१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘आधा अस्ट्रेलियाली प्रविधि दुरुपयोगबाट हुने हिंसाको सिकार’

महिला तथा अल्पसंख्यक समूह बढी पीडित
पीडकमध्ये ४० प्रतिशत २५–३४ वर्ष उमेर समूहका
नारायण खड्का

अस्ट्रेलिया — प्रविधिको विस्तारमा आएको तीव्रताले सुविधा मात्र दिएको छैन, बढ्दो प्रयोगले विभिन्न समस्यासमेत सिर्जना गर्दै आएको छ । अस्ट्रेलियामा हालै सार्वजनिक एक बृहत् अध्ययनले प्रविधिको दुरुपयोग गरी हुने हिंसा बढ्दै गएको देखाएको छ । आधा अस्ट्रेलियाली नागरिक प्रविधिबाट हुने हिंसाको सिकार बनिरहेको उक्त अध्ययनमा दाबीसमेत गरिएको छ ।

‘आधा अस्ट्रेलियाली प्रविधि दुरुपयोगबाट हुने हिंसाको सिकार’

नेसनल रिसर्च अर्गनाइजेसन फर वुमेन्स सेफ्टी (एन्रोज) ले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा आधा अस्ट्रेलियाली नागरिकले प्रविधिको दुरुपयोगमार्फत गरिने कुनै न कुनै किसिमको हिंसा भोग्नुपरेको तथ्य उल्लेख छ । पुरुषले पुरुषलाई प्रविधिमार्फत गर्ने दुर्व्यवहारदेखि सामाजिक सञ्जालमा कसैलाई दुःख दिने र अपरिचित वा आफ्नै पूर्वसाथीलाई अनलाइन, एप्लिकेसनमार्फत निगरानी गर्ने गरिएको पाइएको पनि एन्रोजले जनाएको छ ।

करिब ४ हजार ६ सय अस्ट्रेलियाली वयस्क नागरिकमा गरिएको सर्वेक्षणबाट विशेषगरेर महिला तथा अल्पसंख्यक समूह बढी पीडित बनेको पाइएको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये पनि नजिककै व्यक्तिबाट धेरै जना हिंसामा पर्ने गरेको बताइएको छ । एन्रोजका अनुसार यस्तो हिंसामा पर्नेमा तीन चौथाइ समलिंगी, प्रत्येक तीन नागरिकमध्ये दुई जना आदिवासी र प्रत्येक पाँचमध्ये तीन जना अपाङ्गता भएका व्यक्ति छन् । प्रविधिको प्रयोग गरेर हिंसा गर्नेमध्ये ४० प्रतिशत २५–३४ वर्ष उमेर समूहका व्यक्ति छन् ।

प्रविधिको माध्यमबाट हुने हिंसा र यसले दीर्घकालसम्म पार्ने प्रभावका बारेमा विस्तृत अनुसन्धान नभइसकेको सन्दर्भमा यो अध्ययनलाई महत्त्वपूर्ण मानिएको छ । उक्त अनुसन्धानकार्यकी सहलेखक डा. एसर फ्लिनले पीडित तथा घटना भोगेका व्यक्तिहरू यसबाट पर्ने दीर्घकालीन क्षति र डरबाट चिन्तित रहेको समाचार संस्था एबीसीसँगको कुराकानीमा बताएकी छन् । एन्रोजकी प्रमुख कार्यकारी अधिकृत पद्मा रामनले प्रविधिको दुरुपयोग घरेलु तथा पारिवारिक हिंसा बढाउन सहयोगी बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छन् । अध्ययन प्रतिवेदनमा समेत सरकार तथा सम्बन्धित निकायले अझै शिक्षा तथा तालिममार्फत प्रविधिको दुरुपयोगबाट हुने हिंसा भोगेका पीडितलाई सहयोग गर्नुपर्ने सुझाव दिइएको छ ।

अस्ट्रेलियास्थित मोनास विश्वविद्यालयकी प्राध्यापकसमेत रहेकी फ्लिन र आरएमआईटी विश्वविद्यालयकी प्राध्यापक डा. एनेस्टेसिया पावेलले संयुक्त रूपमा २ वर्ष लगाएर यो अनुसन्धान गरेका हुन् । सन् २०२०–२२ सम्म गरिएको अध्ययनमा उनीहरूले १८ वर्षमाथिका ४ हजार ५ सय ८६ अस्ट्रेलियालीसँग कुराकानी गरेको बताएका छन् । अनुसन्धानका क्रममा पीडित, हिंसा भोगिसकेका तथा दोषीहरूसँग ३० वटा अन्तर्वार्ता गरेको उनीहरूको भनाइ छ ।

मोबाइल फोनमार्फत अपमानजक म्यासेज, इमेल र सामाजिक सञ्जालबाट सन्देश पठाउनु, कसैलाई लगातार नियन्त्रित गर्नर् ेतथा धम्की दिने प्रकृतिको कल गर्नु, कसैको अनुमतीबिना सन्देश हेर्नु, अंतरंग फोटो सार्वजनिक गर्नु, कसैलाई फोन चलाउन नदिनु वा नियन्त्रण गर्नु, निगरानी गर्न मिल्ने यन्त्रबाट अन्य व्यक्तिलाई पछ्याउनु, निगरानी गर्नु तथा जासुसी गर्नुलाई यस प्रकारको हिंसाका रूपमा लिने गरिएको छ । अस्ट्रेलियामा यसप्रकारका हिंसालाई कानुनी दायरामा ल्याउन तथा निगरानी गर्न सरकारले ईसेफ्टी कमिसन नै स्थापना गरेको छ ।

क्विन्सल्यान्ड विश्वविद्यालयबाट सूचना तथा सञ्चार विषयमा विद्यावारिधि गरेका डा. भरतराज पौडेल नेपालमा इन्टरनेट र प्रविधिबारे राम्रो जानकारी नभएका व्यक्तिलाई प्रयोग गरेर सामाजिक सन्जालमार्फत अपराध गर्ने, दुरुपयोग गर्ने र कानुनविहीनताको फाइदा उठाउनेलाई नियन्त्रण गर्न प्रभावकारी निकायको आवश्यकता भइसकेको सुनाउँछन् । ‘अस्ट्रेलियाजस्तो विकसित मुलुकमा त यो अवस्था छ भने नेपालको ग्रामीण भेगमा कुन किसिमको हिंसा हुन सक्छ, यसको अनुमान मात्र गर्न सकिन्छ,’ उनले प्रविधिबाट हुने हिंसासम्बन्धी सूचना, शिक्षा र अधिकारबारे जानकारी गराउन सरकारी निकाय अग्रसर हुनुपर्ने सुझाए ।

प्रकाशित : श्रावण १३, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?