२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७
हिरोसिमा विस्फोटका ७७ वर्ष

हिरोसिमा विस्फोटकी साक्षी भन्छिन्- 'आखिर मानवताले हार्‍यो'

कान्तिपुर संवाददाता

टोकियो — मेरो नाम सिनोदा मेगुमी हो । म ९० वर्षको भएँ । आज म बाल्यकालको एउटा कहालीलाग्दो घटना सुनाउँछु । म १३ वर्षीया स्कुले विधार्थी थिएँ । त्यो दिन स्कुल बिदा थियो । अनि अघिल्लो दिन नै मैले साथीहरूसँग बाहिर घुम्न जाने सल्लाह गरेको थिएँ । तर त्यो बिहान अबेरसम्मै निदाएछु ।

हिरोसिमा विस्फोटकी साक्षी भन्छिन्- 'आखिर मानवताले हार्‍यो'

पछि पो थाह पाएँ, साथीहरूले मलाई छोडेर गएछन् । म घरमै दुई वर्षीय भाइ हारुकीसँग चारपाटे कागजहरू पट्याएर विभिन्न आकारका खेलौना, चरा र डुंगा आदि बनाउने खेल ओरिगामी खेलीरहेकी थिएँ ।

हारुकी निकै मायालु थियो । भर्खरै बोल्न सिक्दै थियो । रमाइलो गरेर खेलिरहेका बेला एक्कासी घरभित्र आगोको झिल्का छिरेजस्तो भयो । हावाको गतीमा घरभित्र छिरेको आगोको झिल्कोले सुरुमा ढोका जलायो । जापानमा धेरैजसोका घरमा कागजबाट निर्मित ढोका हुन्छ । त्यसैले पनि त्यो जल्न कत्ति बेर लागेन । आगोको झिल्कोले घरभित्रका गुन्द्री पनि जलायो ।

मैले पछि थाह पाएँ, त्यो क्षण हिरोसिमामा अमेरिकाले प्रहार गरेको आणविक बम विस्फोट भएको रहेछ । त्यो १९४५ अगस्ट ६ तारिखको बिहानको ८:१५ बजेको घटना थियो । जुन मेरो घरबाट २.८ किलोमिटर दूरीमा थियो ।

प्रत्येकपल्ट त्यो घटना सुनाउँदा मेरो आँखाका डिलभरी आँसु हुन्छ । म केही सोच्नै सकिरहेको थिइनँ । परबाट कसैले एकोहोरो मेगुमी, मेगुमी भनेर बोलाएको सुनेँ । यसरी बोलाउने मेरी आमा थिइन् । कसरी कसरी आमा र भाइ धुवाँको मुश्लोबाट बाहिर निस्किएको देखेँ । म कसरी घर बाहिर आइपुगेँ यकिन भन्न सक्दिनँ । आमा र भाइको हातगोडा जलेर राताम्मे भएका थिए र सुन्निएका पनि थिए ।

घरमा म मात्रै त्यस्तो सदस्य थिएँ, जो हिँड्न सक्थेँ । म आमा र भाइलाई अस्पताल लैजानका लागि गाडा खोज्न त्यस्तै ४.५ किलोमिटर पर रहेको काकीको घरसम्म पुगेँ ।

मेरी १७ वर्षीया दिदी साचियो त्यो दिन काममा गएकी थिइन् । दिदीको कार्यस्थल विस्फोटस्थल नजिकै थियो । पछि बुबा दिदीलाई खोज्न जानुभयो । तर उहाँ रित्तै फर्कनुभयो । त्यो घटनापछि दिदी कहिल्यै फर्केर आइनन् ।

आमा र भाइलाई अस्पताल पुर्‍याएपछि म बुबाको पछि लागेर घटनास्थलमा उद्धारमा लागि पुगेको थिए । घटनास्थलमा बयान गर्न नसकिने दृश्य थियो । मानिसका अंगहरू छरपस्ट छरिएका थिए । मेरो भाइकै उमेरका एक जना बालक चारैतिर हेरिरहेको थियो । सायद उ आमा खोजीरहेको थियो ।

त्यत्तिकैमा एउटा आवाज आयो, 'तिमी सेरा होइनौ ?' घर बाहिर मलाई बोलाउने नाम सेरा थियो । मलाई प्रश्न सोध्ने बालिकाको शरीर नराम्ररी पोलिएको थियो । तिनलाई दुई पांग्रे गाडामा राखेर उद्धारकर्मीहरूले उपचारकेन्द्रतर्फ लैजाँदै गरेका थिए । मैले एकैछिनमा चिनेँ, ती मसँगै पढ्ने सहपाठी थिइन् । मलाई नरमाइलो लाग्यो । अहिलेसम्म पनि मलाई ती साथी उपचारपछि निको भइन् कि भइनन् भन्ने थाह छैन ।

त्यो घटनापछि पनि हामीलाई निकै धेरै कठिनाइहरूले पछ्याए । बाबुले जागिर पनि गुमाए । अनि त हाम्रो घर आर्थिक संकट पर्‍यो । कतिसम्म भने घरमा खानाका लागि उसिनेको फर्सी बाहेक केही हुन्थेन । मलाई त्यो घटनाले भित्रैदेखि बिथोलेको थियो । पछिसम्म पनि आकाशमा जहाज उडेको देख्नसाथ भाइ हारुकी मेरी दिदी फिर्ता दे भन्दै कराउँथ्यो ।

विस्फोटको जलनबाट निको भएजस्तो देखिए पनि भाइ हारुकीको स्वास्थ्यमा अनेक असर देखिरहेको थियो । हारुकीलाई पखाला चल्ने समस्या पनि देखिएको थियो । सायद पोसिलो खानाको अभावमा पनि त्यस्तो भएको थियो । उक्त विस्फोटको करिब साढे दुई महिनापछि अक्टोबर २२ का दिन भाइले अन्तिम सास फेर्‍यो । मैले मनमनै सोचेँ, अब हारुकीको सायद दिदी साचियोसँग भेट हुन्छ होला ।

मेरो शरीरमा पनि बमका छर्राहरूको असर थियो । समयक्रममा त्यो असर बल्झिन थाल्यो । अनुहारमा विस्तरै दुख्ने खालका धब्बाहरू देखिन थाल्यो । बल्झिरहने स्वास्थ्य समस्याका कारण मैले माध्यामिक तहको पढाइको बीचैमा विश्राम लिएँ । हाइ स्कुलमा पनि म २ वर्ष ढिला गरी भर्ना हुन सकेँ ।

मैले २२ वर्षमा विवाह गरेँ । तीन सन्तान जन्माएँ। विस्तारै युद्ध, बम र परिवारले भोगेका दुःख भुल्ने कोसिस गरेँ । तर जति बिर्सन खोजे पनि त्यो दिन र त्यसपछि विकसित घटना सम्झनामा आइरहन्छ । पहिले पहिले म ती दिनहरूबारे कसैसँग कुरा गर्न रुची राख्दैनथेँ । म त्यो घटनाबारे बोल्ने खास मान्छे होइन जस्तो लाग्थ्यो ।

केही वर्षअघि मेरो जीवनमा नयाँ मोड आयो । मलाई प्यान्क्रियाटिक्सको क्यान्सर भएको पत्ता लाग्यो । रोगको समयमै पहिचान भएकाले र निरन्तर उपचार गरेकाले मेरो रोग पनि निको हुन्छ भन्ने विश्वासमा छु ।

यो घटनापछि मलाई थाह भयो, म त हिरोसिमामा भएको विस्फोटको निकै थोरै जीवित साक्षीमध्येको एक रहेछु । उक्त घटनाको दृश्य र त्यसपछि बदलिएको परिस्थितिबारे अहिलेका पुस्तालाई थाह दिनुपर्छ भन्ने मलाई लाग्यो । त्यसपछि मैले युद्ध र बदला मानवीयता विरुद्धमा छ भन्ने सन्देश दिनका लागि आफ्ना अनुभवहरू सुनाउन थालेको छु । युद्धको भयाभह अवस्था कस्तो हुन्छ र जीवनको मूल्य के हो भन्नेबारे बताउनकै लाथि मैले पुनर्जीवन पाएको हुँ भन्ठान्छु ।

धेरैजसो मानिस कठिन समय बारम्बार सम्झने इच्छा राख्दैनन् । तर मैले फरक हुने निर्णय गरेँ । हिजोआज म स्कुलका विधार्थी र अभिभावकहरूलाई विश्वकै पहिलो र अति शक्तिशाली ६४ केजी तौल भएको लिटिल बोई नामक परमाणु बम हिरोसिमामा विस्फोट हुँदा कति खतरनाक स्थिति भएको थियो भनेर बताउँछु । विस्फोटपछि जनजीवन कति भयग्रस्त र कठिन भएको थियो भनेर सुनाउँछु । मैले धेरैलाई भन्ने कुराहरू एउटै छ । एक- मानव जीवन पृथ्वीभन्दा गह्रौँ छ । दुई- परमाणु यन्त्र र मानवको सह अस्तित्व सम्भव छैन । तीन- घृणापूर्ण मुटुबाट शान्ति उत्पन्न हुन सक्दैन ।

हिरोसिमा र नागासाकीमा तीन दिनको अन्तरालमा भएका दुई परमाणु बम विस्फोटमा एक लाख ४० हजारले ज्यान गुमाए । उक्त घटनापछि कसले जित्यो कसले हारयो भन्ने तर्क वितर्क अहिलेसम्म चलेको देखिन्छ । तर मलाई उक्त युद्धमा कसैले जितेन बरु आखिरमा मानवीयताकै हार भयो भन्ने लाग्छ ।

(जापानमा बस्दै आएकी उषा महतले तयार पारेको सामग्री ।)

प्रकाशित : श्रावण २१, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?