१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१
श्रीलंका संकट

प्रधानमन्त्री कार्यालय पनि तोडफोड गर्दै प्रदर्शनकारी

एजेन्सी

काठमाडौँ — श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेर भागेको भोलिपल्ट प्रधानमन्त्री रनिल विक्रमासिंघेको पनि राजीनामा माग गर्दै प्रदर्शन भइरहेको छ । बुधबार बिहानैदेखि हजारौंको संख्यामा प्रदर्शनकारीहरू कोलम्बोस्थित सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन् ।

प्रधानमन्त्री कार्यालय पनि तोडफोड गर्दै प्रदर्शनकारी

अहिले प्रदर्शनकारीहरू प्रधानमन्त्री रनिल विक्रमासिंघेको सरकारी निवासमा प्रवेश गरेका छन् । यद्यपि यसअघि नै प्रधानमन्त्री विक्रमासिंघेले देशभर संकटकाल घोषणा गरिसकेका छन् । साथै उनी अन्यत्र सुरक्षित स्थानमा बसेको बताइएको छ ।

विक्रमासिंघेले कार्यवाहक राष्ट्रपतिको पद सम्हाल्दै संकटकाल घोषणा गरेका हुन् । संसदका सभामुखका अनुसार विक्रमासिंघेलाई राजापाक्षेले कार्यवाहक राष्ट्रपति नियुक्त गरिसकेका हुन् ।

श्रीलंकामा राष्ट्रपतिले पद छाडेपछि अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्रीले कार्यवाहकको जिसम्मेवारी सम्हाल्न पाउने संवैधानिक व्यवस्था छ । बुधबार भने विक्रमासिंघेले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेको केही घण्टामै ठूलो संख्यामा प्रदर्शनकारीहरू कोलम्बोस्थित विक्रमासिंघेको निवास घेराउ गर्न पुगेका हुन् ।

यसअघि पनि प्रदर्शनकारीहरूले प्रधानमन्त्री विक्रमासिंघेको पुरानो घर घेराउ गर्न पुगेका थिए । बुधबार भने उनीहरूले प्रधानमन्त्री कार्यालयमा पुगेर तोडफोड गर्न थालेका छन् । हजारौं प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेपछि आन्दोलित भीड कोलम्बोस्थित प्रधानमन्त्री कार्यालयमा पुगेको हो । यद्यपि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपका समाचार भने आएको छैन ।

प्रकाशित : असार २९, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?