१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिहारमा नीतीशले तोडे भाजपासँगको गठबन्धन

राजद र कांग्रेसको समर्थनमा फेरि मुख्यमन्त्री बन्ने तयारी
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको बिहार राज्यमा जनता दल युनाइटेड(जदयू) ले भारतीय जनता पार्टीसँगको सत्ता सहकार्य तोडेको छ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले नयाँ गठबन्धन निर्माणका लागि भाजपासँगको सहकार्य तोडेका हुन् । उनले केही समयअगाडि पटनास्थित राजभवन पुगेर राज्यपाल फागु चौहानलाई राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

बिहारमा नीतीशले तोडे भाजपासँगको गठबन्धन

भाजपासँगको सहकार्य तोड्दै नीतीशले राष्ट्रिय जनता दल(राजद), भारतीय राष्ट्रिय कांग्रेस र वाम दलहरूको समर्थनमा सरकार बनाउने बताइएको छ । पटक-पटक सरकार बनाउनका लागि गठबन्धन फेरिरहने नीतीश राजदको समर्थनमा पुन: मुख्यमन्त्री बन्ने छन् । उनले भारतीय इतिहासमै सबैभन्दा बढी ८ पटक मुख्यमन्त्रीका रूपमा शपथ लिनेछन् । उनी यस्तो मुख्यमन्त्री हुन् जसको पार्टीले कहिल्यै पूर्ण बहुमत ल्याएको छैन तर पनि १५ वर्षदेखि बिहारको मुख्यमन्त्री छन् ।

नीतीशले राजीनामा बुझाएपछि पत्रकारहरूसँगको कुराकानीमा सबै सांसदहरूबीच बीजेपी नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) छाड्ने सहमति भएको बताएका छन् । बिहारमा नयाँ सरकार गठन गर्नका लागि कांग्रेस र वामपन्थी दलले राजदका नेता तेजस्वी यादवलाई समर्थन पत्र बुझाइसकेका छन् ।

पूर्वमुख्यमन्त्री लालु यादवका छोरासमेत रहेका तेजस्वीले गृह मन्त्रालय र सभामुख आफूहरूले पाउनुपर्ने माग अगाडि सारेका छन् । तेजस्वी यसअघि पनि नीतीश नेतृत्वको सरकारमा उपमुख्यमन्त्री बनिसकेका छन् । यसअघि २०१५ मा जदयू, राजद, कांग्रेस र वामपन्थी दल महागठबन्धन बनाएर भाजपाविरुद्ध चुनाव लडेका थिए । उनीहरूले सरकार बनाए पनि बीचमै नीतीशले गठबन्धन तोड्दै भाजपासँग सहकार्य गरेका थिए । २०१७ मा उनी एनडीए गठबन्धनमा गएका थिए ।

भाजपाले क्षेत्रीय पार्टीहरूसँग तालमेल गरी राज्यहरूमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको आरोप लागेको छ । २०१७ मा ७१ सिट भएको जदयू भाजपासँगको तालमेलमा २०२० को चुनावमा मात्र ४५ सिटमा विजयी भएको थियो । कुनै समय बिहारमा 'सुशासन बाबु' का नामले समेत चिनिने नीतीशको लोकप्रियता पछिल्लो समय भने घट्दै गएको छ ।

२४३ विधायक रहेको बिहारमा सरकार बनाउन १२२ जनाको समर्थन चाहिन्छ। बिहारमा राजद ७९ सिटसहित सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको छ । त्यस्तै जदयूको ४५ सिट रहेको छ । त्यस्तै भारतीय कांग्रेसको १९ र वामपन्थी दलहरूको १६ सिट रहेको छ । त्यस्तै भाजपासँग भने ७७ विधायक रहेका छन् । यस्तोमा नीतीशले करिब २ तिहाइ विधायकको समर्थन पाउने देखिन्छ ।

भारतमा पछिल्ला केही वर्षमा भाजपाले आफ्नो पकड बलियो बनाउँदै गएका बेला प्रतिपक्ष भने कमजोर हुँदै गएको छ । यही अवस्थामा नीतीशलाई सशक्त प्रतिपक्ष नेताका रूपमा हेरिएको छ । २०२४ मा हुने भारतीय लोकसभा चुनाव र २०२५ मा हुने बिहार विधानसभा चुनावसम्म पछिल्लो समीकरण कायम रहे भाजपालाई चुनौती थपिन सक्छ ।

सन् २०१९ को लोकसभा चुनावमा बिहारले एनडीएलाई ठूलो जित दिलाएको थियो । बिहारका ४० मध्ये ३९ सिट एनडीएले जितेको थियो । २०२४ को लोकसभा चुनावमा प्रतिपक्ष नेताका रूपमा नीतीशसहित पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसम्मका नेताहरूले चुनौती थप्न सक्ने देखिएको छ ।

प्रकाशित : श्रावण २४, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?