कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ताइवान तनाव: चीन सुरुमा गरम,पछि नरम

लक्ष्मी लम्साल

बेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच जुलाई २८ तारिख राती टेलिफोन संवाद हुँदासम्म बाइडेनले एक मात्र चीन भन्ने नीतिमा कुनै पनि परिवर्तन नभएको र नहुने भन्दै ताइवानको स्वतन्त्रता पक्षधरको समर्थन नगर्ने दोहोर्‍याएका थिए। चीन-अमेरिका सम्बन्धमाथि तलमाथि हुने बित्तिकै विश्व तरंगित हुनपुग्छ र यसबाट दीर्घकालीन असर पर्छ भन्ने कुरा सारा संसारले बुझेको कुरा हो।

ताइवान तनाव: चीन सुरुमा गरम,पछि नरम

एउटा कोरोना भाइरसले विश्वलाई तहसनहस बनाएभन्दा चर्को अव्यवस्था चीन-अमेरिका मनमुटावले निम्त्याउनेमा दुई मत छैन।

अगष्ट २ तारिख राती अमेरिकी सभामुख ठूलो सुरक्षा घेराबीच ताइवानमा अवतरण गर्नुअघिसम्म विश्वको परिदृष्य अलिक अस्पष्ट थियो। हुन त यो टिप्पणी तयार हुँदासम्म पनि त्यति पारदर्शी देखिँदैन। तथापि तत्क्षणका लागि अमेरिकी सभामुख न्यान्सी पेलोसीको न्यानो स्वागत ताइपेइमा नहुँदै धेरैको मनमा एउटा ठूलो त्रासदीको घण्टी बजिरहेको थियो ।

आफ्नो व्यापारिक साझेदार ताइवान भन्ने अमेरिका र आफ्नो भूभाग ठान्ने चीनबीच यसै विषयमा बेला बेलामा घोचपेच चल्दै आएको छ। अमेरिकाका लागि बारम्बार मसला बन्ने विषयमध्ये सिन्च्याङ, तिब्बत लगायतका मुद्दाहरू क्रमशः कमजोर हुँदै गएकोले ताइवानको प्रजातन्त्रको रखवाली गर्ने अमेरिकी मनसाय झल्किरहेको हुन्छ। भ्रमण नगर्न भनेर पटक पटक सम्झाउँदा पनि अमेरिकाका तर्फबाट यो घटना गराइएको छ ।

सभामुख पेलोसीको ताइवान भ्रमण उनी ताइपेइमा उत्रिनुअघिसम्म अनिश्चित नै थियो। स्वयं अमेरिकी अधिकारीहरूले र राष्ट्रपति बाइडेन प्रशासनले समेत अनिश्चय प्रकट गरेको विषय थियो । त्यसैले चीनको कडा चेतावनी र चिनियाँ जनमुक्ति सेना स्थापनाको ९५औं वार्षिकोत्सव (अगष्ट १) अवधि परेकाले यसप्रकारको अमेरिकी हठलाई लिएर शंका उब्जिनु स्वाभाविकै थियो।

विना कुनै ठोस एजेण्डा न्यान्सी ताइवान उत्रिएपछि चीनबाट प्रस्तुत रबैयाले सारा विश्व आश्चर्यचकित भएको हो। ताइवान जलडमरुका वारिपारि भइरहेका सैन्य गस्तीहरूले सानो दबाव सिर्जना गरेका थिएनन्। तर चीनमा भएको धैर्यताले विश्वले राहतको श्वास फेरेको मान्नुपर्छ ।

चीनले बल नै प्रयोग गर्‍थ्यो भने त्यो असंभव थिएन। धेरैले विश्वको परिदृष्य एकैछिनमा बदलिने भय पालिरहेका थिए। विश्वका हिंसात्मक घटनामा संयमित देखिएजस्तै चीनबाट यो घटनामा पनि गहिरो संयमता प्रकट भयो । बरू आफ्नो आक्रोशलाई चीनले वचनहरूद्वारा प्रस्तुत गरेर परिपक्वता प्रस्तुत गरेको छ।

स्टेट काउन्सिलर समेत रहेका चिनियाँ परराष्ट्र मन्त्री वाङ यी साङहाई सहयोग संगठनको विदेश मन्त्रीस्तरीय सम्मेलनका लागि उज्वेकिस्तानमा थिए। पेलोसी ताइवान उत्रिने दिन उनले त्यहीँबाट एक मात्र चीनको सिद्धान्त अन्तर्राष्ट्रिय समाजको समान विचार र चीनको केन्द्रीय हितमध्येको पनि केन्द्रीय हित भएकाले केही अमेरिकीको मनसाय नै ताइवान जलडमरुलाई उथलपुथल पार्ने रहेकोतर्फ सचेत गराएका थिए। उनले ताइवान मामिलामा अमेरिका विश्वासघाती बनेर आफ्नै राष्ट्रिय इज्जतलाई धुलिसात पारेको भनेर टिप्पणी गरेका थिए।

शक्ति पृथकीकरणको सिद्धान्तले हुनसक्छ, ह्वाइट हाउसले भ्रमणबारे अनिश्चितता जनाइरहेका बेला व्यवस्थापिका प्रमुखले बिना एजेण्डा नै आकस्मिक रुपमा ताइवानमा उत्रिएर बहादुरी देखाइन्। उनी चढेको भव्य सुरक्षासहितको विमान उत्रिएपछि चीनले यसअघि प्रस्तुत गरेका रबैयाहरूलाई पन्छाएर धेरै नरमपना देखाएपछि एउटा दुर्घटनाको संभावित खतरा केही कम भएको मान्न सकिन्छ।

बेइजिङ समय अनुसार मंगलबार मध्यरातिसम्म चीन सरकार र कम्युनिष्ट पार्टीका विभिन्न निकायबाट धमाधम विज्ञप्तिहरू जारी हुने क्रम चलेको थियो। पहिलो वक्तव्य चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत ताइवान मामिला कार्यालयद्वारा जारी भयो। अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमण ताइवान र अमेरिकाबीचको साँठगाँठ संकेत भएकाले त्यसको परिणाम निकै गम्भीर हुने चेतावनी वक्तव्यमा थियो। चीनको सार्वभौमिकता र प्रादेशिक अक्षुण्णतामाथिको गम्भीर उल्लंघनका अलावा अमेरिकाले चीनसँग गरेको ‘तीनवटा संयुक्त विज्ञप्ति’को प्रतिकूल र अन्तर्राष्ट्रिय ऐन तथा अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डमा गम्भीर थिचोमिचो भएकाले त्यसको दृढताका साथ निन्दा वक्तव्यमार्फत् गरिएको थियो।

‘विश्वमा एउटै मात्र चीन छ। ताइवान चीनको अविच्छिन्न भाग हो। जन गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एउटै मात्र वैधानिक सरकार हो,’ पेलोसी ताइवानमा उत्रिएपछि चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ, ‘सन् १९७१ को संयुक्त राष्ट्रसंघ महाधिवेशनबाट पारित २७५८ औं निर्णय प्रस्तावमा निश्चित भएको कुरा अनि सन् १९७९ मा अमेरिकाले चीन-अमेरिका दौत्य सम्बन्ध स्थापनाको विज्ञप्तिमा स्पष्टसँग स्वीकार गरेको कुरालाई चीन र चिनियाँ जनताले अस्वीकार गरेका छन्।’

एकपछि अर्को गरी पिपुल्स जनकांग्रेस स्थायी समितिका प्रवक्ता, राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलन सीपीपीसीसीको वैदेशिक मामिला परिषद्, चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालय लगायतले विज्ञप्तिमार्फत् भ्रमणप्रति असन्तुष्टि जनाए। पूर्वी युद्ध क्षेत्रका प्रवक्ता स यीले अगष्ट २ तारिख रातिदेखि नै चिनियाँ जन मुक्ति सेनाले ताइवान टापू वरिपरी अनेकन संयुक्त सैनिक कारवाही गर्ने जनाए। यो कारवाही चाहिँ ताइवान मामिलामा अमेरिकाको गतिविधिको प्रतिकात्मक र स्वतन्त्र ताइवान पक्षधरको विरुद्ध गम्भीर चेतावनी स्वरुप हुने भनिएको छ।

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका साथै रुस, इरान लगायत विदेशमन्त्रालयहरूले ताइवानमाथि अमेरिकी बलमिच्याइँको भर्त्सना गरेर कुनै पनि मुलुकको सार्वभौमिकतालाई सम्मान गर्नु नै संयुक्त राष्ट्र संघको बडापत्रको आधारभूत नियममध्येको एक भएकोतर्फ ध्यानाकर्षण गराए।

चीनले आगो बनेर ताइवान भित्रिएकी पाहुनाका सम्मानमा नरम वक्तव्यले शिष्टतापूर्वक अवतरण गराएको छ। हुन त स्पष्ट परिदृष्यका लागि समय बाँकी नै छ। यसै निहुँमा भविष्यमा थप उतारचढाव नहोला भन्न सकिन्न। बेइजिङस्थित अमेरिकी राजदूतलाई बोलाएर स्पष्टीकरण लिएको छ। आपसी व्यापारिक तथा सामाजिक गतिविधिहरूमाथि निषेधहरू जारी गर्न थालेको छ। तत्कालका लागि चीनको मौखिक र सुझबुझपूर्ण वचनवाणको रबैयाले विध्व‌ंसको बाटोमा जानलाई रोकेको छ । विश्वका देशहरूले कोरोना महामारी र आर्थिक संकटको पीडालाई महसुस गर्ने हो भने दुवै शक्ति राष्ट्रलाई वार्ताद्वारा समाधान खोज्न नै प्रेरित गर्नुपर्छ।


प्रकाशित : श्रावण १८, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?