‘ताइवानको साथ छाड्दैनौं’


बेइजिङ/ताइपेई सिटी — चीनको चेतावनीबीच ताइवान पुगेकी अमेरिकी सभामुख नान्सी पेलोसीले ‘आफ्नो देशले तोकतान्त्रिक टापु ताइवानको साथ नछाड्ने’ बताएकी छन् । ताइवानकी राष्ट्रपति साई इंग–वेनसँगको ऐतिहासिक भेटवार्ताका क्रममा पेलोसीले ‘लोकतन्त्रको विश्वव्यापी प्रवर्द्धनका लागि अमेरिका दृढ रहेको’ बताएकी छन् ।

बुधबारको पत्रकार सम्मेलनमा बोल्दै पेलोसीले ‘आफ्नो भ्रमणबारे कडा प्रतिक्रिया जनाएको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङको नियतबारे प्रश्न गरिन् । ‘यो प्रस्ट हुनका लागि निकै महत्त्वपूर्ण सन्देश हो । ताइवानको सुरक्षाका लागि अमेरिका प्रतिबद्ध छ । यो सबै लोकतन्त्र र स्वतन्त्रताका पक्षमा हाम्रो समान मूल्यमान्यता हो र ताइवान विश्वका लागि एक उदाहरण हो,’ उनले भनिन्, ‘आफ्नो राजनीतिक परिस्थितिका विषयमा राष्ट्रपति सीलाई कुनै असुरक्षा छ भने त्यो मलाई थाहा छैन ।’
वर्तमान विश्वले लोकतन्त्र र निरंकुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको पेलोसीको भनाइ छ । विगतमा पुरुष सांसदहरूले ताइवानको भ्रमण गर्दा चीनले केही नबोलेको तर आफू आउँदा अनावश्यक रूपमा ठूलो विवाद गरेको पेलोसीको गुनासो छ ।
ताइवानले अमेरिकी सभामुख पेलोसीलाई उच्च नागरिक सम्मान ‘अर्डर अफ पर्पसियस क्लाउड्स विथ स्पेसियल ग्रान्ड कोर्डन’ समेत प्रदान गरेको छ । राजधानी ताइपेई सिटीमा बुधबार भएको कार्यक्रममा ताइवानी राष्ट्रपति साईले पेलोसीलाई उक्त सम्मान प्रदान गरेकी हुन् ।
ताइवान भ्रमण गरेकोमा सभामुख पेलोसीलाई राष्ट्रपति साईले धन्यवाद दिएकी छन् । उनले पेलोसी ताइपेईमा अवतरण गरेपछि चीनले अनावश्यक सैन्य अभ्यास गरेको बताएकी छन् । पेलोसी ताइपेईमा अवतरण गरेसँगै चिनियाँ सेनाले मंगलबार रातिदेखि नै सैन्य अभ्यास सुरु गरेको थियो । उनको भ्रमण सकिएसँगै चिनियाँ सेनाले ताइवानको स्वशासित टापु क्षेत्रमा थप सैन्य अभ्यास गर्ने जनाएको छ । सेनाले बिहीबारदेखि आइतबारसम्म टापुका ६ वटा क्षेत्रमा ‘लाइभ फायरिङ’ सहितको अभ्यास गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । ताइवानले भने चिनियाँ सेनाको यस्तो अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने भन्दै विरोध जनाएको छ ।
पेलोसीको भ्रमणले ‘एक चीन’ नीति उल्लंघन गरेको चीनको आरोप छ । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको सार्वभौमसत्तामाथि अमेरिकाले आक्रमण गरेको भन्दै आलोचना गरेका छन् । विदेशमन्त्री वाङले पेलोसीको भ्रमणलाई लिएर २४ घण्टाभित्र दोस्रो पटक वक्तव्य जारी गरेका हुन् । ताइवानलाई आफ्नो अभिन्न भूभाग बताउँदै आएको चीनले अमेरिकी अधिकारीलाई बोलाइएको विषयमा शृंखलाबद्ध आक्रामक अभिव्यक्ति दिइरहेको छ । पेलोसी ताइवान उत्रेपछि क्रुद्ध चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर भ्रमणबारे आधिकारिक रूपमा विरोध जनाइसकेको छ ।
प्रकाशित : श्रावण १९, २०७९ ०८:०३