स्विजरल्यान्डमा सयौं मानिसले लिङ्ग परिवर्तन गरे

ददि सापकोटा

पेरिस — सयौं स्विस नागरिकहरूले आफ्नो लिङ्ग परिवर्तन गरेका छन् । जनवरी १ देखि आफ्नो आधिकारिक लिङ्ग परिवर्तन गर्न चाहने जो कोहीले स्विजरल्यान्डको अदालत धाउनु नपर्ने भएपछि लिङ्ग परिवर्तन गरेका हुन् । यस अघि आफ्नो प्राकृतिक लिङ्ग परिवर्तन गर्न चाहनेले अदालतको आदेश र मेडिकल प्रमाणपत्रका लागि धाउनुपर्ने हुन्थ्यो ।

स्विजरल्यान्डमा सयौं मानिसले लिङ्ग परिवर्तन गरे

स्विजरल्यान्डमा वर्षको सुरुमा एक सरल दर्ता प्रक्रियाको परिचय गरिएपछि सयौं मानिसहरूलाई आफ्नो आधिकारिक लिङ्ग परिवर्तनको बाटो सहजै खुलेको हो । ठूला सहरमा मात्रै ३५० जनाले लिङ्ग परिवर्तन गरेको संघीय कार्यालयले जनाएको छ ।

जुरिच सहरमा ८०, बासेलमा ४७, राजधानी बर्नमा ४६, जेनेभामा ३६ र लुसर्नमा १९ जनाले आफ्नो लिङ्ग परिवर्तन गरेको एनजेडजेड एएम सोनटागले गरेको सर्वेक्षणले देखाएको छ ।

लिङ्ग परिवर्तन गर्नेहरूमध्ये नौ जना १६ वर्षभन्दा कम उमेरका भए पनि बाँकी १६ देखि ७५ वर्षको उमेरका छन् । महिलाबाट पुरुषमा परिवर्तन गर्नेहरूको अनुपात पुरुषबाट महिलामा परिवर्तन गर्नेकोभन्दा बढी छ ।

ट्रान्सजेन्डर र अन्तरलिङ्गी व्यक्तिहरूले अब न्यायिक जटिलता बिना नागरिक सूचीमा आफ्नो पहिलो नाम र लिङ्ग परिवर्तन गर्न सक्छन् । पहिले झैँ कुनै पनि मेडिकल परीक्षा वा अन्य पूर्वसर्तहरू पूरा गर्नु पर्दैन । यसअघि ती सबै न्यायिक र दर्ताका झमेलाहरू थिए ।

स्विजरल्यान्डमा महिलाहरूले हाल ६४ वर्षको उमेरमा सेवाबाट अवकाश लिन सक्छन् । तर पुरुषको लागि भने ६५ वर्ष छ । सैनिक सेवा पुरुषका लागि अनिवार्य र महिलाका लागि ऐच्छिक छ । छिटो अवकाश लिन, सैनिक सेवा छल्न विभिन्न सेवाका हिसाबले लिङ्ग बदल्न खोज्नेहरूको नामावली निगरानी गरिने जनाइएको छ ।

स्विस सिभिल रजिस्ट्री एसोसिएसनका अध्यक्ष रोलान्ड पिटरहान्सले आफूहरूले कुनै पनि पुरुषले पहिले अवकाश लिन वा सैन्य सेवाबाट बच्न लिङ्ग परिवर्तन गरेको नभेटेको एनजेडजेड एएम सोनटागलाई बताएका छन् ।

पिटरहान्सले हालको कानुनी प्रावधानले सबैका लागि न्याय गरेको उल्लेख गरेका छन् । 'मैले करिब ३० जना त्यस्ता व्यक्तिसित व्यवहार गरेको थिएँ, उनीहरूका लागि यो अविश्वसनीय प्रगति हो । उनीहरूले अब अदालतमा आफूलाई उपस्थित गराउनु पर्दैन ।'

स्विस सिभिल रजिस्ट्री एसोसिएसनका अनुसार स्विजरल्यान्डमा हरेक वर्ष करिब ४० बालबालिका अनिश्चित लिङ्गका साथ जन्मिन्छन् । तर, हालको कानुनले तीन दिनभित्र आफ्नो लिङ्ग र पहिलो नाम दर्ता गरिसक्नुपर्ने व्यवस्था गरेको छ । पछि प्रशासनिक वा न्यायिक प्रक्रियाबाट मात्र परिवर्तन गर्न सकिने हुँदा नागरिकहरू अन्यायमा पर्दै आएको गुनासो गरिएको थियो ।

स्विजरल्यान्डमा सयौं ट्रान्सजेन्डरहरू छन् । दर्ता गरिएकामध्ये नै करिब २०० ले आफ्नो लिङ्ग परिवर्तन गर्न अपरेसन गर्नुपरेको भनाइ स्विस सिभिल रजिस्ट्री एसोसिएसनका अध्यक्ष रोलान्ड पिटरहान्सको छ ।

यसरी लिङ्ग परिवर्तन गर्नेबारे सन् २०२० मै स्विजरल्यान्डमा कानुनि प्रक्रिया सुरु भएको थियो । सन् २०२२ को जनवरीमा संसदको दुवै सदनले पास गरेपछि लिङ्ग परिवर्तनलाई कानुनी रुपमै सहज पारिएको हो ।

प्रकाशित : श्रावण २४, २०७९ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?