अस्ट्रेलियासँग नेपालका दुई सम्झौता अलपत्र

नारायण खड्का

अस्ट्रेलिया — नेपालले अस्ट्रेलियासँग केही वर्षअघि गरेका दुई सम्झौताको कार्यान्वयन अन्योलमा छ । वर्षौंअघि अस्ट्रेलियासँग नेपालले गरेको सचिवस्तरीय परामर्श संयन्त्र र सिधा हवाई उडान गर्ने सम्झौता अझै कार्यान्वयन नभएको हो ।

अस्ट्रेलियासँग नेपालका दुई सम्झौता अलपत्र

अस्ट्रेलिया अधिकारीसँग सन् २०१७ तथा २०१९ मा अलग–अलग विषयका सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सन् २०१७ मा नेपालका तत्कालीन परराष्ट्र सचिव शंकर बैरागीसहितको टोली र अस्ट्रेलियाका कार्यवाहक विदेश सचिव ग्यारी क्युनलानको टोलीबीच द्विदेशीय परामर्श संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको थियो । उक्त सम्झौतामा दुई देशका सचिवस्तरमा दुई/दुई वर्षमा बैठक गरिने उल्लेख छ । सहमतिअनुसार एक वर्षपछि काठमाडौंमा पहिलो बैठक भएको थियो । त्यसयता ४ वर्ष बित्यो, अर्को बैठकको टुंगो छैन ।

त्यसैगरी, सन् २०१९ मा नेपाल–अस्ट्रेलिया उच्च अधिकारीबीच दुई देशबीच सिधा उडान गर्ने हवाई सम्झौता भएको थियो । क्यानडामा ४ वर्षअघि नै उक्त सहमति गरिएको भए पनि नेपाल सरकारले सिधा उडानका लागि ठोस पहल गर्न सकेको छैन । कोरोना संक्रमण बढेको समयमा आफ्ना नागरिक उद्धार गर्नका लागि नेपालले दुई पटकसम्म आफ्नै ध्वजावाहकमार्फत अस्ट्रेलिया उडान गरेको भए पनि सहमतिअनुसार अहिलेसम्म एउटा पनि सिधा उडान भएको छैन । क्यानबेरास्थित नेपाली दूतावासका उच्च अधिकारीहरू भने अस्ट्रेलियाका वायुसेवा कम्पनीले चासो नदिएका कारण सिधा उडानको सम्झौता कार्यान्वयन हुन नसकेको तर्क गर्छन् ।

काठमाडौंमा ४ वर्षअघि सम्पन्न सचिवस्तरीय परामर्श बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमण गर्ने, व्यापार तथा लगानीका क्षेत्र बढाउनेलगायत विषयमा छलफल भएको थियो । तर, द्विदेशीय भ्रमण मात्र होइन, नियमित हुने भनिएको छलफलसमेत भएको छैन । अस्ट्रेलिया सरकारको आर्थिक सल्लाहकारका रूपमा लामो समय काम गरिसकेका डा. कृष्ण हमाल यस किसिमका छलफल तथा बैठकका लागि साना मुलुकले नै पहल गर्नुपर्ने बताउँछन् । ‘यस्ता बैठक तथा छलफलले नेपालजस्तो मुलुकलाई प्रत्यक्ष फाइदा गर्ने भएकाले हामीले नै पहल गर्न सक्नुपर्छ,’ उनले भने । आफ्नो देशको हितको विषयमा पूर्वयोजनाका साथ छलफलमा बस्नुपर्ने उनले बताए । ‘तर अहिलेसम्म नेपालका तर्फबाट त्यो पहलकदमी देखिएको छैन,’ उनले भने ।

सरकारले पटक–पटक आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थअनुसार राजदूत फेरिरहने भएकाले पनि यस्ता द्विदेशीय संयन्त्रलाई असर पर्ने हमालको भनाइ छ । ‘कूटनीतिक नियोग प्रमुख नै अस्थिर भएपछि यसको असर यस्ता सम्झौता कार्यान्वयनमा पर्छ,’ उनले भने । तर क्यानबेरास्थित कार्यवाहक राजदूत कुलबहादुर मगर भने दूतावासका तर्फबाट छलफलका लागि निरन्तर प्रयास भइरहेको दाबी गर्छन् । छिटै द्विदेशीय परामर्श संयन्त्रको बैठक गर्ने तयारी भइरहेको उनले बताए ।

अस्ट्रेलिया–नेपाल सिधा उडान हुने सुनेर खुसी भएका विद्यार्थी, अभिभावक तथा अन्य नेपालीसमेत अहिले खिन्न छन् । सहमतिमा नेपालले हरेक साता ७ वटा विमानलाई सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थमा र अन्य स्थानमा आवश्यकताअनुसार उडान भर्न दिने उल्लेख छ । त्यसैगरी नेपाल सरकारले समेत अस्ट्रेलियाबाट साताको ७ वटा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, भैरहवा र पोखरामा २८ वटा उडान भर्न दिने सहमति भएको छ । तर हालसम्म त्यस्ता उडान भएका छैनन् ।

अस्ट्रेलियामा ट्राभल तथा टुरिजमको क्षेत्रमा काम गरिरहेका महेन्द्र लम्साल नेपालले चाहँदा सम्भव हुने दाबी गर्छन् । अस्ट्रेलियामा रहेका वायुसेवा कम्पनीलाई सेवा सुविधा र योजनासहित उडानका लागि नेपालले आग्रह गर्नुपर्ने उनको सुझाव छ । त्यस्तै, नेपालमा रहेका सरकारी र निजी विमान कम्पनीलाई उडानका लागि प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् । ‘नेपालको सरकारी वायुसेवा कम्पनीले उडान गर्न नसक्ला, तर निजी वायु सेवा कम्पनीलाई प्रोत्साहन गरिए त्यो सम्भव छ,’ उनी भन्छन्, ‘अस्ट्रेलियाको बजेट एयरलाइन्सलाई योजनासहित आग्रह गरिए सिधा उडान सम्भव छ ।’ सिधा उडान गर्न सके नेपाल जाने पर्यटकको संख्या बढ्ने उनी बताउँछन् ।

कार्यवाहक राजदूत मगरले भने दूतावासको तर्फबाट अस्ट्रेलिया सरकारसँग भएका एमओयूलाई कार्यान्वयन गर्न आफूहरू लागिपरेको बताए ।

प्रकाशित : श्रावण २, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?