खडेरीले नदीमा पानी घट्दा युरोपभर ढुवानी समस्या- विश्व - कान्तिपुर समाचार

खडेरीले नदीमा पानी घट्दा युरोपभर ढुवानी समस्या

ददि सापकोटा

पेरिस — साढे दुई महिनाभन्दा लामो समयदेखिको चर्को खडेरीले युरोपका नदीमा पानीको स्तर घट्दै गएपछि ढुवानीमा समस्या पर्दै गएको छ ।

जर्मनीको राइन, फ्रान्सको सेन, रोन र ल्वार, इटालीको पो, बेल्जियमको एस्कोट र मास, बेलायतको थेम्स तथा नेदरल्याण्ड्सको मुस लगायत मुख्य नदीमा पानीको स्तर नाटकिय रुपमा घट्न थालेपछि ढुवानी र खाध्यान्नमा गम्भिर असर पर्न लागेको हो ।

युरोपकै सबैभन्दा लामो दानुबे नदी युरोपेली मुलुकका १० देश भएर बग्छ । यो पानीको स्तर घट्दा जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हंगेरी, क्रोआसिया, सर्बिया, रोमानिया, बुल्गेरिया, मोल्दाबह रौरेनको जल यातायातमा समस्या परेको युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रको भनाए छ ।

जर्मनीको राइन नदीमा पानीको स्तर नाटकीय रुपमा घट्दै गएको र आगामी दिनहरूमा गम्भीर रूपमा न्यून बिन्दुमा पुग्न सक्ने आकलन जर्मन अधिकारीहरुले गरेका छन् । राइन नदीबाट हुने ढुवानी सवारी साधनबाट हुनेभन्दा बढी रहेकाले नदीको पानी घट्दा त्यसले कोइला र पेट्रोल लगायत सामानहरू ढुवानी गर्न झन् कठिन बनाउँदै लगेको छ ।

रुसी ग्याँसमा करिब ४० प्रतिशत निर्भर रहेको जर्मनी रुसले नर्दन स्ट्रिम-१ पाइप लाइनबाट ग्याँसको आपूर्ति घटाइदिँदा मार खाइरहेको छ । अब नदीको पानी घटेर कोइला ढुवानीमासमेत असर पर्नाले जर्मनीलाई मात्रै होइन यसले युरोपभर उर्जा संकट थप बढाउने अनुमान गरिएको छ ।


केही हप्तादेखि निरन्तर बढ्दै गएको खडेरी र सुख्खा मौसमले युरोपका धेरै प्रमुख जलमार्गहरूलाई खुम्च्याइदिएको छ । राइन नदीमा पानीको स्तर घट्दा पानी जहाजबाट सामान डेलिभरी गर्ने जर्मन कारखानाहरू र पावर प्लान्टहरूका लागि समस्या पर्न लागेको छ । क्यापिटल इकोनोमिक्सका अनुसार अन्य युरोपेली देशमा भन्दा जर्मनीमा पानी जहाजबाट सामान ढुवानी धेरै हुने गर्छ ।

जर्मनीको यातायात मन्त्रालयका प्रवक्ता टिम अलेक्जान्ड्रिनले राइन नदीको समुद्रमा जोडिने काउब भन्ने ठाउँको घाँटी साँघुरो र पानीको सतह कम हुनाले खडेरीले झनै घटाइदिंदा साना जहाजहरु मात्रै पार गर्न सक्ने अवस्थामा पुगेको बताएका छन् ।


पानीको अभावका कारण हेलब्रोनबाट कोलोनसम्म राइन नदीबाट नुन ल्याउने जहाजहरूले सामान्यतया दुई हजार दुई सय मेट्रिक टन कार्गो बोक्ने गरेकोमा हाल ६ सय टन मात्र ढुवानी गर्न सक्षम रहेको जर्मन रसद कम्पनी एचजिकेका प्रवक्ता क्रिस्चियन लोरेन्जले मेडियाहरुलाई बताएका छन् ।

राइन नदीमा पानीको स्तर घट्दा त्यसले जर्मनीमा मात्रै नभएर नेदरल्याण्ड्सको जल यातायात र कृषिमासमेत निकै ठूलो प्रभाव पार्ने चेतावनी टोरेटीले दिएका छन् ।


उच्च खडेरीका कारण अर्कोतर्फ फ्रान्स र इटालीले पनि संघर्ष गरिरहेका छन् । इटालीको सबैभन्दा ठूलो पो नदीमा पानीको सतह नौ मिटर घटेर पानीको संकट परेको छ भने डुंगा बिना तर्न नसकिने फ्रान्सको ल्वार नदी हाल पैदलमै पार गर्न सकिने भएपछि ढुवानी र सिँचाइमा गम्भीर असर परेको छ ।

इटालीको सबैभन्दा लामो पो नदीले इटालीको ४० प्रतिशत खाद्यान्न उत्पादन गर्ने हुँदा यसको सुकाईले अधिकारीहरुलाई हाल चिन्ता बढाएको छ ।


अधिकारीहरूले थप सामान ओसार्नका लागि अब रेल नेटवर्कमा स्थानान्तरण गर्न कदम चालिरहेको जर्मन यातायात मन्त्रालयका प्रवक्ता अलेक्जान्ड्रिनले बताएका छन् ।


जर्मनीमा उर्जाको संकट परेको र यातायात महँगो परिरहेका बेला नदीको यातायातलाई असर परेमा उर्जा संकट र मूल्य दुबै अझ महँगो हुने क्यापिटल इकोनोमिक्सका युरोपेली प्रमुख अर्थशास्त्री एन्ड्र्यु कनिंघमको भनाइ छ । पानीको अभावले सर्बिया, इटाली, स्पेन, पोर्चुगलको जलविद्युत उत्पादनमा समेत कमी ल्याएको छ ।

नदीमा पानीको स्तर घट्दा पनि चलाउन सकिने साना जहाजहरु निर्माणक लागि उनीहरुले पहल गरेको भनाए जर्मन अधिकारीहरुको छ ।सर्बियाका अधिकारीहरूले जलमार्गलाई गहिरो बनाउन र जहाजहरूलाई सहज रूपमा चलाउन डेन्युब नदीको वालुवा निकाल्न थालेको बताएका छन् ।

युरोपेली आयोग संयुक्त अनुसन्धान केन्द्र (ईसी-जेआरसी) ले हालको खडेरी ५०० वर्षमा सबैभन्दा खराब हुनसक्ने चेतावनी दिएको छ । यो भविष्यवाणीको घोषणा वरिष्ठ अनुसन्धानकर्ता एन्ड्रिया टोरेटीले एक पत्रकार सम्मेलनमार्फत् गरेका हुन् ।

तोरेतीले नदीको पानी सुक्दै गएकाले युरोपमा ढुवानी मात्रै नभएर दैनिक जिवनमा प्रभावित क्षेत्रहरू बढ्ने र प्रभावकारी न्यूनीकरणका उपायहरू नलिइएमा युरोपमा उत्तर र दक्षिण दुवैतिर नाटकीय रूपमा समस्या बढ्ने बताएका छन् ।

पो नदी सुक्दै जानाले खासगरि इटाली सबैभन्दा प्रभावित हुने र त्यसपछि दक्षिणी फ्रान्स, स्पेन र पोर्चुगलको ठूलो क्षेत्रहरू पर्ने उनको भनाइ छ ।


इटालीको पो नदी सुख्खा हुँदै गएपछि पानीको अभावकै कारण रोमले पाँच उत्तरी क्षेत्रहरूमा आपतकालिन अवस्था घोषणा गरिसकेको छ ।

मे महिनादेखिनै सुख्खा पर्नु र जुन देखि खडेरी सुरु भएपछि फ्रान्सको ल्वार नदी सुक्दै गएको छ । नदी यति सुकिसकेको छ कि केही ठाउँमा पैदल पार गर्न सकिने भएको छ ।

उता बेलायतको दक्षिण पश्चिममा रहेको थेम्स नदीकै मुहान कोट्सवोल्ड्स पहाडको फेद सुख्खा भएको अधिकारीहरुले बताएका छन । थेम्स नदीमा पानीको सतह घट्दै जाँदा जल यातायात, पर्यटन र कृषिलाइ ठूलो असर पर्ने भनाइ अधिकारीहरुको छ ।

बेलायत सरकारले शुक्रबारदेखि खडेरीलाई राष्ट्रिय समस्याका रुपमा उल्लेख गर्दै थेम्स लगायत नदीको पानी उपयोगमा नियन्त्रणको घोषणा गरेको छ ।

अभूतपूर्व खडेरीले लगभग आधा युरोपेली महाद्वीपलाई असर गरिरहेको छ। यसले कृषि अर्थतन्त्रलाई नोक्सान पुर्‍याइरहेको छ । पानी प्रतिबन्ध लगाउन बाध्य पारिरहेको छ । जंगलमा डढेलो बढाएको छ र जलचर प्रजातिहरूलाई खतरामा पारिरहेको छ।

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले खडेरीको अवस्था अझ खराब हुने र सम्भावित रूपमा महाद्वीपको ४७ प्रतिशत भूभाग प्रभावित हुने यसै हप्ता चेतावनी दिएको छ ।

प्रकाशित : श्रावण २८, २०७९ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय पाठ्यपुस्तक छाप्न होडबाजी

‘सिँजा क्षेत्र खस भाषा र सभ्यताको केन्द्र भएकाले खस भाषा जोगाउन पाठ्यपुस्तक प्रकाशन गरी कार्यान्वयनमा लगेका हौं’
डीबी बुढा

जुम्ला — जिल्लाका स्थानीय तहहरूमा पाठ्यपुस्तक छपाइ गर्न होडबाजी नै चलेको छ । जिल्लामा पहिलो पटक तातोपानी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक छापेको थियो । सिँजा र चन्दननाथ नगरपालिकाले पनि पाठ्यपुस्तक छापेर विद्यालयमा पठाइसकेका छन् ।

जिल्लाका अधिकांश तहले खस भाषामा पाठ्यपुस्तक छापेका छन् । पहिलो पटक २०७५ सालमा पाठ्यपुस्तक छापेको तातोपानी गाउँपालिकाले पनि खस भाषामै पाठ्यपुस्तक छापेको थियो । स्थानीय भाषा संस्कृति र परम्पराको जगेर्ना गर्दै आर्थिक, सामाजिक, सास्कृतिक, धार्मिक र पर्यटकीय सम्भावनाको उजागार गर्न स्थानीय पाठ्यपुस्तक आवश्यक देखिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनका अनुसार पाठ्यपुस्तकभित्र तातोपानीमा रहेका धार्मिक पर्यटनस्थल, मार्सीधानको खेतीलगायत बारेमा जानकारी दिइएको छ । तातोपानीले २ हजार २ सय पुस्तक प्रकाशन गरेको थियो ।

चन्दननाथ नगरपालिकाले पनि खस भाषामै पाठ्यपुस्तक छापेको छ । भाषा संस्कृतिमा आधुनिकता झल्किन थालेपछि खस भाषामा पाठ्यपुस्तक तयार पारिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंले उनका अनुसार । स्थानीय पाठ्यपुस्तकका लागि नगरले ३ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको थियो । अहिले कक्षा १ देखि ३ सम्म खस भाषामा उक्त पाठ्यपुस्तक पठाइरहेको उनले जानकारी दिए ।

गत वर्ष सिँजा गाउँपालिकाले खस पाठ्यपुस्तक प्रकाशन गरेर विद्यालयमा पठायो । तर विद्यालयमा पुगेको पाठ्यपुस्तक पठनपाठन भइरहेको छ कि थन्काइएको छ भन्ने बारेमा अन्योलता छ । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले पुस्तक २२ वटै विद्यालयमा पुर्‍याइसकिएको भए पनि पठनपाठन भए नभएकोबारे अनुगमन हुन नसकेको बताए । ‘कुन विद्यालयले पढाए र कुनले पढाएनन् भन्ने अझै जानकारी आएको छैन,’ उनले भने, ‘सिँजा क्षेत्र खस भाषा र सभ्यताको केन्द्र भएकाले खस भाषा जोगाउन पाठ्यपुस्तक प्रकाशन गरी कार्यान्वयनमा लगेका हौं ।’

स्थानीयतहले स्थानीय पाठ्यपुस्तक प्रकाशन गर्नु राम्रो भए पनि सरोकारवाला र स्थानीय बुद्धिजिवीसँग परामर्श नै नगरी पुस्तक प्रकाशन गरेको स्थानीय सर्पानन्द हमालले बताए । ‘पालिकाले पाठ्यपुस्तक निर्माण गर्नु कुरा सामान्य होइन, स्थानीय अगुवाहरू र सरोकारवालासँग छलफल गर्न सके सबै विषयवस्तु समेटिन्थे,’ उनले भने, ‘केही स्थानीय तहले अर्कै पालिकाको पाठ्यपुस्तक कपिपेस्ट गरेर पनि किताब छापेका छन् ।’ उनले पाठ्यपुस्तकभित्रका विषयसूची गहन छन् कि छैनन् भन्ने विषयले ठूलो प्रभाव पार्ने जानकारी दिए ।

स्थानीय पाठ्यपुस्तक पढाउने शिक्षक नहुँदा केही विद्यालयमा पठनपाठन हुन नसकेको स्थानीय अगुवा प्रेम न्यौपानेले बताए । ‘स्थानीय पाठ्यपुस्तकले पार्ने दीर्घकालीन प्रभाव के हो ? भन्नेबारेमा पनि स्थानीय सरकारले आकलन गर्न जरुरी छ,’ उनले भने, ‘पठनपाठनका लागि शिक्षकलाई तालिम दिने, विद्यार्थीको रुचि बुझ्ने र स्थानीय पाठ्यपुस्तकको पढाइ भए/नभएकोबारे अनुगमन मूल्यांकन गर्ने काममा पनि पालिकाहरूले ध्यान दिन जरुरी छ ।’


प्रकाशित : श्रावण २८, २०७९ २०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×