२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बोल्नसक्ने भए रुस्दी, भेन्टिलेटरबाट बाहिर निकालियो

कान्तिपुर संवाददाता

काठमाडौँ — आक्रमणपछि उपचाररत प्रसिद्ध लेखक सलमान रुस्दीलाई अहिले भेन्टिलेटरबाट बाहिर निकालेर उपचार जारी रहेको र उनी बोल्न सक्ने भएको बताइएको छ ।

बोल्नसक्ने भए रुस्दी, भेन्टिलेटरबाट बाहिर निकालियो

शनिबार न्युयोर्कस्थित एक कार्यक्रममा बोल्नका लागि मञ्चमा उभिरहँदा रुस्दीमाथि सांघातिक आक्रमण भएको थियो ।

आक्रमणपछि उनलाई अस्पतालमा राखेर उपचार गरिएको छ । रुस्दीका एजेन्ट एन्ड्र्यु वाइलले अमेरिकी मिडियासँग रुस्दीको उपचारको क्रममा उनले आँखा गुमाउन सक्ने प्रतिक्रिया दिएका थिए । साथै उनको कलेजोमा पनि क्षति पुगेको वाइलले बताएका थिए ।

७५ वर्षीय रुस्दीले यसअघि नै आफ्नो लोकप्रिय कृति 'द सटानिक भर्सेस'का कारण ज्यान मार्ने धम्कीको सामना गरिसकेका छन् । मुस्लिम समूहहरूबाट उनले इश्वरको अनादर गरेको भन्दै ज्यान मार्ने धम्की आएको हो ।

न्युयोर्कस्थित शनिबारको कार्यक्रममा रुस्दीमाथि आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अहिले हिरासतमा राखिएको छ । यस घटनामा २४ वर्षीय हादी माटर नामका व्यक्तिमाथि ज्यान मार्ने प्रयास गरेको आरोप लागेको छ । अमेरिकी मिडियाका अनुसार ती व्यक्तिले स्टेजमा उक्लिएर रुस्दीको अनुहार, घाँटी र पेटमा कम्तीमा १० पटक चक्कु प्रहार गरेका थिए ।

यद्यपि रुस्दीको पछिल्लो स्वास्थ्य अवस्था चिकित्सकले सार्वजनिक गरेका छैनन् । तर कतिपय लेखक र उनका साथीहरूले रुस्दी बोल्न सक्ने भएको भन्दै स्वास्थ्यलाभको कामना गरेका छन् । यस्तै रुस्दी वक्ता रहेको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष माइकल हिलले पनि रुस्दीलाई अहिले भेन्टिलेटरबाट बाहिर निकालेर उपचार भइरहेको भन्दै ट्विट गरेका छन् । र उनले रुस्दी बोल्न सक्ने भएको जानकारी दिएका छन् ।

रुस्दीमाथि आक्रमण भएपछि त्यहाँको सुरक्षा व्यवस्थालाई लिएर उनी वक्ता रहेको कार्यक्रम आयोजकमाथि प्रश्न उठाइएको छ । १९८८ मा 'द सटानिक भर्सेस' लेखेपछि धम्कीका कारण रुस्दी १० वर्षसम्म भूमिगत बनेका थिए ।

लेखनको मूल्य चुकाउँदै रुस्दी

प्रकाशित : श्रावण २९, २०७९ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?