सलमान रुस्दीमाथिको आक्रमण कायरतापूर्ण : फ्रान्सेली राष्ट्रपति म्याक्रों- विश्व - कान्तिपुर समाचार

सलमान रुस्दीमाथिको आक्रमण कायरतापूर्ण : फ्रान्सेली राष्ट्रपति म्याक्रों

'उहाँको लडाइँ हाम्रो लडाइँ हो, यो विश्वकै लडाइँ हो ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथिको आक्रमणलाई कायरतापूर्ण कार्यको संज्ञा दिएका छन् । राष्ट्रपति म्याक्रोंले शनिबार ट्वीट गर्दै अभिव्यक्ति स्वतन्त्रता र रुढिवादविरुद्धको लडाइँमा आफू रुस्दीसँगै भएको बताएका हुन् ।

राष्ट्रपति म्याक्रोंले भनेका छन्, '३३ वर्षदेखि सलमान रुस्दी स्वतन्त्रताका लागि आवाज उठाउँदै रुढिवादविरुद्ध लड्दै आउनु भएको छ । उहाँ घृणा र बर्बरतालाई बढावा दिने कायरतापूर्ण आक्रमणको सिकार हुनु भयो । उहाँको लडाइँ हाम्रो लडाइँ हो, यो विश्वकै लडाइँ हो । अहिले पहिलेभन्दा अझ मजबुतीका साथ उहाँका साथमा उभिएका छौँ ।'

शुक्रबार बिहान न्युयोर्कमा आयोजित कार्यक्रममा रुस्दीको घाँटीमा एक व्यक्तिले छुरा प्रहार गरेका थिए ।अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारीको पहिचान न्युजर्सीका २४ वर्षीय हाडी मातरका रूपमा भएको छ । रुस्दीका एजेन्टलाई उद्द्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले आक्रमणबाट रुस्दीको कलेजोमा गहिरो चोट लागेको बताएको छ । एजेन्ट एन्ड्य्रू वाइलले भनेका छन्, 'खबर राम्रो छैन । सलमानले एउटा आँखा गुमाउन सक्ने चिकित्सकले बताएका छन् । पाखुरामा पनि गहिरो चोट लागेको छ । कलेजोमा पनि चोट लागेको छ ।'

आक्रमणपछि रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको थियो भने आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ । आक्रमणपछि रुस्दी मञ्चबाट ढलेका थिए । अन्य मानिस मञ्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएका छन्  । रुस्दी राल्फ हेनरी रीजसँग हुने एउटा अन्तरसंवाद कार्यक्रमका लागि न्युयोर्कमा थिए । रीजको पनि अनुहारमा सामान्य चोट लागेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनले सलमान रुस्दी सिर्जनशील अभिव्यक्ति र अभिव्यक्ति स्वतन्त्रताका सशक्त रक्षक भएको बताएका छन् । रुस्दीमाथिको आक्रमणले अमेरिकामा रहेका लेखकहरूको सुरक्षामाथि चुनौती थपिएको उनले बताएका छन् ।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’ बाट चर्चित बनेका हुन् । उक्त किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । यही किताबका लागि उनले प्रतिष्ठित बुकर अवार्डसमेत जितेका थिए । ७५ वर्षीय रुस्दीले हालसम्म १४ वटा उपन्यास लेखेका छन् ।सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’ का कारण उनी ९ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । पुस्तकले इस्लाम धर्मको अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।

पुस्तक आएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा पुस्तकका अनुवादकसहित दर्जनौं मानिस मारिएका थिए । 'द सटानिक भर्सेज' प्रकाशनपछि जारी भएको फतवा र विवादलाई नै केन्द्रमा राखेर उनले 'जोसेफ एन्टोन' शीर्षकमा उनले संस्मरणसमेत लेखेका छन् । रुस्दीले केही दिनअघि मात्रै आफ्नो प्रकाशोन्मुख उपन्यास 'भिक्ट्री सिटी'को कभर सार्वजनिक गरेका थिए ।

प्रकाशित : श्रावण २८, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

ढुंगेयुगको सहर

बीएन जोशी

जर्जियाको राजधानी टिब्लिसीदेखि झन्डै ६५ किलोमिटर उत्तरपश्चिम दूरीमा छ– गोरी सहर, जुन सोभियत युनियनका नेता जोसेफ स्टालिन (सन् १८७८) को जन्मस्थान हो । यहाँदेखि दस किलोमिटर पूर्वमा छ– विश्व सम्पदामा सूचीकृत प्राचीन सहर अप्लिसिखे अर्थात् केभ टाउन । मत्खभरी नदी किनारमाथिको उचाइमा अवस्थित खुइलो चट्टानी पहाड हो यो । अभिलेखले भन्छन्– सुरुवाती चरणको आइरन युगमा फलामको धारिलो हतियारले काटेर यो सहर निर्माण भएको हो । पुरातत्त्वविद्हरू यो स्थानलाई जर्जिया तथा युरोपकै सबैभन्दा पहिलो मानवनिर्मित व्यवस्थित सहर भन्छन् । यो सहर स्थापना गराउने श्रेय कार्टलोसका नाति, स्खेताका छोरा अपलोसलाई जान्छ ।

अप्लिसिखेमा मानिसको सबैभन्दा अघिल्लो उपस्थिति–चिह्न इसापूर्व दोस्रो सहस्राब्दीको अन्त्यतिरको रहेछ । यी संरचना भने पहिलो सहस्राब्दीतिरको हो । अप्लिसिखे जर्जियाको मुख्य शक्तिकेन्द्रका रूपमा आठौंदेखि दसौं शताब्दीमा पुनरोदय भयो, जतिखेर टिब्लिसीमाथि मुस्लिमले जित हासिल गरे । चौधौँ शताब्दीमा मंगोलको आक्रमणपछि यो सहरको भव्यता क्रमशः मासियो र विदेशी आक्रमणका बखत आक्कलझुक्कल शरण लिने ठाउँमा सिमित रहन पुग्यो ।

यहाँ कडा चट्टानका कापहरूमा खोपीहरू छन् । ती खोपी प्राचीनकालमा मानिसका आवास थिए । पसल, कबल अलग थिए । ठूला सभाहल थिए । बस्तीको मध्यभागबाट सर्पजस्तै सुल्किएको देख्न सकिन्छ पानीको कुलेसो । हाल भने खण्डहर छ । बस्तीको माथिल्लो भागमा पुनर्निर्माणपछि थोरै आधुनिक लाग्ने गिर्जाघर छ । अरु जे छन्, ती सबै संरचना ढुंगा खोपेर बनाइएका हुन् । यो सिंगो पहाड नै सुरुवाती चरणको एउटा सहर रहेछ ।

प्रकाशित : श्रावण २८, २०७९ ०८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×