कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ 'धम्की'बीच अमेरिकी सभामुख जालिन् त ताइवान ?

चिनियाँ अधिकारी भन्छन् : 'आगोसँग खेल्न खोज्ने जलेर खरानी हुनेछन्, हामी जुनसुकै घटनाको प्रतिक्रियाका लागि पूर्ण रूपमा तयार छौँ । पीएलए मूकदर्शक भएर बस्नेवाला छैन ।'
एजेन्सीहरू

काठमाडौँ — अमेरिकी सभामुख नान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर वासिंटन र बेइजिङबीच तनाव बढेको छ । सभामुख पेलोसी यतिबेला एसिया भ्रमणमा रहेकी छिन् । सिंगापुर भ्रमण सकेर उनी मंगलबार मलेसिया पुगेकी छिन् । त्यसपछि उनी दक्षिण कोरिया र जापान जानेछिन् । उनको कार्यालयले अहिलेसम्म ताइवान भ्रमणबारे भने औपचारिक जानकारी गराएको छैन । 

चिनियाँ 'धम्की'बीच अमेरिकी सभामुख जालिन् त ताइवान ?

तर सम्भावित भ्रमणलाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध भइरहेको हो । ताइवानी सञ्चारमाध्यमले भने मंगलबार राति पेलोसी ताइपेईमा अवतरण गर्न सक्ने जनाएका छन् । यदि पेलोसी आए २५ वर्षयता ताइवान भ्रमण गर्ने अमेरिकी उच्च अधिकारी हुनेछिन् । ताइवानका द युनाइटेड डेली न्युज, लिबर्टी टाइम्सले स्रोतको हवाला दिँदै मलेसिया भ्रमणपछि मंगलबार राति पेलोसी ताइपेई आउन सक्ने जनाएका छन् । चीनले ताइवानलाई आफ्नो भूभाग मान्छ । उसले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ ।

अमेरिकालाई चीनको चेतावनी- 'आगोसँग नखेल्नू'

सोमबार ह्वाइटहाउसले पेलोसीको सम्भावित ताइवान भ्रमण भनेर बयानबाजी गरेको आरोप लगाएको थियो । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिका चीनसँग द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका थिए । उनले ताइवान भ्रमण गर्ने/नगर्ने कुरा पेलोसी आफैले निर्णय गर्ने बताएका थिए । वर्षौंदेखि अमेरिकी सांसदहरूले ताइवान भ्रमण गर्दै आएको पनि उनको भनाइ थियो । किर्बीले चीनले क्षेप्यास्त्रसमेत प्रहार गर्न सक्ने बताएका छन् । यसअघि सन् १९९७ मा तत्कालीन अमेरिकी सभामुख न्युट गिंगरिचले ताइवान भ्रमण गरेका थिए । तर संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत चाङ चुनले गिंगरिचको भ्रमणसँग पेलोसीको भ्रमण तुलना गर्न नमिल्ने बताएका छन् ।

ताइवान स्वतन्त्र बनाउने प्रयास गरे युद्ध : चीन

चीनले पेलोसीले जबर्जस्ती भ्रमण गरे 'गम्भीर परिणाम' निम्तिन सक्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियान भन्छन्, 'यदि पेलोसीले ताइवान भ्रमणमा जोड दिइन् भने चीनले आफ्नो सम्प्रभुता तथा क्षेत्रीय अखण्डताको रक्षाका लागि कडा कदम चाल्न सक्छ ।' चीनसँग खेल्न खोज्नेले नराम्रो परिणाम भोग्ने चेतावनी दिँदै उनले अगाडि भनेका छन्, 'आगोसँग खेल्न खोज्ने जलेर खरानी हुनेछन्, हामी जुनसुकै घटनाको प्रतिक्रियाका लागि पूर्ण रूपमा तयार छौँ । पीएलए मूकदर्शक भएर बस्नेवाला छैन ।'

सिंगापुरका प्रधानमन्त्री ली सियन लुङसँगको भेटमा अमेरिकी सभामुख नान्सी पेलोसी । तस्बिर : पेलोसीको ट्विटरबाट

त्यस्तै संयुक्त राष्ट्र संघका लागि चिनियाँ राजदूत चाङ चुनले पेलोसीलाई ताइवानको भ्रमण नगर्न चेतावनी दिएका छन् । 'एक चीन नीति' 'रेड लाइन' भएको भन्दै उनी भन्छन्, 'हामी कसैलाई रेड लाइन क्रस गर्न दिँदैनौँ ।' उनले ताइवानले चीनबाट अलग हुनका लागि बाह्य शक्तिसँग साँठगाँठ गरिरहेको पनि बताए । त्यो बाह्य शक्ति को हो भन्नेबारेमा भने उनले खुलाएका छैनन् ।

ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी

यसैबीच ताइवानले भने आफ्नो भूमि रक्षा गर्न सक्षम र प्रतिबद्ध भएको जनाएको छ । ताइवानी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले लेखेको छ, 'चिनियाँ धम्कीको प्रतिक्रिया दिन ताइवान सक्षम छ । हाम्रो भूमि रक्षा गर्न ताइवानी सेना प्रतिबद्ध, सक्षम र विश्वस्त छ । हामीले विभिन्न तयारी गरिरहेका छौँ । प्रतिकारका लागि उपयुक्त संख्यामा सैनिक खटाउँछौँ ।'

समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ युद्धविमानहरू ताइवानी सीमामा उडिरहेका छन् । सोमबारदेखि सीमा क्षेत्रमा ताइवानी लडाकू विमान तैनाथ छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानसँग एकीकरण गर्ने बताउँदै आएका छन् । चीनबाट राजशाही अन्त्य भएको ११०औं वर्षगाँठको अवसरमा राष्ट्रपति सीले भनेका थिए, ‘मातृभूमिको एकीकरण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्छ । र यो अवश्य पूरा हुनेछ ।’चिनियाँ राष्ट्रपति सीले ताइवानसँग ‘एक देश : दुई प्रणाली’ अन्तर्गत शान्तिपूर्ण रूपमा एकीकरण गर्न चाहेको बताएका हुन् । ताइवानले भने बेइजिङलाई घुसपैठ, उत्पीडन र उत्तेजक कदम’ रोक्न आग्रह गर्दै आएको छ ।

ताइवानका बारेमा जान्नैपर्ने केही कुरा

  • चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भएका थिए । चीनले ताइवान कुनै न कुनै रूपमा मेनल्यान्डका रूपमा आओस् भन्ने चाहन्छ ।
  • चीनमा गृहयुद्धका क्रममा चियाङ काई शेकका सैनिक माओ त्से तुङका कम्युनिस्ट सैनिकबाट कुटिएका थिए । चियाङ र उनको कुमिन्ताङ सरकार बाँकी रहेका अधिकारीहरू सन् १९४९ मा भागेर ताइवान पुगेका थिए । धेरै समयसम्म ताइवानमा यही समूहको दबदबा रहेको थियो । स्थानीय नागरिकले सरकार तानाशाही भएकोमा व्यापक विरोध गरेपछि चियाङका छोरा चियाङ चिङ कुओले प्रजातान्त्रीकरणको अभ्यास गरेका थिए ।
  • पछि राष्ट्रपति ली तेङ हुईले संवैधानिक परिवर्तन गर्दै प्रजातान्त्रिक राजनीतिक व्यवस्थातर्फ मुलुकलाई लगेका थिए । उनलाई ताइवानको ‘प्रजातन्त्रका पिता’ पनि भनिन्छ ।
  • ताइवानको आफ्नै संविधान रहेको छ । ताइवानमा प्रजातान्त्रिक तरिकाबाट नेताहरू चुनिन्छन् । ताइवानसँग झन्डै ३ लाख सक्रिय सैनिक रहेका छन् ।
  • ताइवानलाई थोरै मुलुकले मात्रै स्वतन्त्र देशका रूपमा मान्यता दिएका छन् । विश्वका धेरै मुलुकले चिनियाँ सरकारलाई नै मान्यता दिएका छन् । अमेरिका र ताइवानसँग आधिकारिक रूपमा सम्बन्ध स्थापित छैन । तर अमेरिकाले ताइवानले आफ्नो रक्षा गर्न पाउने विषयसँग सम्बन्धित कानुन भने बनाएको छ ।

प्रकाशित : श्रावण १७, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?