कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

युरोपमा पानी अभाव : थुप्रै सहरमा पानी प्रयोगमा प्रतिबन्ध लगाइयो

फ्रान्सका सयभन्दा बढी सहरमा पानी अभाव । थुप्रै सहरमा धारा नै सुक्न थाले । स्पेनले कम्तीमा १२ सय वर्षयताकै सुख्खा मौसमको सामना गरिरहेको छ ।
ददि सापकोटा

पेरिस — मध्य जुनदेखि परेको चर्को खडेरीका कारण फ्रान्सका करिब एक सय वटा साना सहर र गाउँ पिउने पानीबिहीन बनेका छन् ।

युरोपमा पानी अभाव : थुप्रै सहरमा पानी प्रयोगमा प्रतिबन्ध लगाइयो

अगस्ट ३ देखि युरोपका केही देशमा चौथो लहरको खडेरी परेपछि धेरै सहर र गाउँमा पानीको स्वतन्त्र प्रयोगमाथि प्रतिबन्ध लगाइएको छ ।

युरोपका फ्रान्स, ग्रीस, इटाली, स्पेन, स्विजरल्याण्ड, जर्मनी, रोमानिया लगायत करिब एक दर्जन देशमा पानीको निस्फिक्री प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।

फ्रान्सका १०० भन्दा बढी सहरहरूमा पिउने पानी नभएपछि ट्रकबाट ओसारेर खुवाउनु परेको फ्रान्सका पर्यावरणीय मन्त्री क्रिस्टोफ बेचुले देशको दक्षिणपूर्वी क्षेत्र भ्रमणका क्रममा बताएका छन् ।

फ्रान्सका ६६ विभागहरू पहिले नै पानीको संकटमा थिए । तीमध्ये दुइ तिहाइभन्दा बढीलाई खडेरीको उच्च चेतावनीको पनि शीर्ष स्थानमा रखिएको छ । त्यसबाट बढेर शनिबार ९३ डिपार्टमेन्टहरूलाई उच्चतम खडेरीको संकट सूचीमा राखिएको छ ।

खडेरीले सबैभन्दा बढी स्पेन र इटालीलाई क्षति गरिरहेको छ । र पछिल्लो समय फ्रान्स पनि प्रभावित बनेको हो । खडेरीले गर्दा बार्सिलोनाको ठीक दक्षिणमा रहेको बोनास्ट्रे गाउँमा बसोबास गर्ने करिब ८०० मानिसहरूका धारा सुक्न थालेका छन् ।

इटाली, स्पेन, स्विजरल्याण्ड र फ्रान्सका जलाशयमा पानीको स्तर औसतभन्दा पनि कम भएपछि पानी प्रयोगमा गम्भीर प्रतिबन्धहरू लगाइएको छ ।

स्थानीय बासिन्दाहरूलाई प्रत्येक दिन ७:०० देखि १०:०० र साँझ ८ बजेदेखि ११ बजेसम्म मात्र पानीको पहुँच दिइएको छ । नेचर जियोसाइन्स जर्नलमा प्रकाशित पछिल्लो लेख अनुसार स्पेनले कम्तीमा १२ सय वर्षदेखि सबैभन्दा अहिले नै सुख्खा मौसमको सामना गरिरहेको छ ।

स्पेनको बोनास्ट्रे निवासी मारियो फेरारियोको भनाइलाई उल्लेख गर्दै फ्रान्सको एक टिभीले भनेको छ 'म बिहानै छोरीहरू स्कुल पुर्‍याउन जाँदा पनि पानी हुन्न । साँझ फर्केर आउँदा ती भाग्यमानी भए पानी पाउँछन् नुहाउन । नत्र अर्को दिन कुर्नुपर्छ । पानी जम्मा चार घण्टा दिने तालिका छ र त्यही समयमा पनि कहिलेकाहीँ पानी आउँदैन ।'

फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्नले हाल भोगिरहेको असाधारण खडेरीले धेरै नगरपालिकाहरूलाई पानीबाट वञ्चित गरिरहेको र यो फ्रान्सका किसानहरू, यहाँको पारिस्थितिक प्रणाली र जैविक विविधताका लागि त्रासदी भनेकी छन् ।

बोर्नले खडेरीलाई सम्बोधन गर्न अन्तरमन्त्रालय स्तरको संकट समाधान कक्ष सक्रिय गराइन् जसले पानीको संकट कसरी टार्ने भन्ने काम गर्ने छ । उनले फ्रान्सेली नागरिकहरूलाई पानी प्रयोगमा अति सतर्क रहन पनि आग्रह गरेकी छन् ।

पानीको संकट निर्धारण गरिएका क्षेत्रका गोल्फ कोर्सहरूमा पानी हाल्ने, पोखरीहरू भर्ने, बगैंचामा पानी हाल्ने र कारहरू धुनेमा प्रतिबन्ध लगाइएको छ । पेरिस लगायत स्पेन, इटाली, जर्मनी, ग्रीस, रोमानियाका केही क्षेत्रहरूमा झरनाहरू बन्द गरिएको छ ।

राजधानी पेरिसलाई खडेरीका लागि सतर्कता प्रणालीको पहिलो सूचीमा राखिएको छ । अब यहाँका पार्कहरूमा दिनमा पानी खर्च गर्न पाइन्न ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) को हालैको छैटौं मूल्याङ्कन प्रतिवेदनमा, वैज्ञानिकहरूले मानव क्रियाकलापका कारण उत्पन्न जलवायु परिवर्तनले धेरै क्षेत्रहरूमा अझै सुख्खा हुने चेतावनी दिएका छन् ।

जलवायु परिवर्तनले बाढी जस्ता अन्य चरम मौसमी घटनाहरूको सम्भावनालाई असर गर्ने बह्नाइसमेत तिनको छ । युरोपेली आयोगको गत हप्ता प्रकाशित प्रतिवेदनले ईयूको झण्डै आधा भाग खडेरीको चेतावनी स्तरमा परेको बताएको छ । यसले धेरै देसहरूमा कृषि उत्पादन र बाली उत्पादनलाई खतरामा पार्ने सम्भावना छ। समग्रमा खडेरीका कारण यो वर्ष समग्र बालीनाली उत्पादनमा ३० प्रतिशत गिरावट आउने बह्नाइ ईयूको छ ।

ईयूले खडेरीका कारण पानीको संकट बढ्दै गएपछि प्रयोग गरिसकेको पानीलाई प्रशोधन र जम्मा गरेर पुन: प्रयोग गर्न आफ्ना सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ ।

प्रकाशित : श्रावण २३, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?