१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रसिद्ध उपन्यासकार सलमान रुस्दीको घाँटीमा छुरा प्रहार

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको न्यूयोर्कमा विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीको घाँटीमा छुरा प्रहार भएको छ । न्यूयोर्क प्रहरीका अनुसार एक कार्यक्रममा मञ्चमा बसिरहेका रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो । स्थानीय समयअनुसार बिहान ११ बजे एक व्यक्ति मञ्चमा गएर रुस्दीमाथि छुरा प्रहार गरेका थिए । 

प्रसिद्ध उपन्यासकार सलमान रुस्दीको घाँटीमा छुरा प्रहार

रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ ।

आक्रमणपछि रुस्दी भुइँमा ढलेका थिए । रुस्दी ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मञ्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट भएका छन् ।

साथै रुस्दीको स्वास्थ्य अवस्थाबारे तत्कालै जानकारी प्राप्त हुन नसकेको बताइएको छ । भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति 'मिडनाइट चिल्ड्रेन'बाट विश्वप्रसिद्ध भएका थिए । सो किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन् ।

सन् १९८८ मा लेखेको 'द सटानिक भर्सेस'का कारण उनी नौ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।

पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा दर्जनौं मानिस मारिएका थिए । जसमा पुस्तकका अनुवादक पनि थिए । रुस्दीविरुद्धको टाउकाको मूल्य अहिले पनि कायम छ ।


प्रकाशित : श्रावण २७, २०७९ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?