रतिवेदन न्यु साउथ वेल्स राज्यस्थित संसद्कै वेबसाइटमा राखिएको छ । ‘ब्रोडरिक रिभ्यु’ नाम दिइएको १ सय ४८ पृष्ठ लामो प्रतिवेदन तयार गर्ने क्रममा संसद् भवनभित्र काम गर्ने ४ सय ५० कर्मचारीको अन्तर्वार्ता लिइएको थियो । १ सय ९ जनासँग गोप्य अन्तर्वार्ता लिइएको, ७ वटा समूहगत सत्र र ५८ वटा गोप्य लिखित निवेदन रहेको उल्लेख छ । नाम दिइएको उक्त प्रतिवेदन विभिन्न सात अध्यायमा विभाजित छ ।

अनुसन्धानका क्रममा सांसदले महिला कर्मचारीका बारेमा खराब तथा यौनजन्य प्रतिक्रिया दिने गरेको उल्लेख गरिएको छ । गोप्य रूपमा गरिएको अन्तर्वार्तामा सहभागीले केही सांसद धेरै भावनात्मक, आक्रामक, असभ्य र कर्मचारीप्रति अपमानजनक रहेको प्रतिक्रिया दिएका छन् । प्रतिवेदनअनुसार २ प्रतिशतले यौन दुर्व्यवहार वा प्रयास भोगेको र १० प्रतिशतले यौन दुर्व्यवहार देखेको वा सुनेको जनाएका छन् । प्रिमियर पेरोटेले आफ्नो राज्यको हरेक कार्यक्षेत्र धम्की, यौन उत्पीडन तथा दुर्व्यवहारमुक्त हुनैपर्ने बताउँदै यस्तो व्यवहारमा सहभागी भएकालाई तत्कालै छोडेर जान आग्रह गरेका छन् । उनले यस्ता घटना सामना गर्न नसकिने र स्वीकार्य हुनै नसक्ने रहेको बताएका छन् ।

प्रतिवेदन सार्वजनिक भएपछि राज्यकी लैंगिक विभेद आयुक्त केट जेन्किन्सले यो चिन्ताजनक भएको बताउँदै तत्काल यस कार्यको अन्त्य हुनुपर्ने बताएकी छन् । उनले संसद् कार्यक्षेत्रलाई नेतृत्व गर्ने स्थान भएकाले कार्यक्षेत्रको मानक बन्नुपर्ने जनाएकी छन् । कार्यक्षेत्रमा देखिएको समस्या सुधारका लागि प्रतिवेदनमा विभिन्न सुझावसमेत दिइएको छ । जसअनुसार घटना हुनुभन्दा अघि नै यससम्बन्धी घटनालाई प्राथमिकताका साथ सम्बोधन गरिनुपर्ने, कार्यक्षेत्रमा हुने यस प्रकारका खराब आचलनलाई निर्मूल पारिनुपर्ने, पीडामा परेका कर्मचारीलाई आफ्नो समस्या राख्नका लागि अझ प्रेरित गर्नुपर्ने उल्लेख छ ।

प्रतिवेदन उद्धृत गर्दै एबीसीले जनाएअनुसार संसद्को कार्यस्थलमा सांसद तथा कर्मचारीबीच शक्ति असन्तुलन यसको एकमध्ये मुख्य कारक मानिएको छ । यसैगरी, कर्मचारीले आवाज उठाएको खण्डमा जागिर जाने डरका कारणसमेत आफ्नो पीडालाई खुलेर बाहिर ल्याउन नसकेको जनाइएको छ । प्रतिवेदन सार्वजनिक भएसँगै राज्यका राजनीतिक दलका नेताहरूले यस किसिमको कार्य रोक्नका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन् । यसका साथै न्यु साउथ वेल्स प्रहरीले जुनसुकै स्थान भए पनि यदि कोही यौन दुर्व्यवहारमा परेको भए न्यायका लागि सम्पर्कमा आउन आग्रह गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियामा शिक्षक अभाव हटाउन नयाँ योजना

तलब, भाडालगायत सुविधा सरकारले नै बेहोरिदिने  । अध्यापन क्षेत्रमा रुचि भएका विदेशीलाई राम्रो अवसर
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा पछिल्लो समयमा देखिएको शिक्षकको अभाव पूरा गर्न रास्ट्रिय कार्ययोजना ल्याइने भएको छ । केन्द्रीय सरकारका शिक्षामन्त्री तथा अन्य राज्य तथा टेरिटोरीका शिक्षामन्त्रीले समस्या समाधान गर्न राष्ट्रिय कार्य योजना ल्याउने सहमति जनाएका हुन् ।

केन्द्रीय शिक्षामन्त्री जेसन क्लेयरले ६ राज्य तथा २ टेरिटोरीका शिक्षामन्त्रीसँग अहिले देखिएको शिक्षक अभाव पूरा गर्न छलफल आयोजना गरेका छन् । छलफलमा शिक्षामन्त्रीहरूले शिक्षकको चरम अभाव रहेको र त्यसलाई पूरा गर्न यस वर्षको अन्यसम्ममा राष्ट्रिय कार्ययोजना ल्याउन सहमत भएका हुन् । शिक्षक अभावका कारण पछिल्लो समय दुर्गमका विद्यालयमा पढाइ नै रोक्नुपर्ने अवस्था सृजना भइसकेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समस्या चर्किएपछि समाधानका उपाय खोज्न सबै शिक्षामन्त्री छलफलमा जुटेका हुन् । कार्ययोजनाअनुसार नयाँ र आकर्षक तलब तथा सेवा सुविधा, कामको कम भार, शिक्षण पेसामा नयाँलाई आकर्षित गर्नेलगायतका व्यवस्था गरिने भएको छ ।

अस्ट्रेलियाली शिक्षण पेसामा काम गर्ने शिक्षकले सातामा ७० घण्टासम्म काम गर्नुपर्ने बाध्यता रहेको बताइएको छ । अबको ३ वर्षसम्ममा अस्ट्रेलियामा ४ हजारभन्दा बढी शिक्षकको अभाव हुन सक्ने आकलन छ । शिक्षामन्त्री क्लेयरले शिक्षण पेसा अत्यन्तै महत्त्वपूर्ण भए पनि आवश्यकता पूरा गर्ने शिक्षक नरहेको बताएका छन् । उनले राष्ट्रिय कार्ययोजना धेरै व्यक्तिलाई शिक्षण पेसामा आउन प्रेरित गर्ने, पेसामा रहेकाले स्थायी रूपमै रहने प्रोत्साहन गर्ने तथा शिक्षण पेसामा आउन चाहनेलाई कार्यक्षेत्रमा योग्य बन्नका लागि तयार गर्न केन्द्रित हुने बताएका छन् । उनले विद्यार्थी र कक्षाकोठाको संख्या बढिरहेको तर उक्त कक्षा सञ्चालन गर्ने शिक्षक भने कम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शिक्षक अभाव चर्किएपछि न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलियालगायतका राज्यले हजारौं डलर बराबरको नगद सुविधा दिने घोषणा गरिसकेका छन् । भिक्टोरिया राज्यले त दुर्गम स्थानमा अध्यापन गराउन जानेका लागि थप सुविधासहित आउजाउका लागि सबै खर्च र सुविधासमेत सरकारले नै बेहोरिदिने घोषणा गरेको छ ।

दक्षिण अस्ट्रेलियाको सरकारी विद्यालयमा एक दशकदेखि पढाइरहेका कपिल पाण्डेले शिक्षा तथा अध्यापन क्षेत्रमा रुचि भएका नेपालीलाई समेत शिक्षण पेसामा आउने राम्रो अवसर भएको बताए । उनले अहिले अत्यन्तै कम नेपालीले अस्ट्रेलियाका विद्यालयमा अध्यापन गराइरहेको बताउँदै आफ्नो योग्यता तथा ज्ञानअनुसार शिक्षण पेसा अपनाउन सकिने प्रशस्त सम्भावना रहेको सुनाए ।

प्रकाशित : श्रावण २९, २०७९ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×