अस्ट्रेलियामा शिक्षक अभाव हटाउन नयाँ योजना- विश्व - कान्तिपुर समाचार

अस्ट्रेलियामा शिक्षक अभाव हटाउन नयाँ योजना

तलब, भाडालगायत सुविधा सरकारले नै बेहोरिदिने  । अध्यापन क्षेत्रमा रुचि भएका विदेशीलाई राम्रो अवसर
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा पछिल्लो समयमा देखिएको शिक्षकको अभाव पूरा गर्न रास्ट्रिय कार्ययोजना ल्याइने भएको छ । केन्द्रीय सरकारका शिक्षामन्त्री तथा अन्य राज्य तथा टेरिटोरीका शिक्षामन्त्रीले समस्या समाधान गर्न राष्ट्रिय कार्य योजना ल्याउने सहमति जनाएका हुन् ।

केन्द्रीय शिक्षामन्त्री जेसन क्लेयरले ६ राज्य तथा २ टेरिटोरीका शिक्षामन्त्रीसँग अहिले देखिएको शिक्षक अभाव पूरा गर्न छलफल आयोजना गरेका छन् । छलफलमा शिक्षामन्त्रीहरूले शिक्षकको चरम अभाव रहेको र त्यसलाई पूरा गर्न यस वर्षको अन्यसम्ममा राष्ट्रिय कार्ययोजना ल्याउन सहमत भएका हुन् । शिक्षक अभावका कारण पछिल्लो समय दुर्गमका विद्यालयमा पढाइ नै रोक्नुपर्ने अवस्था सृजना भइसकेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समस्या चर्किएपछि समाधानका उपाय खोज्न सबै शिक्षामन्त्री छलफलमा जुटेका हुन् । कार्ययोजनाअनुसार नयाँ र आकर्षक तलब तथा सेवा सुविधा, कामको कम भार, शिक्षण पेसामा नयाँलाई आकर्षित गर्नेलगायतका व्यवस्था गरिने भएको छ ।

अस्ट्रेलियाली शिक्षण पेसामा काम गर्ने शिक्षकले सातामा ७० घण्टासम्म काम गर्नुपर्ने बाध्यता रहेको बताइएको छ । अबको ३ वर्षसम्ममा अस्ट्रेलियामा ४ हजारभन्दा बढी शिक्षकको अभाव हुन सक्ने आकलन छ । शिक्षामन्त्री क्लेयरले शिक्षण पेसा अत्यन्तै महत्त्वपूर्ण भए पनि आवश्यकता पूरा गर्ने शिक्षक नरहेको बताएका छन् । उनले राष्ट्रिय कार्ययोजना धेरै व्यक्तिलाई शिक्षण पेसामा आउन प्रेरित गर्ने, पेसामा रहेकाले स्थायी रूपमै रहने प्रोत्साहन गर्ने तथा शिक्षण पेसामा आउन चाहनेलाई कार्यक्षेत्रमा योग्य बन्नका लागि तयार गर्न केन्द्रित हुने बताएका छन् । उनले विद्यार्थी र कक्षाकोठाको संख्या बढिरहेको तर उक्त कक्षा सञ्चालन गर्ने शिक्षक भने कम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शिक्षक अभाव चर्किएपछि न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलियालगायतका राज्यले हजारौं डलर बराबरको नगद सुविधा दिने घोषणा गरिसकेका छन् । भिक्टोरिया राज्यले त दुर्गम स्थानमा अध्यापन गराउन जानेका लागि थप सुविधासहित आउजाउका लागि सबै खर्च र सुविधासमेत सरकारले नै बेहोरिदिने घोषणा गरेको छ ।

दक्षिण अस्ट्रेलियाको सरकारी विद्यालयमा एक दशकदेखि पढाइरहेका कपिल पाण्डेले शिक्षा तथा अध्यापन क्षेत्रमा रुचि भएका नेपालीलाई समेत शिक्षण पेसामा आउने राम्रो अवसर भएको बताए । उनले अहिले अत्यन्तै कम नेपालीले अस्ट्रेलियाका विद्यालयमा अध्यापन गराइरहेको बताउँदै आफ्नो योग्यता तथा ज्ञानअनुसार शिक्षण पेसा अपनाउन सकिने प्रशस्त सम्भावना रहेको सुनाए ।

प्रकाशित : श्रावण २९, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

मार्सीभन्दा महँगो चिनो चामल

मुरीका नामले चर्चित चिनोको माग बढेपछि जुम्ली किसान खेतीमा हौसिएका छन्
डीबी बुढा

जुम्ला — चन्दननाथ नगरपालिका–८ तलिउमकी बास्मती रोकायाको बारीमा टन्न चिनो फलेको छ । तीन वर्षयता उनले झन्डै ५ रोपनीमा चिनो खेती गरेकी छन् । बजारमा चिनो चामलको माग बढ्न थालेपछि हरेक वर्ष उनले चिनोको चामल बेच्छिन् । एक साताअघि मात्र उनले जुम्ला सदरमुकाम खलंगामा प्रतिकिलो १ सय ५० रुपैयाँका दरले चिनोको चामल बेचेर २५ हजार कमाइन् । चिनोको चामललाई स्थानीय भाषामा मुरी भनिन्छ । बजारमा मुरीको माग बढ्न थालेपछि जुम्ली किसान चिनो खेतीमा हौसिएका छन् ।

सदमुकाम खलंगा बजारमा चिनोको चामल (मुरी) प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँसम्ममा किनबेच भइरहेको छ । ‘चिनोको चामल प्रशोधन गर्ने मेसिन नहुँदा समस्या छ,’ उनले भनिन्, ‘परम्परागत ओखलमा कुट्दा झन्झटिलो लाग्छ । तर बजार मूल्य हेर्दा निकै बढी छ ।’ तिला गाउँपालिका–८ का पन्ना रावत एक महिनाअघि बुहारीसहित एक क्विन्टल मुरी लिएर सदरमुकाम खलंगा आइपुगे । बजारमा मुरी बिक्छ कि बिक्दैन भन्ने अन्योलबीच बजार पुगेको उनको भनाइ छ । तर बजार पुग्नेबित्तिकै चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले उनको मुरी किन्यो । १५ हजार हातमा आएपछि उनले खुसी हुँदै भने, ‘चामल त चिनोको पनि बिक्दो रहेछ । गाउँमा गरिबको खानाका रूपमा हेरिन्छ । तर मुरी त मार्सी चामलभन्दा महँगो रहेछ ।’

हाल खलंगामा मार्सी चामल किलोको १ सय ५० रुपैयाँमा किनबेच भइरहँदा चिनो चामल १ सय ८० देखि दुई सय रुपैयाँसम्म पुगेको छ । ‘चिनो चामलको बजार महँगो छ । अब चिनो खेतीलाई व्यावसायिक रूपमा अघि बढाउँछौं । गाउँभरि चिनो चामल उत्पादन हुन्छ । तर बजारको बारेमा लामो समय गाउँमै थन्किन्छ,’ पन्नाले भने । चिनोको भातभन्दा खिर झनै स्वादिलो हुन्छ । सुर्खेत, नेपालगन्ज र काठमाडौंको बजारमा दुई सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँ किलोमा समेत मुरी बेच्ने गरिएको व्यवसायी बताउँछन् ।

तिला–१ रारामा २ सय ८५ भन्दा बढी घर छन् । सबै घरमा चिनो उत्पादन हुन्छ । उनीहरूका हरेक घरमा न्यूनतम ३० किलोदेखि अधिकतम दुई क्विन्टलसम्म मुरी बेच्ने गरी उत्पादन हुन्छ । ‘पहिले चिनो खेतीको कुनै महत्त्व बुझिएन । अहिले चिनोको बजार दर हेर्दा मात्र थाहा भयो । चिनो खेती किसानका लागि फाइदाजनक रहेछ,’ स्थानीय अर्जुन बुढाले भने । उनी गाउँबाट मुरीलगायतको रैथाने खाद्यान्न खरिद गर्ने व्यापारी पनि हुन् । उनले बर्सेनि ५ देखि १० क्विन्टलसम्म मुरी सुर्खेत, नेपालगन्ज र काठमाडौंका सहरसम्म पठाउने गरेका छन् । ‘बजारमा माग धेरै छ । मूल्य पनि राम्रो भएकाले किसान पनि खेती गर्न इच्छुक छन् । मुरी बेचेर राम्रै आम्दानी गर्न सकिने सम्भावना छ,’ उनी भन्छन् ।

जुम्लामा रैथाने वस्तु बिक्री गरिरहेको चन्दननाथ बहुउद्देश्यीय सहकारीले गत वर्ष सुर्खेत, नेपालगन्ज, काठमाडांैं र कैलाली गरी १० क्विन्टल चिनोको चामल बाहिर जिल्ला पठाएको जनाएको छ । सहकारीले चामल प्रशोधनका लागि १० क्विन्टल चिनो भण्डारण गरेर राखिएको छ । चिनो कुट्ने मिलसमेत ल्याइसकेको र बिजुलीको नियमितता नभएकाले प्रशोधन गर्न नसकिएको सहकारीका प्रबन्धक क्रृषिराम पाण्डेले बताए । ‘यहाँको उत्पादन सहरका सुविधासम्पन्न होटलमा पाहुनाको खान्की बनिरहेको छ । तर जिल्लामै चिनोको महत्त्व बुझ्न नसक्नु विडम्बना नै हो ।’

जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाका ६० वटै वडामा चिनो उत्पादन हुन्छ । कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र राराताल घुमेर आउने हरेक पर्यटकको रोजाई चिनोको चामल हुन्छ । चिनोमा धानको चामलभन्दा कम मात्रमा कार्बोहाइड्रेड पाइने जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीको भनाइ छ । ‘तर प्रोटिन, खनिज, लवण, भिटामिन, घुलनशील रेसा पदार्थलगायत अन्य विभिन्न पौष्टिक तत्त्व धानको चामलमा भन्दा बढी मात्रामा पाइन्छ,’ उनले भने ।

जुम्लामा दुई सय हेक्टरमा चिनोको खेती गरिएकोमा २ सय ५० टन उत्पादन हुन्छ । प्रतिहेक्टर १.३ टन चिनो उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्यांक छ । चिनो खेती चैतको दोस्रो साता र असारको पहिलो साता बीउ छरिन्छ । बीउ छरेको २ देखि ५ दिनमै उम्रिन्छ । असारमा छरेको चिनो कात्तिकसम्म पाक्छ । चैतमा छरेको चिनो जेठ अन्तिमतिर पाक्छ । बाला टिपेर एक/दुई दिन एकै ठाउँमा खन्याइन्छ । खुट्टाले माडेर भुस उडाई दाना निकालिन्छ । दुईदेखि तीन दिनसम्म घाममा सुकाई राम्ररी भण्डारण गर्न सकिन्छ ।

मल धेरै नचाहिने, अकासे पानीले पुग्ने, चर्को घाम र सुक्खा सहने, माड्न वा चुट्न सजिलो हुने, वर्षौंसम्म राख्न सकिने र भण्डारण गर्दा किरा नलाग्ने भएकाले चिनो किसानका लागि निकै सजिलो बाली मानिन्छ । चिनो चामल स्वास्थ्यका हिसाबले निकै लाभदायक हुने भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालयको कृषि महाशाखा प्रमुख धनबहादुर कठायत बताउँछन् । मधुमेह भएका मानिसका लागि चिनो उत्तम खानेकुरा मानिन्छ । चिनोमा शरीरलाई विभिन्न रोगबाट बचाउन, खाना पचाउन पाचन रसहरू सक्रिय हुन आवश्यक कोफ्याक्टरका रूपमा काम गर्ने तत्त्वसमेत पाइने गरेको कृषि प्राविधिक बताउँछन् ।

प्रकाशित : श्रावण २९, २०७९ ०७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×