प्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकामा सांघातिक आक्रमण- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकामा सांघातिक आक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्क सहरमा सांघातिक आक्रमण भएको छ । न्युयोर्कमा एउटा कार्यक्रममा बोल्ने क्रममा रुस्दीमाथि आक्रमण भएको हो ।

आक्रमणपछि रुस्दी भुइँमा ढलेका थिए । रुस्दी भुइँमा ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मन्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट भएका छन् ।

प्रहरीले छुरा प्रहार भएको बताए पनि पीडितको नाम भने सार्वजनिक नगरेको एएफपीले जनाएको छ । साथै रुस्दीको स्वास्थ्य अवस्थाको बारेमा तत्कालै जानकारी प्राप्त हुन नसकेको बताइएको छ ।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति 'मिडनाइट चिल्ड्रेन'बाट विश्वप्रसिद्ध भएका थिए । सो किताव बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन् ।

सन् १९८८ मा लेखेको 'द सटानिक भर्सेस'का कारण उनी नौ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।

पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा दर्जनौं मानिस मारिएका थिए । जसमा पुस्तकका अनुवादक पनि थिए । रुस्दीविरुद्धको टाउकाको मूल्य अहिले पनि कायम छ ।

प्रकाशित : श्रावण २७, २०७९ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्

महँगी र भ्रष्टाचारको विरोधमा साना चार पार्टीद्वारा आन्दोलन घोषणा 

कान्तिपुर संवाददाता

काठमाडौँ — महँगी, भ्रष्टाचार नियन्त्रण र अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार साना पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

चार कम्युनिस्ट पार्टीको शुक्रबार बसेको बैठकले सरकार विगतको सहमति कार्यान्वयन नगर्ने, राष्ट्रघाती कार्य गर्न लागेको आरोप लगाउँदै पाँच दिने संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । ती पार्टीहरुले भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, भदौ ४ गते विरोधसभा, ६ गते मसाल जुलुस र ७ गते नेपाल बन्दको निर्णय भएको शुक्रबार जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।



प्रकाशित : श्रावण २७, २०७९ २१:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×