१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

इजरायलले चर्कायो गाजामा आक्रमण

एजेन्सी

जेरुसेलम — इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) समूहका वरिष्ठ कमान्डर खलिद मन्सुर मारिएका छन् । उनको मृत्युसँगै गाजा क्षेत्रमा संघर्ष चर्केको छ ।

इजरायलले चर्कायो गाजामा आक्रमण

इजरायली सेनाले शनिबार राति गरेको आक्रमणमा कमान्डर खलिद मन्सुरले ज्यान गुमाएका हुन् । त्यसअघि अर्का कमान्डर तैसिर जबारी मारिएका थिए । उनीहरूको मृत्युपछि पीआईजे थप आक्रामक बनेको हो । शुक्रबारयता इजरायलले गरेको आक्रमणमा ६ बालबालिकासहित ३१ जनाले ज्यान गुमाइसकेका बीबीसीले जनाएको छ ।

इजरायली अधिकारीका अनुसार शुक्रबार यता प्यालेस्टिनी भूभागबाट कम्तीमा ६ सयवटा क्षेप्यास्त्र प्रहार गरिएको छ । तीमध्ये कम्तीमा ९७ प्रतिशतलाई आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएको इजरायलको भनाइ छ ।

इजरायलले पीआईजे समूहबाट ‘तत्काल खतरा’ देखिएका कारण ‘ब्रेकिङ डन’ नामक कारबाही चलाएको जनाएको छ । इजरायली सेनाले प्रहार गरेको क्षेप्यास्त्रका कारण पीआईजे कमान्डर खलिद मन्सुर मारिएपछि पछिल्लोपटक हिंसा भड्केको हो । शनिबारको आक्रमणमा अर्का पीआईजे कमान्डर तैसिर जबारीले ज्यान गुमाएका थिए ।

इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि द्वन्द्व जारी छ । तर जाबारीको मृत्युसँगै करिब एक वर्षसम्म लगभग शान्त रहेको क्षेत्रमा तनाव चर्केको हो । दुई पक्षबीच सन् २०२१ को मे महिनामा भएको ११ दिन लामो युद्धमा कम्तीमा २ सय प्यालेस्टिनी र १२ जना इजरायलीले ज्यान गुमाएका थिए ।

आक्रमणमा ज्यान गुमाएका खलिद मन्सुरको हत्या गर्ने उद्देश्यले यसअघि ५ पटक प्रयास गरिएको थियो । उनी दक्षिणी गाजास्थित रफाह शरणार्थी शिविरमा बसिरहेका बेला आक्रमणमा परेका हुन् । प्यालेस्टिनी क्षेत्रबाट आफूमाथि हुने आक्रमणका लागि उनी मुख्य जिम्मेबार रहेको इजरायलले दाबी गर्दै आएको थियो । गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रामकताका कारण दर्जनौं प्यालेस्टिनीले ज्यान गुमाएका र २ सयभन्दा बढी घाइते भएका आरोप लगाएको छ । तर इजरायलले भने पीआईजे समूहद्वारा प्रहार गरिएको क्षेप्यास्त्र गाजा स्ट्रिपस्थित जबालियामा लागेका कारण केही बालबालिकाले ज्यान गुमाएका बताएको छ ।

प्रकाशित : श्रावण २३, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?