कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आसियान विदेशमन्त्रीस्तरीय बैठक : युक्रेन युद्ध र म्यान्मारबारे छलफल हुने

एजेन्सी

नोमपेन — दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का विदेशमन्त्रीस्तरीय बैठकमा म्यान्मारमा जारी हिंसा, युक्रेन युद्धलगायत दक्षिणपूर्वी एसियाली देशका साझा चासोका विषयमा छलफल हुने भएको छ । 

आसियान विदेशमन्त्रीस्तरीय बैठक : युक्रेन युद्ध र म्यान्मारबारे छलफल हुने

युक्रेनमाथि रुसी आक्रमणले सिर्जना गरेको तनावबीच हुन लागेको बैठकमा अमेरिका, चीन, रुस र अन्य विश्व शक्ति राष्ट्रका शीर्ष कूटनीतिज्ञ सहभागी हुँदै छन् । युक्रेन र दक्षिणपूर्वी एसियाली राष्ट्रमा बेइजिङको बढ्दो महत्त्वाकांक्षाले चिन्ता थपिएको पश्चिमा मुलुकका अधिकारीहरूको भनाइ छ ।

कम्बोडियाको नोमपेनमा बुधबार सुरु हुने बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ पनि सहभागी हुँदै छन् । दुवै देशका विदेशमन्त्री एक महिनाको अन्तरालमा दोस्रो पटक एउटै मञ्चमा आमनेसामने हुँदै छन् । यद्यपि उनीहरूबीच भेटवार्ता हुने प्रस्ट भइसकेको छैन । गत महिना इन्डोनेसियाको बालीमा भएको जी–२० का विदेशमन्त्रीहरूको बैठकमा सहभागी उनीहरूबीच छुट्टाछुट्टै भेट भएको थिएन । बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी हुँदै छन् । युक्रेनमा भएको द्वन्द्व अन्त्य गर्न र म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको सैनिक ‘कु’ पछि उत्पन्न तनाव अन्त्यका लागि बेइजिङको भूमिका महत्त्वपूर्ण हुने भन्दै धेरैले वाङतिर आँखा सोझाएका छन् ।

त्यस्तै, अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि वासिङ्टन र बेइजिङबीच बढ्दो तनावबीच हुन लागेको बैठकले विश्व समुदायको चासो खिचेको छ । एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो आर्थिक र सैन्य प्रभावलाई अमेरिकाले निस्तेज पार्ने प्रयास गरिरहेको छ । अझ भनौं त्यहाँ चिनियाँ प्रभाव नहोस् भन्ने अमेरिकाको चाहना छ । गतसाता अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले पेलोसीको सम्भावित ताइवान भ्रमणका विषयमा आपत्ति जनाएका थिए ।

त्यसैगरी, युक्रेनमा रुसी आक्रमण, विश्वव्यापी खाद्य र ऊर्जा मूल्यहरूमा त्यसले पारेको प्रभाव, चीन र अमेरिकाबीच बढ्दो टकराव चिन्ताको विषय बनेको अस्ट्रेलियाको लोवी इन्स्टिच्युटका दक्षिणपूर्वी एसिया कार्यक्रमका निर्देशक सुसाना प्याटन बताउँछन् । विदेशमन्त्रीहरूको बैठक क्षेत्रीय सुरक्षा र समृद्धिप्रति प्रतिबद्धता व्यक्त गर्ने विषयमा महत्त्वपूर्ण हुने बताउँदै उनले अमेरिका, चीन र रुसका लागि परस्पर संवाद गर्न र समर्थन जुटाउन उपयोगी अवसर हुने उल्लेख गरे ।

पछिल्ला दिनमा भने रुसले आफ्नो ध्यान अफ्रिकामा केन्द्रित गरेको छ । चीनको ध्यान प्रशान्त क्षेत्रका टापु देशमा पुगेको छ । रुसी विदेशमन्त्रीको अफ्रिकी देशको भ्रमण र चिनियाँ विदेशमन्त्रीको प्रशान्त क्षेत्रका टापु राष्ट्रको भ्रमणपछि दक्षिणपूर्वी एसियाली देशमा यात्रा भइरहेको छ ।

आसियान बैठकले भारत, जापान, दक्षिण कोरिया, टर्की, कतार, संयुक्त अरब इमिरेट्स, ओमान, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडालगायत आसियानसँग साझेदारी गर्ने वा वार्ता गरिरहेका केही देशलाई पनि एकै ठाउँमा ल्याएको छ ।

खासगरी अस्ट्रेलियाले आसियान राष्ट्रहरूको महत्त्वमा जोड दिएको छ । विदेशमन्त्री पेनी वोङले गत महिना अस्ट्रेलिया, अमेरिका, भारत र जापानको ‘क्वाड’ समूह र अस्ट्रेलिया, बेलायत र अमेरिका सम्मिलित ‘ओकुस’ समूहलगायत नयाँ गठबन्धन आसियान क्षेत्रको उन्नति र विकासका लागि हुनुपर्ने बताएका थिए ।

प्रकाशित : श्रावण १८, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?