इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच युद्धविराम

युद्धविराम उल्लंघन भए कडा प्रतिवाद गर्ने इजरायलको चेतावनी
एजेन्सी

जेरुसेलम — तीन दिनसम्म चलेको हिंसात्मक संघर्षपछि इजरायल र प्यालेस्टिनी विद्रोही समूहबीच युद्धविराम भएको छ । दुईपक्षीय हिंसामा कम्तीमा ५१ जनाले ज्यान गुमाएका जनाइएको छ । मृत्यु हुनेमध्ये १५ जना बालबालिका रहेका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच युद्धविराम

प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) का लडाकुले आइतबार मध्यरातबाट युद्धविराम लागू भएको बताएका छन् । इजरायली प्रधानमन्त्री याइर लापिडले पनि युद्धविरामको पुष्टि गरेका बीबीसीले जनाएको छ । गाजामा मानवीय संकट उत्पन्न हुने चिन्ताबीच दुई पक्षले युद्धविराम सहमति गरेका हुन् । युद्धविरामपछि प्यालेस्टाइनमा खुसी मनाइएको छ । इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा दुई पक्षबीच युद्धविराम भएको हो । इस्लामिक जिहादका प्रवक्ताले आफ्ना मानिसमाथि इजरायली आक्रमण रोक्न पहल गरेको भन्दै इजिप्टको प्रशंसा गरेका छन् । युद्धविराम उल्लंघन भएको खण्डमा आफूसँग कडा प्रतिवाद गर्ने अधिकार रहेको इजरायलले चेतावनी दिएको छ ।

सन् २०२१ मा ११ दिनसम्म चलेको द्वन्द्वपछि अहिले भएको हिंसा सबैभन्दा ठूलो हो । गाजाको स्वास्थ्य मन्त्रालयले भने इजरायली सेनाको हवाई आक्रमणमा ५१ जना प्यालेस्टिनी मारिएका र ३ सय जनाभन्दा बढी घाइते भएका जनाएको छ ।

युद्धविराम हुनुअघि इजरायली सेनाले गाजास्थित पीआईजेलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । त्यसको जवाफमा गाजाबाट दर्जनौं रकेट प्रहार गरिएको भए पनि आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निस्तेज पारेको इजरायलले जनाएको छ । शुक्रबारयता प्यालेस्टिनी भूभागबाट कम्तीमा ६ सयवटा क्षेप्यास्त्र प्रहार गरिएको इजरायली अधिकारीको दाबी छ ।

इजरायली सुरक्षा फौजले सोमबार राति पीआईजे प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि दुई पक्षबीच तनाव बढेको हो । उनी पक्राउ परेको जेनिन क्षेत्रबाट इजरायलमाथि पछिल्लो समय दुई पटक आक्रमण भएको थियो ।

त्यसलगत्तै इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा पीआईजे समूहका वरिष्ठ कमान्डरहरू तैसिर जबारी र खलिद मन्सुर मारिएका थिए । इजरायलले प्यालेस्टिनी क्षेत्रबाट आफ्नो भूभागमा हुने आक्रमणका लागि मन्सुर मुख्य जिम्मेवार रहेको बताउँदै आएको थियो ।

दुई जना कमान्डरको मृत्युपछि पीआईजे थप आक्रामक बनेको हो । पीआईजे समूहबाट ‘तत्काल खतरा’ देखिएका कारण ‘ब्रेकिङ डन’ नामक कारबाही चलाउन बाध्य भएको इजरायलको दाबी छ । इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि द्वन्द्व जारी छ । दुई पक्षबीच सन् २०२१ को मे महिनामा भएको ११ दिन लामो युद्धमा कम्तीमा २ सय प्यालेस्टिनी र १२ जना इजरायलीले ज्यान गुमाएका थिए ।

इरानले समर्थन गरेको पीआईजे गाजामा रहेका शक्तिशाली लडाकु समूहमध्येको एक हो । सिरियाको राजधानी दमास्कसमा मुख्यालय रहेको समूहले इजरायलविरुद्ध क्षेप्यास्त्रलगायतका आक्रमण गर्दै आएको छ । सन् २०१९ को नोभेम्बरमा इजरायलद्वारा पीआईजे कमान्डर मारिएपछि सुरु भएको युद्ध ५ दिनसम्म चलेको थियो । युद्धका क्रममा ३४ जना प्यालेस्टिनीले ज्यान गुमाएका थिए भने १ सय ११ प्यालेस्टिनी र ६३ इजरायली घाइते भएका थिए ।

प्रकाशित : श्रावण २४, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?