सलमान रुस्दीको भेन्टिलेटरमा उपचार हुँदै- विश्व - कान्तिपुर समाचार

सलमान रुस्दीको भेन्टिलेटरमा उपचार हुँदै

एजेन्सीहरू

न्युयोर्क — छुरा प्रहारबाट घाइते भएका विश्वप्रसिद्ध लेखक सलमान रुस्दीको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार बिहान न्युयोर्कमा आयोजित कार्यक्रममा रुस्दीको घाँटीमा एक व्यक्तिले छुरा प्रहार गरेका थिए ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारीको पहिचान न्युजर्सीका २४ वर्षीय हाडी मातरका रूपमा भएको छ । रुस्दीका एजेन्टलाई उद्द्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले आक्रमणबाट रुस्दीको कलेजोमा गहिरो चोट लागेको बताएको छ । एजेन्ट एन्ड्य्रू वाइलले भनेका छन्, 'खबर राम्रो छैन । सलमानले एउटा आँखा गुमाउन सक्ने चिकित्सकले बताएका छन् । पाखुरामा पनि गहिरो चोट लागेको छ । कलेजोमा पनि चोट लागेको छ ।'

आक्रमणपछि रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको थियो भने आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ । आक्रमणपछि रुस्दी मञ्चबाट ढलेका थिए । अन्य मानिस मञ्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएका छन्  । रुस्दी राल्फ हेनरी रीजसँग हुने एउटा अन्तरसंवाद कार्यक्रमका लागि न्युयोर्कमा थिए । रीजको पनि अनुहारमा सामान्य चोट लागेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनले सलमान रुस्दी सिर्जनशील अभिव्यक्ति र अभिव्यक्ति स्वतन्त्रताका सशक्त रक्षक भएको बताएका छन् । रुस्दीमाथिको आक्रमणले अमेरिकामा रहेका लेखकहरूको सुरक्षामाथि चुनौती थपिएको उनले बताएका छन् ।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’ बाट चर्चित बनेका हुन् । उक्त किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । यही किताबका लागि उनले प्रतिष्ठित बुकर अवार्डसमेत जितेका थिए । ७५ वर्षीय रुस्दीले हालसम्म १४ वटा उपन्यास लेखेका छन् ।सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’ का कारण उनी ९ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । पुस्तकले इस्लाम धर्मको अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।

पुस्तक आएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा पुस्तकका अनुवादकसहित दर्जनौं मानिस मारिएका थिए । 'द सटानिक भर्सेज' प्रकाशनपछि जारी भएको फतवा र विवादलाई नै केन्द्रमा राखेर उनले 'जोसेफ एन्टोन' शीर्षकमा उनले संस्मरणसमेत लेखेका छन् । रुस्दीले केही दिनअघि मात्रै आफ्नो प्रकाशोन्मुख उपन्यास 'भिक्ट्री सिटी'को कभर सार्वजनिक गरेका थिए ।

प्रकाशित : श्रावण २८, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्

सम्हाल्न नसकेको ‘प्रशिक्षक प्रकरण’

अहिलेको एन्फा नेतृत्वले यस्ता निर्णयहरु गरिरहेका छन्, जसलाई सुनेपछि प्रतिक्रिया आउने गर्छ ‘यस्तो नगरेको भए हुन्थ्यो’
हिमेश

काठमाडौँ — संयोगले श्याम थापा अहिले काठमाडौंमै छन् । विषयको उठान उनकै शब्दबाट । केही वर्षअगाडि नेपाली टिमको जिम्मेवारी उनकै काँधमा हुँदा उनी भन्थे, ‘फुटबलमा कसरी विकास गर्ने भन्ने ठ्याक्कै सूत्र कोहीसँग पनि छैन । तर सफलतासम्म पुग्ने निश्चित बाटो भने छन् । त्यसमध्ये एउटा हो, प्रशिक्षकको ठूलो समूह आफ्नै देशमा निर्माण गर्ने अनि तिनलाई मौका दिँदै जाने । एउटा तथ्य निश्चित छ, जतिबेलासम्म राम्रा प्रशिक्षक हुँदैनन्, राम्रा खेलाडी पनि निस्कँदैनन् ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको पालोमा केही असाध्यै राम्रो भएको थियो भने त्यो एकपछि प्रशिक्षकको प्रशिक्षण थियो । शृंखलाबद्ध प्रशिक्षकहरूको उत्पादन थियो । भर्खर एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमबारे एउटा निर्णय गरेको छ, जसअनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि कार्यबाहक प्रशिक्षक हुनेछन् प्रदीप हुमागाईं । ‘कार्यबाहक’ शब्द आफैंमा अमूर्त छ । कार्यबाहक प्रशिक्षकले के गर्छन् र के गर्दैनन् बुझ्न सकिन्न ।

हुमागाईंलाई नियुक्त गर्ने एन्फाको यो निर्णयप्रति प्रश्न गर्ने अनेक स्थान छन् । सबैभन्दा महत्त्वपूर्ण तथ्य के हो भने अहिलेको एन्फा नेतृत्वले यस्ता निर्णयहरू गरिरहेका छन्, जसलाई सुनेपछि नेपाली फुटबलसँग नजिकका प्रायको प्रतिक्रिया आउने गर्छ, यस्तो नगरेको भए हुन्थ्यो । पंकजविक्रम नेम्वाङले एन्फाको नेतृत्व सम्हालेयता नेपाली राष्ट्रिय प्रशिक्षकबारे ठोस निर्णय गर्न सकेकै छैनन् । जति निर्णय भएका छन्, धेरै हदसम्म ती अपरिपक्व छन् ।

कार्यबाहक प्रशिक्षक नियुक्तको निर्णय पनि यही आलटालपूर्ण निर्णय शृंखलाको एक अर्को कडीमात्रै हो । हुमागाईं को हुन् र कस्ता हुन्, त्यसतर्फ नजाऔं । सबैभन्दा पहिलो औपचारिक रूपमा नेपालको मुख्य प्रशिक्षक नै रहेका अब्दुल्लाह अल्मुताइरीकै चर्चा गरौं । नेतृत्व बाहिर रहँदा अल्मुताइरीलाई पाँच मिनेटमै हटाउन सकिन्छ भन्ने जस्तो कुरा नेतृत्वमा रहँदा हुँदैन । विश्व फुटबलमा प्रशिक्षक नियुक्ति आफैंमा केही हदसम्म जटिल प्रक्रिया हो, जसलाई फुटबल संघले निकै सावधानीपूर्वक सम्हाल्नुपर्छ ।

अल्मुताइरीलाई अनुबन्ध गर्दा पनि केही खास प्रक्रिया पछ्याएका छन् । यसमा दुई होइन, तीन पक्ष जोडिएका छन् । त्यो एन्फा, कतार फुटबल संघ र प्रशिक्षक अल्मुताइरी स्वयं हो । बंगलादेशविरुद्धको खेलका लागि अल्मुताइरीले टिम छानिसकेको समाचार बाहिर आएको स्थितिमा हुमागाईंको नियुक्तिको अर्थ के र उनले साँच्चै काम गर्न पाउँछन् वा पाउँदैनन्, त्यो खुलस्त भएको छैन । यो सबै प्रकरणमा एन्फा वा अल्मुताइरीमध्ये को ठीक र को बेठीक आफ्नै ठाउँमा होला ।

तर, एन्फाले सबै प्रकरणलाई कानुनी रूपमा पछि समस्या नहुने गरेर बाटो खुलस्त पार्नुपर्थ्यो । अब अर्को तथ्य । विश्व फुटबलको आमचलन हो, मुख्य प्रशिक्षकले टिम हेर्ने सक्ने अवस्था रहेन भने त्यसको तुरुन्त जिम्मेवारी उनका सहायकलाई जान्छ । लगभग टिम उही रहन्छ । अल्मुताइरी बंगलादेशविरुद्धको खेलमा अनुपस्थित नै रहने हो भने उनको स्थानमा टिम हेर्नका लागि सबैभन्दा उपयुक्त व्यक्ति सहायक प्रशिक्षक किरण श्रेष्ठ नै हुन्, अरू होइनन् । विश्व फुटबलको प्रक्रिया यही हो । फेरि अल्मुताइरीकै भनाइ मान्ने हो भने राष्ट्रिय टिमको प्रशिक्षणमा लामो समय बिताइसकेको हुनाले श्रेष्ठ आफैं उम्दा प्रशिक्षक भइसकेका छन् । फेरि उनी योहान कालिन छँदै नेपाली टिमसँग जोडिसकेका थिए । उनको सम्भावना नरहेको स्थितिमा पनि हुमागाईंभन्दा राम्रो विकल्प नेपालमै छ । उनी जत्तिको वा उनीभन्दा राम्रा प्रशिक्षक यहीं उपलब्ध छन् । सुरुमै लेजेन्डरी फुटबल व्यक्तित्व थापाको भनाइ उल्लेख गरेको यही प्रसंगमा हो ।

हुमागाईंको नियुक्ति धेरै हदसम्म नेपाली फुटबलकै लागि भने आफ्नो जीवन समर्पित गरिरहेका प्रशिक्षकप्रति अन्याय हो । हुमागाईं प्रशिक्षकका रूपमा नेपाली फुटबलमा केही वर्षका लागि आए, फेरि विदेशमा हराए । नेपालमै रहेर कडा मिहिनेत गरिरहेका प्रशिक्षक धेरै भए, मौका पाउनुपर्ने तिनैले हो । एन्फाको मिहिनेतकै कारण नेपालमै ‘ए–लेभल’ का प्रशिक्षक बाक्लै छन् । फुटबल राजनीतिका कारण मन पर्न सक्छ, नपर्न पनि सक्छ । यसबीच सबैभन्दा राम्रो विकल्प त बालगोपाल महर्जन नै हुन् ।

उनी नेपाली फुटबलको ‘लेजेन्ड’ हुन् । प्रशिक्षकका रूपमा पनि एकपल्ट होइन, धेरैपल्ट प्रमाणित भइसकेका प्रशिक्षक हुन् । त्यो पनि राष्ट्रिय टिमकै लागि । प्राविधिक रूपमा उपेन्द्रमान सिंह पनि उत्तिकै उम्दा छन् । उनको सबैभन्दा ठूलो गल्ती हो, माथिल्लो दर्जाका उनी प्राविधिक काममा नलागेर फुटबल राजनीतितिर लागे । पुराना अनुहारतिर जाने हो भने राजुकाजी शाक्य पनि छन् । राष्ट्रिय टिम सम्हाल्न खास–खास प्रशिक्षकमा योग्यता पुग्छ वा पुग्दैन, त्यो फरक प्रसंग भयो ।

फेरि नेपाली फुटबलमा लामो समयदेखि प्रशिक्षकका रूपमा सक्रिय एकाध व्यक्तिहरू छन् । जस्तो कि किशोर केसी । ग्राहम रोबर्टसले नेपाल छँदा भनेरै गएका थिए, उनी जत्तिको प्राविधिक रूपमा सबल प्रशिक्षक नेपाली फुटबलमा बिरलै होला । यसमै मेघराज केसी र सुनील श्रेष्ठ पनि जोडिन सक्छन् । नयाँ पुस्ताकै कुरा गर्दा नवीन न्यौपाने छन् । उनले पनि घरेलु फुटबलमा आफूलाई प्रमाणित गरिसके । उनी पनि यसअघिका नामजस्तै नेपाली फुटबलकै लागि समर्पित छन् ।

यसको सूची बनाउने हो भने लामै हुन्छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल त प्रशिक्षकको परिक्षण गर्ने राम्रो अवसर थियो, जुन एन्फाले गुमाएको छ । जहाँसम्म हुमागाईंबारे कुरा छ, उनीबारे सबैभन्दा जानकार दिवंगत ललितकृष्ण श्रेष्ठ हुन् । उनले नै प्रदीपलाई थ्रीस्टारमा पहिलोपल्ट मौका दिएका थिए । आफू जीवित छँदा एन्फाको कार्यबाहक अध्यक्षसम्म भएका श्रेष्ठले हुमागाईंबारे आफू नजिकका सबैलाई पर्याप्त सुनाएकै छन् । त्यसमध्ये अधिकांश अहिले पनि एन्फामै छन् ।

प्रकाशित : श्रावण २८, २०७९ ०६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×