अफगानिस्तानमा ४०० विद्यालय बन्द

एजेन्सी

काबुल — अफगानिस्तानमा पछिल्लो समय कम्तीमा ४ सयभन्दा बढी निजी विद्यालय बन्द भएका जनाइएको छ ।

अफगानिस्तानमा ४०० विद्यालय बन्द

आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निजी विद्यालयको संगठनका नेता जाविहुल्लाह फुक्वानीले गरिबीका कारण अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेका जनाए । त्यसैगरी, सरकारको निर्णयअनुसार कक्षा ६ देखि १२ सम्म बालिकालाई विद्यालय जान निषेध गरिएकाले पनि विद्यार्थीहरूको संख्या घटेको उनको भनाइ छ । तालिवान सरकारका प्रमुख प्रवक्ता जाविहुल्लाह मुजाहिदले धार्मिक कारणले छात्रालाई विद्यालयमा पढाउन नसकिएको बताए । मानव अधिकारवादी, लोकतन्त्रवादी र विभिन्न अन्तर्राष्ट्रिय निकायले बालिकाहरूलाई विद्यालय जान दिनुपर्ने दबाब दिइरहेका भए पनि तालिवान सरकारले बेवास्ता गर्दै आएको छ । सरिया कानुनका कारण बालिकालाई विद्यालय जान निषेध गरिएको निर्णय फिर्ता लिन नसकिएको उनको भनाइ छ ।

अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको हो । त्यस्तै, महिलालाई जागिर गर्न र विदेश तथा लामो दूरीको यात्रा अभिभावकबिना गर्न नपाइने आदेश जारी गरिएको छ । ती प्रतिबन्धहरू हटाउन सर्वत्र आवाज उठ्दै आएको भए पनि तालिवान सरकारले अस्वीकार गर्दै आएको छ ।

प्रकाशित : श्रावण २७, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?