चिनियाँ सेनाद्वारा ताइवानको सिमानामा क्षेप्यास्त्र प्रहार- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ सेनाद्वारा ताइवानको सिमानामा क्षेप्यास्त्र प्रहार

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। बिहीबार चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

तस्बिर : साउथ चाइना मर्निङ पोस्ट

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै आक्रामक बनेको चीनले केही दिनयता ताइवानको सीमा क्षेत्र सैन्य अभ्यास गर्दै आएको छ । बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ ।

यसअघि पनि चिनियाँ सेनाको ताइवानको समुद्री क्षेत्रमा 'लाइभ फायर' को अभ्यास गरिरहेको चिनियाँ टेलिभिजन सीसीटीभीले जनाएको छ । बिहीबार बिहान भने चीनले ताइवानको हवाइ र समुद्री मार्गमा नै असर पर्ने गरी अभ्यास सैन्य अभ्यास गरेको हो ।

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ । पेलोसी ताइपेइमा अवतरण गरेसँगै उसले अमेरिकाले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन गरेको भन्दै दुई देशबीच सम्बन्धमा यसको असर पर्ने चेतावनी दिएको थियो ।

ताइवानले भने चीनको चेतावनीका बावजुद पेलोसीलाई भव्य रुपमा स्वागत गरेको थियो । साथै ताइवानले चिनियाँ प्रतिक्रियाको खण्डन पनि गरेको थियो । ताइवानका अधिकारीहरूका अनुसार पेलोसीको भ्रमणसँगै चीनले २० भन्दा बढी लडाकु विमानहरू ताइवान क्षेत्रमा प्रवेश गरेको छ ।

बिहीबार चिनियाँ सेनाले गरेको मिसाइल प्रहारलाई ताइवानको रक्षा मन्त्रालयले 'तर्कहीन कार्य' भएको संज्ञा दिएको छ । साथै ताइवानले दुश्मनका गतिविधि नजिकबाट नियालिरहेको भन्दै त्यसको उपयुक्त कदम चाल्ने जनाएको छ ।

प्रकाशित : श्रावण १९, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।

निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

प्रकाशित : श्रावण १९, २०७९ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×