सत्ताका खेलाडी नीतीश

राष्ट्रिय जनता दल र भारतीय राष्ट्रिय कंग्रेसको समर्थनमा फेरि बिहारको मुख्यमन्त्री बन्ने 
एजेन्सीहरू

पटना — भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतीश कुमारले सरकार परिवर्तन गर्ने कलामा आफू माहिर रहेको पुनः एक पटक प्रमाणित गरिदिएका छन् । सन् २००५ यता आठ महिनामात्र मुख्यमन्त्रीको कुर्सीबाहिर रहेका नीतीशले मंगलबार भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धन तोडेका हुन् । 

सत्ताका खेलाडी नीतीश

यसलाई नीतीशले सन् २०१७ मा भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलाएन्स (एनडीए) गठबन्धनमा आबद्ध हुन राष्ट्रिय जनता दल (राजद) नेतृत्वको महागठबन्धनलाई ‘लात हान्ने’ घटनासँग जोडेका छन् ।

कतिपयले भने नीतीशको पछिल्लो कदमलाई राष्ट्रिय कंग्रेससँगको गठबन्धन तोडेर भाजपा र शिव सेनाको विद्रोही पक्षबीचको सरकार गठनको जवाफका रूपमा हेरेका छन् । ‘बिहार महाराष्ट्र नामक सिक्काको अर्को पाटो बनेको छ,’ मौलाना आजाद इन्स्टिच्युट अफ एसियन स्टडिजका पूर्वप्राध्यापक तथा राजनीतिक विश्लेषक रणवीर समदरले भने ।

सन् १९५१ को मार्च १ मा जन्मिएका निशित कुमार पहिलो पटक सन् २००० मा मुख्यमन्त्री बनेका थिए । छोटो समयको मुख्यमन्त्रीको कार्यकालपछि उनी अटल बिहारी बाजपेयी सरकारमा मन्त्री बने । रेलमन्त्रीका रूपमा उनले भारतीय रेलसेवामा चामत्कारिक सुधार गरेका थिए ।

सन् २००५ मा दोस्रो पटक मुख्यमन्त्री बनेपछि नीतीशले ‘सुशासन बाबु’ का रूपमा चिनिए । विकासको मामिलामा पुछारमा रहेको बिहारमा उनले कानुनी शासन स्थापित गरे । सडक, पुल लगायतका संरचनाको उल्लेख्य विकास गरे र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याए ।

मुख्यमन्त्रीका रूपमा उनले एक लाखभन्दा बढी शिक्षकहरू नियुक्त गरे । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकले काम गर्ने वातावरण सिर्जना गरे र कैयौं गाउँलाई झलमल्ल पारे । नयाँ सडकहरू बनाए, महिला साक्षरतामा उल्लेख्य सुधार गरे । समग्रमा बिहारीको औसत आम्दानी दोब्बर बनाइदिए ।

तर ‘सत्ताको चास्नीमा डुबिरहन×’ चाल्ने पटकपटकको कित्ता परिवर्तन गर्ने कदमले पछिल्लो समय नीतीशको छवि भने धूमिल हुँदै गएको छ । अझ भनौं, राजनीतिको पूर्वार्द्धमा ‘सुशासन बाबु’ को उपनामले चर्चित नीतीश अब ‘कुर्सीको लिसो’ का रूपमा चिनिन थालेका छन् ।

यसअघि २०१५ मा जनता दल युनाइटेड (जदयू), राजद, कांग्रेस र वामपन्थी दलहरूले महागठबन्धन बनाएर भाजपाविरुद्ध चुनाव लडेका थिए । उनीहरूले सरकार बनाए पनि नीतीशले बीचमै गठबन्धन तोड्दै भाजपासँग सहकार्य गरेका थिए । त्यसपछि सन् २०१७ मा उनी एनडीए गठबन्धनमा गएका थिए । सन् २०१७ मा ७१ सिट भएको जदयूले भाजपासँगको तालमेलमा सन् २०२० को चुनावमा ४५ सिट जितेको थियो ।

नीतीशको जदयूले भाजपासँगको सत्ता सहकार्य तोडेसँगै सात दलीय नयाँ गठबन्धन निर्माण गरेका छन् । मंगलबार पटनास्थित राजभवन पुगेर राज्यपाल फागु चौहानलाई राजीनामा बुझाएका नीतीश राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कंग्रेस र वाम दलहरूको समर्थनमा पुनः मुख्यमन्त्री बन्दै छन् । उनले बुधबार मुख्यमन्त्रीको शपथ लिने जनाइएको छ ।

२४३ सदस्यीय बिहार विधानसभामा सरकार गठनका लागि १२२ विधायकको समर्थन आवश्यक पर्छ । सबैभन्दा ठूलो दल राजदका ७९ सदस्य छन् । जदयूको ४५, राष्ट्रिय कंग्रेसको १९ र वामपन्थी दलहरूको १६ सिट छ । ७७ विधायक रहेको भाजपा विधानसभाको दोस्रो ठूलो दल हो । विधानसभाको गणित हेर्दा नीतीश अब करिब २ तिहाइ विधायकको समर्थनमा मुख्यमन्त्री बन्ने भएका हुन् ।

योसँगै उनले भारतको राजनीतिक इतिहासमै सबैभन्दा बढी अर्थात् ८ पटक मुख्यमन्त्री बन्ने कीर्तिमान कायम गरेका छन् । उनी यस्तो मुख्यमन्त्री हुन् जसको पार्टीले कहिल्यै पूर्ण बहुमत ल्याएको छैन, तर पनि सन् २००५ यता ८ महिनाबाहेक राज्य सरकारको नेतृत्व सम्हालेका छन् ।

पत्रकारसँग कुरा गर्दै नीतीशले आफ्नो दलका सबै सांसदहरूको सहमतिमा भाजपा नेतृत्वको गठबन्धन छाड्ने निर्णय भएको बताए । नयाँ सरकार गठनका लागि कांग्रेस र वामपन्थी दलहरूले राजदका नेता तेजस्वी यादवलाई समर्थन पत्र बुझाइसकेका छन् ।

बिहारका पूर्वमुख्यमन्त्री लालु यादवका छोरा तेजस्वीले गृह मन्त्रालय र सभामुख आफ्नो दलले पाउनुपर्ने माग राखेका छन् । तेजस्वी यसअघि नीतीश नेतृत्वको सरकारमा उपमुख्यमन्त्री थिए । उनी पुनः उपमुख्यमन्त्री हुने तय भएको छ ।

पछिल्लो समय भाजपाले क्षेत्रीय दलहरूसँग तालमेल गरी विभिन्न राज्यमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ भने प्रतिपक्ष दलहरू झन् कमजोर देखिएका छन् । तर पछिल्लो कदमपछि नीतीशको सशक्त प्रतिपक्ष नेताका रूपमा हेरिएको छ ।

पछिल्लो समय बिहारमा नाटकीय रूपमा जुटेको सत्ता गठबन्धनले भने भाजपालाई झस्काएको छ । पछिल्लो समीकरण कायमै रहेको खण्डमा बिहारको आगामी चुनाव भाजपाका लागि वास्तविक ‘राजनीतिक रणमैदान’ हुने देखिएको छ ।

भारतमा सन् २०२४ मा लोकसभा र २०२५ मा बिहार विधानसभा चुनाव हुँदै छ । सन् २०१९ को लोकसभा चुनावमा बिहारले एनडीएलाई ठूलो जित दिलाएको थियो । बिहारका ४० मध्ये ३९ सिट एनडीएले जितेको थियो ।

सन् २०२४ को लोकसभा चुनावमा प्रतिपक्ष नेताका रूपमा नीतीशसहित पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसम्मका नेताहरूले चुनौती थप्ने देखिएको छ । तर देशव्यापी रूपमा सशक्त प्रतिपक्षको सामना नगरेको भाजपाले कम्तीमा अझै एक कार्यकाल सरकार बनाउने विश्लेषकहरूको दाबी छ ।

७१ वर्षीय नीतीश बिहार विद्युत् बोर्डका पूर्वइन्जिनियर हुन् । सन् १९७० को दशकमा उनी समाजवादी नेता राम मनोहर लोहिया र जयप्रकाश नारायणको आन्दोलनमा सहभागी भएका थिए । समाजवादी पार्टीको पटकपटकको विभाजन र एकीकरणपछि नीतीशले जदयू गठन गरेका हुन् ।

प्रकाशित : श्रावण २५, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?