स्पेन र पोर्चुगलमा विमान हडतालको घोषणा

कर्मचारीहरूले घोषणा गरेको ९ दिन लामो हडतालले लाखौं यात्रु प्रभावित हुनसक्ने
ददि सापकोटा

पेरिस — युरोपको सबैभन्दा व्यस्त न्यून भाडादर (लो कस्ट) को विमान कम्पनी इजिजेटका कर्मचारीहरूले अगस्टमा ९ दिनको हडताल आह्वान गरेपछि लाखौं यात्रु प्रभावित हुने भएका छन् ।

स्पेन र पोर्चुगलमा विमान हडतालको घोषणा

युरोपमा अगस्ट वर्षभरकै सबैभन्दा व्यस्त बिदा मनाउने समय भएकाले हडतालले लाखौं यात्रुलाई प्रभावित गर्ने भएको छ । कम लागतको विमानद्वारा पोर्चुगल र स्पेनमा उडान गर्ने यात्रुहरूले छुट्टीयाम अगस्टभरि ठूलो यात्रा अवरोधको सामना गर्नुपर्ने छ ।

स्पेन र पोर्चुगलमा इजिजेटका पाइलटहरूले आफ्नो तलब र कामको अवस्था सुधार्नुपर्ने माग गर्दै यो महिना ९ दिन कामबाट बाहिरिने घोषणा गरेका छन् ।

स्पेनिस युनियन अफ एयरलाइन पाइलट (सेप्ला) ले १२ देखि १४, १९ देखि २१ र २७ देखि २९ अगस्टसम्म तीन फरक फरक मितिमा ७२ घण्टा हडताल गरिने जनाएका छन् । पाइलटहरूले काम गर्ने अवस्था कोरोना भाइरस अघिभन्दा हाल बिग्रिएकाले भाइरसपूर्वको अवस्था पुनर्स्थापित गर्न र आफ्नो न्यूनतल तलब बढाउनुपर्ने लगायत माग राखेका छन् ।

युनियनले इजिजेटलाई आफ्ना पाइलटहरूको सम्झौता अल्पकालीन गरेकाले त्यसलाई बढाएर नयाँ दिर्घकालीन समयको बहु-वर्षीय सम्झौताहरू उपलब्ध गराउन पनि माग गरेको छ ।

'यो अन्तिम सम्भावित उपाय हो, किनकि पाइलटका प्रतिनिधिहरू सम्झौतामा पुग्ने सबै प्रयासहरू असफल भएका छन्,' सेप्लाले भनेको छ ।

सेप्लाले आफ्ना प्रतिनिधिहरूले ६ महिनाभन्दा बढी वार्तालाप गर्दा पनि समाधान ननिकालेको भन्दै हडताल आह्वान गरेको जनाएको छ । र स्पेनिस पाइलटहरूको अवस्था सधैं युरोपका बाँकी देशहरूमा भन्दा खराब भएको दाबी सेप्लाको छ ।

त्यस्तै पोर्चुगलका दुई वटा युनियनका नागरिक उड्डयन कर्मचारीहरूले अगस्ट १९ देखि अगस्ट २१ सम्म हडताल घोषणा गरेका छन् ।

यदि यो हडताल भएमा यसले पोर्चुगलको राजधानी लिस्बनसहित अन्य ठूला सहर पोर्तो, फारो र देशको सबैभन्दा ठूलो विमान अपरेटर समूह एएनएद्वारा नियन्त्रित सबै एयरपोर्टहरूलाई असर गर्नेछ ।

पोर्चुगलको सिभिल एभिएसन वर्कर्स युनियन (सिन्टाक) र कमर्सियल एभिएसन स्टाफ युनियन (एसकाक) ले संयुक्त विज्ञप्ति जारी गर्दै कामदारहरूको ज्याला वृद्धिको माग गरेका छन् ।

कम्पनीले हामीलाई लामो समयदेखि जे पूरा गर्नुपर्ने थियो गरेन, अब हामीले गर्ने हडतालबाट मात्रै पूरा हुने छ । सामाजिक स्थिरता, कामदारको अधिकारको सम्मान र मौलिक रूपमा जनताका सुविधाका लागि हामीले हडताल आह्वान गरेका हौं,' युनियनहरूले भनेका छन् ।

पोर्चुगलको बजेटको प्रमुख स्रोत पर्यटन भएकाले गर्मीयाममा पोर्चुगलमा छुट्टी मनाउन जाने लाखौं पर्यटकलाई यो हडतालले बिथोल्ने छ ।

एयरपोर्ट्स अफ पोर्चुगल (एएनए) ले लिस्बोन, पोर्तो, फारो, मादेइरा, पोन्ता देलगाडा, होर्ता, सान्ता मारिया, फ्लोरेस र बेजासहित देशका १० एयरपोर्टहरू सञ्चालन गर्छ । फारो एयरपोर्ट पोर्चुगलको सबैभन्दा लोकप्रिय छुट्टी स्थलहरूमध्ये एक एल्गार्वेको प्रवेशद्वार मानिन्छ ।

गत वर्षको पहिलो चार वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा यात्रु संख्या ५०० प्रतिशतले बढेर विमानस्थलहरू व्यस्त रहेका बेला पाइलटहरूको हडतालले पोर्चुगलको पर्यटनलाई ठूलो असर पार्ने स्थानीय अधिकारीहरूको भनाइ छ ।

पोर्चुगिज युनियनहरू एएनए र स्पेनिस पाइलट एसोसिएसनका माग समान छन् । उनीहरूले पछिल्लो समयको मुद्रास्फीतिलाई ध्यानमा राख्दै आफ्ना सदस्यहरूको तलब बढाउन माग गरिरहेका छन्।

युनियनहरूले अपरेटरलाई थप कामदारहरू भर्ती गरेर कर्मचारीको सुरक्षाको आदर गर्न पनि आग्रह गरे । उनीहरूले चेतावनी दिएका छन्, 'एयरपोर्टमा यात्रु संख्यामा भएको वृद्धिको अनुपातमा कर्मचारी संख्यामा अभाव छ । केबिन क्रू र ग्राउन्ड स्टाफलाई निराश यात्रुहरूद्वारा दुर्व्यवहार हुने जोखिम बढेको छ ।'

एएनए र पाइलट एसोसिएसन अफ स्पेनले मानव संसाधनको कमीलाई पूर्ति गर्न तत्काल कदम चाल्नु पर्ने माग पनि गरेका छन् ।

त्यस्तै, स्पेनमा रायन एयर केबिन क्रूले अर्को पाँच महिनासम्म हप्ताको चार दिन हडताल गर्ने धम्की दिएका छन्।

बेलायतस्थित हिथ्रो विमानस्थलको ब्रीटीश एयरवेज (बीए) का कर्मचारीहरूले जुलाइमा हडताल गर्ने धम्की दिएका थिए । तर बीएले तलबमा अत्यधिक सुधारको प्रस्ताव गरेपछि हडताल रद्द गरेको बेलायतको युनाइटेड युनियनले सार्वजनिक गरेको थियो ।

पछिल्ला केही महिनाहरूमा, इटाली, फ्रान्स, जर्मनी, ग्रिस र नेदरल्याण्ड्सका कामदारहरूले पनि हडताल आयोजना गरेका छन् ।इजिजेट र रायन एयर दुवै कम्पनीले हडताल रोक्न वार्ता जारी रहेको बताएका छन् ।

प्रकाशित : श्रावण १८, २०७९ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?