२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्यालेस्टिनी इस्लामिक समूहमाथि इजरायलको आक्रमण

– ५ वर्षे बालकसहित कम्तीमा १५ जनाको मृत्यु
– १९ हतियारधारीलाई पक्राउ गरेको इजरायको दाबी
एजेन्सी

जेरुसेलम — इजरायलली सुरक्षा फौजले गाजा स्ट्रिपका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १५ जना प्यालेस्टिनी मारिएका छन् । ज्यान गुमाउनेमा ५ वर्षीय बालक र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) नेता तैसीर जबारीसहित ४ जना पीआईजेका लडाकुसमेत छन् ।

प्यालेस्टिनी इस्लामिक समूहमाथि इजरायलको आक्रमण

इजरायलले अधिनस्थ वेस्ट बैंकमा छापा मारेर पीआईजे समूहका १९ जना सदस्यलाई पक्राउ गरेको दाबी गरेको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले अन्य ५५ जना मानिसहरू घाइते भएको जनाएका छन् । इजरायली सेनाका एकजना प्रवक्ताले करिब १५ जना लडाकु मारिएका अनुमान गरेको जनाएका छन् ।

पीआईजे समूहको धम्कीपछि आफूहरूले हवाई आक्रमण गरेको इजरायलको भनाइ छ । इजरायली सेनाले गाजा क्षेत्रबाट शुक्रबार राति दर्जनौं रकेटहरू प्रहार गरिएको र तीमध्ये अधिकांशलाई निस्तेज पारिएको जनाएको छ ।

इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि द्वन्द्व जारी छ । तर करिब एक वर्षसम्म लगभग शान्त रहेको क्षेत्रमा एकाएक हिंसा भड्किएको हो । दुई पक्षबीच सन् २०२१ को मे महिनामा ११ दिन भइषण युद्ध भएको थियो । दुई पक्षबीच युद्धविराम सम्झौता हुनुअघिसम्म कम्तीमा २ सय प्यालेस्टिनी र १२ जना इजरायलीले ज्यान गुमाएका थिए ।

इजरायली सेनाले पछिल्ले सैनिक कारबाहीलाई ‘ब्रेकिङ डन’ नाम दिएको । यो कारबाही एक सातासम्म चल्न सक्ने उसको चेतावनी छ । तर गाजा क्षेत्रको मुख्य सैन्य समूह हमासले अझैसम्म आफ्ना ठूला क्षेप्यास्त्र भने प्रहार गरिसकेको छैन ।

हमास र पीआईजेबीचको विचारधारा मिल्ने भएकाले उनीहरूले प्रायः आपसी समन्वयमा काम गर्ने गर्छन् । तर पछिल्लो घटनाक्रमपछि हमासले ‘चुप लागेर नबस्ने’ चेतावनी दिएको छ । इरानको समर्थन रहेको पीआईजे गाजामा रहेका शक्तिशाली लडाकू समूहमध्येको एक हो । सिरियाको राजधानी दमास्कसमा मुख्यालय रहेको समूह इजरायलविरुद्ध क्षेप्यास्त्रलगायतका आक्रमणका लागि जिम्मेवार मानिन्छ । सन् २०१९ को नोभेम्बरमा इजरायलद्वारा पीआईजे कमान्डर मारिएपछि सुरु भएको युद्ध ५ दिनसम्म चलेको थियो । युद्धका क्रममा ३४ जना प्यालेस्टिनीले ज्यान गुमाएका थिए भने १ सय ११ प्यालेस्टिनी र ६३ इजरायली घाइते भएका थिए ।

इजरायलका आन्तरिक मामिलामन्त्री आइलेट सखिदले द्वन्द्व लामो समयसम्म जारी रहनसक्ने बताएकी छन् । ‘यो कस्तो हुन्छ भन्छ भन्ने हामीलाई नै थाहा छैन । तर यो लामो समय चल्न सक्छ र कठिन द्वन्द्वको चक्र बन्न सक्छ,’ स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन् ।

इरान भ्रमणमा रहेका पीआईजेका महासचिव जयद अल–नखलाले इजरायलाई आक्रमणमार्फत् जवाफ दिने बताएका छन् । ‘हामीले यसको बलपूर्वक जवाफ दिनेछौं । त्यहाँ लडाइँ हुन्छ र हाम्रा मानिसहरू विजयी हुनेछन्,’ उनले भने ।

शनिबार थप क्षेप्यास्त्र प्रहार गरिएका साइरन बजेपछि जवाफमा पीआईजे विद्रोहीलाई लक्षित गरी गाजा क्षेत्रमा हवाई आक्रमण गरिएको इजरायलले जनाएको छ । इजरायली प्रधानमन्त्रीले याइर लापिडल प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) बाट आफूहरूमाथि तत्काल जोखिम देखिएपछि सेनाले कारबाही गरेको बताएका छन् ।

पीआईजेका वेस्ट बैंक प्रमुख बसिम सादीलाई इजरायलले सोमबार पक्राउ गरेको थियो । त्यसको जवाफमा पीआईजेले इजरायलतर्फ सयभन्दा बढी रकेट प्रहार गरिसकेको छ । तर तीमध्ये अधिकांशलाई इजरायलको आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निष्क्रिय तुल्याइदिएको छ ।

त्यसपछि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लडाकुका स्थान पहिचान गरी हवाई आक्रमण गरेको जनाइएको छ । आफूले निसाना बनाएका गाजास्थित प्यालेस्टाइन टावरसहितका स्थानहरू पीआईजेसँग सम्बन्धीत रहेका आईडीएफको दाबी छ ।

प्रकाशित : श्रावण २१, २०७९ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?