कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताइवान भन्छ- आवश्यक परे जवाफ दिन तयार छौं

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले पछिल्लो समय गरिरहेको क्रियाकलापलाई नजिकबाट नियालिरहेको भन्दै ताइवानकी राष्ट्रपति इङ्ग-वेनले जरुरी परे चीनको हर्कतको जवाफ दिन आफूहरू तयार रहेको बताएकी छन् ।

ताइवान भन्छ- आवश्यक परे जवाफ दिन तयार छौं

केही दिनअघिदेखि चीनले ताइवानको सिमाना नजिकै गरेको सैन्य अभ्यासको विषयमा बोल्ने क्रममा उनले ताइवानले संघर्षलाई बढावा दिन नचाहेको र आफ्नो सम्प्रभुता तथा राष्ट्रको सुरक्षाका लागि सधैं प्रतिबद्ध रहेको बताउँदै आवश्यक परे त्यसको जवाफका लागि समेत ताइवान तयार रहेको बताएकी हुन् ।

बिहीबार चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गरेपछि उक्त विषयमा बोल्दै राष्ट्रपतिले इङ्ग-वेनले भनिन्‚ ‘ताइवान संघर्षलाई बढावा दिन चाहँदैन तर आफ्नो सम्प्रभुता र राष्ट्रको सुरक्षा गर्न सधैं तत्पर छ ।’

अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन-ताइवानको सिमाना नजिकै चीनले सैन्य अभ्यास गरिरहेको छ ।

ताइवान सन् १९४९ देखि स्वशासित रहँदै आएको भए पनि चीनले यो आफ्नो भूमी भएकाले ताइवानसँगको सम्बन्धलाई आन्तरिक मामिलाको रुपमा लिँदै आएको छ । चीनले आफ्नो सबैभन्दा ठूला सैन्य अभ्यास गर्दा शक्तिशाली क्षेप्यास्त्रहरू ताइवानको सीमा नजिकै रहेको समुद्रमा प्रहार गर्ने गरेको छ । यीमध्ये ४ वटा क्षेप्यास्त्रहरू ताइवानको राजधानी ताइपे हुँदै समुद्रमा प्रहार गरिएको बीबीसीले उल्लेख गरेको छ ।

यो विषयलाई जापानले नजिकबाट नियालिरहेको भन्दै जापानी रक्षा मन्त्रालयले अहिलेसम्म चीनले प्रहार गरेको ९ वटा क्षेप्यास्त्रमध्ये पाँच क्षेप्यास्त्र आफ्नो देशको विशेष आर्थिक क्षेत्रमा प्रहार भएको बताएको छ । यही विषयलाई लिएर जापानले पनि चीनको यस्तो हर्कतमाथि विरोध जनाइरहेको छ ।

बिहीबार चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको थियो । अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरेसँगै आक्रामक बनेको चीनले केही दिनयता ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ । बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ ।

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ । पेलोसी ताइपेमा अवतरण गरेसँगै उसले अमेरिकाले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन गरेको भन्दै दुई देशबीच सम्बन्धमा यसको असर पर्ने चेतावनी दिएको थियो ।

ताइवानले भने चीनको चेतावनीका बावजुद पेलोसीलाई भव्य रुपमा स्वागत गरेको थियो । साथै ताइवानले चिनियाँ प्रतिक्रियाको खण्डन पनि गरेको थियो । ताइवानका अधिकारीहरूका अनुसार पेलोसीको भ्रमणसँगै चीनले २० भन्दा बढी लडाकु विमानहरू ताइवान क्षेत्रमा प्रवेश गराएको छ ।‍

प्रकाशित : श्रावण २०, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?